प्रधानमन्त्रीले भतिजो दुर्घटना परेको सम्झिँदा…

काठमाडौं । ‘हिजो म निक्कै तनावमा रहेँ । खाना मन लागेन । न निद्रा नै पर्‍यो । दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर दिमाग बारबार आइरहे । समाचार पढेँ । एउटा दुधेबालक टुहुरो भएछ । घटनाले झन् घायल बनायो । यस्ता घटना बारबार किन हुन्छ ? यसलाई रोक्ने उपाय छैन ?’ प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ स्वाँरास्थित ६ किलोमा आइतबार भएको बस दुर्घटना स्मरण गरिरहँदा बैठक कक्ष एकाएक भावुक बन्यो ।

सार्वजनिक यातायातका साधन दुर्घटनाका दर तीव्र ढंगले बढ्न थालेपछि प्रधानमन्त्री ओलीले कारण बुझ्न बोलाएपछि सोमबार गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित सरोकारवाला सबै टोली बालुवाटारस्थित प्रधानमन्त्रीनिवास पुगेका थिए  ।

दुर्घटनाका कारण र तथा न्यूनीकरणका उपाय प्रधानमन्त्रीसमक्ष राख्न गृहसचिव प्रेमबहादुर राई तयारी गर्दै थिए । उनलाई प्रधानमन्त्री ओलीले बीचैमा रोक्दै पुनः स्वाँराको दुर्घटना सम्झिए ।

उनले भने, ‘स्वाँरा दुर्घटनामा टुहुरा भएको एउटा बालक रुँदै गरेको समाचारमा देखेँ । यसले साह्रै मन पोल्यो । यस्ता दुर्घटना प्रत्येक दिनजसो भएका छन् । यसैगरी, कति बालक टुहुरा भए होलान् । कति बूढाबूढीले सहारा गुमाए होलान् । यसलाई रोक्न सकिएन भने जति प्रगति गरे पनि केही काम लाग्दैन ।’ बैठक अझ भावुक बन्यो । तर, प्रतिक्रिया कसैले जनाएनन् ।

माहोल सम्हाल्दै प्रधानमन्त्री ओलीले यही क्रममा भतिजो दुर्घटनामा परेको विगत सम्झिए । झापाका उनी मलेखुमा माछा खान हिँडेका रहेछन् । गाडी आफैँले हाँकेका । त्यसवेला मापसे जाँच थिएन । मदिरा सेवनपछि गाडी हाँकेका उनी एकाएक बेसुरा भएछन् । मलेखुमा रोकिनुपर्ने कुरिनटार पुगेछन् ।

सम्हाल्नै गाह्रो भएपछि उनले गाडीलाई सडक छेउको बारमा जोताएछन् । सोही बारका कारण उनी बाँचेछन् । दुर्घटनाबाट भतिज बाँचेको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले सहभागीलाई निर्देशनात्मक शैलीमा भने, ‘सडकका छेउमा अब बार लगाउनुस् । दुर्घटना भए पनि कमसेकम मान्छे त मर्दैन । सडक बनाउने स्वीकृति दिँदा अब डबल लेनको मात्रै होस् ताकि यस्ता बार बनाउन सजिलो बनोस् ।’ बैठकमा प्रधानमन्त्री ओली हवाईजहाज दुर्घटना हुँदा तुरुन्तै अध्ययन समिति गठन हुने, तर सार्वजनिक सवारीसाधन दुर्घटना समिति गठन नहुने परिपाटीतर्फ प्रवेश गरे ।

उनले भने, ‘जहाज दुर्घटना हुन्छ । तुरुन्तै अध्ययन हुन्छ । कारण पत्ता लाग्छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिन सचेतना अपनाइन्छ । तर, हामीकहाँ सार्वजनिक बस दुर्घटना हुँदा अध्ययन गर्ने परिपाटी नै छैन । यो गलत हो । यसअघि भएका र अब हुने सबै दुर्घटनामाथि तुरुन्तै अध्ययन गर्नुहोस् । यसका कारण खोज्नुहोस् । र, तुरुन्तै न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुहोस् ।’ नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…

काठमाडौं । महाशिवरात्रिसँगै मौसम बिग्रिएको छ । महाशिवरात्रिमा काठमाडौं उपत्यकामा प्राय पानी पर्छ भन्ने मान्यता छ । उपत्यकामा शनिबार बिहानैदेखि…

मेष- कृषि चौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने…