काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबीका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबीसँग सम्झौता गरेको हो ।
कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताउनुभयो ।
अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तरोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभएको छ । त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने उहाँले जानकारी गराउनुभयो ।
अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एडिबिले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ ।