जनताकर्मी आचार्य पुरस्कृत

दाङ । जनताकर्मी गणेश आचार्य पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना दिवसमा आयोजित कार्यक्रममा जनताकर्मी आचार्य अकिल–टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
२७औँ वर्षमा प्रवेश गरेको नेपाल पत्रकार महासंघको दाङ शाखाले आफ्नो स्थापनाको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेको छ । पुस १ गते रक्तदान गरेको महासंघले २ गते तुलसीपुरमा पत्रकारको आँखा जाँच शिविर गरेको थियो । ३ गते लमहीमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।
स्थापना दिवसको अवसरमा शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्दै विभिन्न पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीनवटा सञ्चार माध्यम र दुईजना अक्ष्यकोष दातालाई पुरस्कार र सम्मान वितरण गरिएको छ ।