काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” (बुधबार) विभिन्न कार्यक्रका गरी सम्पन्न भएको छ । अभियानको सुरुवातबाटै महानगरीय प्रहरी परिसर ललितपुर, आफन्त नेपाल, छोरी, हायर ग्राउण्ड नेपाल, परिवर्तनको लागि सहकार्य नेपालको संयुक्त आयोजनामा अभियानको समापन विविध कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।
अभियानको समापन समारोहका क्रममा विभिन्न स्थानीय तह तथा समुदायस्तरमा अन्तक्रिया, छलफल, सचेतनामुलक लिफ्लेट प्रकाशन तथा वितरण, समाजिक संजाल मार्फत सचेतनामुलक जानकारी र आत्मरक्षा सम्बन्धी तालिमजस्ता कार्यक्रमहरु सम्पन्न गरिएका जानकारीसहित दिप प्रज्वलन तथा सडक नाटक प्रदर्शन गरिएको छ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापन समारोहमा प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दुर्गा सिंहले समाजमा महिला पुरुष दुवैका हिंसा भए पनि महिला नै यसको शिकार बन्नुपरेको अवस्थामा यस बारेमा पुरुषको भुमिका के र कस्तो रहेको छ भन्ने बारेमा समाजलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक सिंहले पाठ्यक्रममा समेत लैङ्गिक समानताका विषयवस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्दै नेपाल प्रहरी यो अभियानमा सदैब प्रतिवद्ध रहेको र अरुपनि प्रतिवद्ध रहनुपर्नेमा जोड दिनुभयो ।
समापन कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी लैङ्गिक हिंसा निवारण शाखा उपसचिव रोशनी देवी कार्कीले लैङ्गिक हिंसा एक ठाउँमा कुनै व्यक्ति विशेषमा मात्र नभई शारीरिक तथा मानसिक दुवै किसिमले हुने र बढी प्रभाव महिला तथा बालबालिकामा पर्ने गरेको भन्दै सरकारका ३ वटै तहमा यस सम्वन्धी विभिन्न कार्यक्रम गर्दै यो अभियान मनाएको उल्लेख गर्नुभयो । उहाँले गत वर्षदेखि मन्त्रालयले २५ नोभेम्बरलाई लैङ्गिक हिंसा विरुद्दको दिवसको रुपमा मनाउने कामको थालनी गरेको र जिम्मेवार पुरुषको भुमिका सम्वन्धी निर्देशिका समेत तयार पारिएको प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु’ भन्ने प्रतिवद्धता सहितको ब्याननरमा हस्ताक्षर गर्दै समाजमा जानेर वा व्यक्तिले अन्जानमै घट्ने यस्ता हिंसाहरुले नकारात्मक प्रभाव पारेको र घरबाट नै यसको सुरुवात हुने भएकोले सबै मिलेर यस्ता घटनाको न्यूनिकरण गर्नमा सचेतनामुलक कार्यक्रमका साथ अघि बढ्नसमेत आग्रह गरिएको थियो ।
आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराइले समाजमा दिन प्रतिदिन लैङ्गिक हिंसाका घटनाहरु बढ्दै गइरहेको बताउनुहुँदै यस्ता घटना न्यूनिकरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र हत्या, हिंसा, बलात्कार, बहुबिबाह, अंगभंग, एसिड आक्रमण तथा छुवाछुत जस्ता घटना न्यूनिकरणमा सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
अभियान समापनका क्रममा प्रस्तुत गरिएको सचेतनामुलक नाटकमा लैङ्गिक हिंसा, त्यसका असर तथा प्रभाव र समाजमा यसको अवस्थालाई मुख्य विषयवस्तु बनाइएको थियो ।
ललितपुरस्थित जावलाखेल डवलीमा बुधबार आयोजित अभियान समापन समारोहमा परिवर्तनका लागि सहकार्य नेपालका निर्देशक इन्दिरा घले, ललितपुर महानगरपालिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था महासंघ, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी साथै पत्रकारको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन अभियान्ता उमा मगरले गर्नुभएको थियो।