काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् । तर मानव विकास सूचकांकमा नेपालको अवस्था र १३ औं सागमा नेपालले ऐतिहासिक सफलता हात पार्दै पदक तालिकामा भारतपछि दोस्रो स्थान हासिल गरेको विषयलाई सबैजसो पत्रिकाले मुख्य समाचारका रुपमा प्रकाशन गरेका छन् ।
मंगलबार जनता समाचार डट कम मा प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, ‘जनता टेलिभिजन जनताका सारथीलाई साथ दिन तयार छ’ (भिडियोसहित), दक्षिण एसियाली खेलकुद (साग) को भव्य समापन, एडिबी र सरकारबीच ४ परियोजनामा सम्झौता, मानव अधिकार संगठनको एक घण्टे विरोध प्रदर्शन र सिमेन्ट कारखानाबाट निकालिएकी महिलाद्वारा आत्महत्यालगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
नयाँ पत्रिका ले ‘त्रिविका नक्कली परीक्षकले लगे २१ लाख’ शीर्षकमा शीर्ष समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार नक्कली परीक्षकका नाममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २१ लाख १७ हजार भुक्तानी भएको खुलेकाे छ । २०७५ असोजदेखि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको खुलेको हो ।
पत्रिकामा परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताउनुभएको समेत उल्लेख छ । नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको जोशीको भनाई छ । यसैगरी नयाँ पत्रिकाले ‘आयोजना अस्तव्यस्त खेलाडीको प्रदर्शन उत्कृष्ट’ र बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्धा चलाउने अख्तियारको तयारी शीर्षकमा समेत प्रमुख समाचार बनाएको छ ।
कान्तिपुर दैनिकले संसद्को हिउँदे अधिवेशन आह्वानसँगै नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार सभामुखको मुख्य दाबेदारका रूपमा पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटा देखिएका छन् ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । यही कारण उपसभामुखलाई राजीनामा गराउन लागिएको हो । त्यस्तै कान्तिपुरले ‘नेपाललाई ५१ स्वर्ण’ शीर्षकमा १३ औं साग खेलकुदमा नेपालले हासिल गरेको उपलब्धिबारे समेत विश्लेषणात्मक समाचार बनाएको छ ।