काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट पर्याप्त लगानी हुन नसकेको बताउनुभएको छ । नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । संगीत मानवजाती र प्राणिजातीका लागिसमेत अभिन्न अंग बनेको बताउँदै उहाँले मानिसका दुख, सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिने धारणा व्यक्त गर्नुभयो ।
समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा. समर बहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो ।
त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योञ्जन, मोहनकृष्ण ढली र सिके रसाइलि रहेका छन् । त्यस्तै भारती उपाध्याय, तिर्थ कुमारी थापा, शम्भु राई र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित भएका हुन् ।
त्यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई प्रदान गरिएको छ । ११ हजार १११ राशीको यो पुरस्कार प्रमोद ढुंगाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो । नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबाट मनराजा नकर्मी, भुपेन्द्र खड्का, टिका प्रसाईँ र प्रल्हाद तिमिल्सिना सम्मानित भएका छन्।