हाेमस्टेले फेर्दैछ थारु महिलाको जीवन

धनु भुसाल
नवलपुर । कावासोती नगरपालिका १५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा कम्प्युटरमा बचतको डाटा राख्न व्यस्त थिइन धनमायाँ महत्तो । बिहान १० देखि साझको ४ बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त हुने धनमायाँ, बाघखोरका महिलाको नेतृत्व गर्छिन् । अमलटारी मध्यवर्ती सामुदायीक होमस्टेमा ३१ घर सञ्चालनमा छन्, जसमध्येको ६ नम्बर होमस्टे उनको हो । साँझ
र बिहानको समयमा पाहुँनालाई खाना खुवाउन र स्वागतमा व्यस्त हुने उनलाई  श्रीमानले सहयोग गर्छन् ।

१० वर्षअघि नवलपुरकै वेल्डिहाबाट विवाह गरेर बाघखोरमा आएकी धनमायाँलाई पहिला त्यस गाउँमा बस्नै मन लाग्दैन्थ्यो । ४ वर्ष मलेसिया बसेर नेपाल फर्किएका बेला धनमायाँसँग विवाह बन्धनमा वाँधिएका श्रीमानले विवाहको एक महिनामा उनलाई घरमै छोडेर धन कमाउन परदेश लागे । नयाँ ठाउँ, नयाँ परिवेशमा उनलाई दिनहरु बिताउन निकै कठिन हुने भयाे । ठूलो परिवारमा हुर्किएकी छोरी भएपनि कहिल्यै मेलापात नहिँडेकी धनमायाँलाई खेतवारीमा काम गर्नको लागि बानी पार्न निकै समय लाग्यो । १० वर्ष अघिका ती दिन सम्झँदा उनलाई दुःख नी गरेको रहेछु, सायद दुःख पछिको सुख भनेको यहि होला भन्ने महशुस हुन्छ ।

बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म एक घण्टाको २५ रुपौयाँको दरमा मेलामा हिडेका दिनले उनलाई झस्काइरहन्छ अहिले । घरमा जेठी बुहारी भएको र देवरहरु पढदै गरेको हुँदा घरखर्च जुटाउन निकै कठिन थिए । ‘दुःखकाे धेरै कुरा सिकाउने रहेछ , विदेश जानुभएका श्रीमान दुई वर्षमा घरफर्केपछि यहि केही गर्नुपर्छ भन्दै ढाड्स दिन लागे । छिमेकी लघुवित्तबाट ऋण लिएर बजारमा कपडा बेच्नको लागि श्रीमानलाई आत्मबल बढाउँदै गए । कपडालाई हावाहुरी र पानीले असर गर्छ भनेर वर्षामा निन्द्रै लाग्दैनथ्यो’ उनी भन्छिन् ।

बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो । अगाडि भएको कम्प्युटरमा टाइप गर्दै धनमायाँले थपिन्- ‘मेला जानु र जंगल गएर दाउरा ल्याएर बेच्नु बाहेक अरू विकल्प केही थिएन ।’ स्नातक पास गरेर विवाह गरेपनि मेला नगई हुुँदैन्थ्यो, गाउँको परिवेश त्यस्तै जताततै फोहोर, बाटो राम्रो थिएन । जब होमस्टेको शुरुवात गरिएपछि सबैतिर विस्तारै विकास भयो । २०७० सालदेखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उनको जीवनले फड्को मार्यो । धनमायाँं भन्छिन्–‘अहिले घरमा पेयपदार्थको डिलर राखेकी छु श्रीमानले पसल हेर्नुहुन्छ, म दिनभर सहकारीमा व्यस्त हुन्छु । जब होमस्टेमा पाहुना आउँछन् बिहान र साँझको समयमा परिवार मिलेर काम गर्छौ ।’  गाउँमा भएका किराना पसलदेखि त्यहाँ भएको ३१ वटा होमस्टेमा पर्यटकलाई आवश्यक पेयपदार्थ (जुस) उनको डिलरबाट नै विक्री हुनेगर्छ । होमस्टे र सहकारीबाट मात्रै मासिक ६० हजार कमाई हुन्छ ।

होमस्टे सञ्चालन गरेपछि आर्थिक विकासमा परिवर्तन आएको बताउदै उनले भनिन् ‘अहिले यसै होमस्टेको आधारमा कान्छो देवरलाई पढ्न अस्टे«लिया पढाउन सफल भयौ ।’ कान्छो देवरलाई पढ्न पठाएपछि, माहिला देवरलाई नेपाल फर्काउनु उनको अर्को
योजना छ । रोजगारीको सिलसिलामा विदेशिएका उनी अहिले दुबईमा छन् । भाउजुले नेपाल आउनु भन्ने खबर पठाएपछि, घर फर्कने सुरसारमा छन् उनी । ब्यवसायको मात्र होइन, सासु ससुराको स्याहार सुसारको जिम्मा पनि उनकै छ । धनमयां महत्तो एक उदाहरण पात्र मात्रै हुन । यस गाउँमा भएको ३१ घर होमस्टेका सबै महिलाको व्यत्तित्वमा विकास भएको स्वयम महिला नै बताउँछन । गाउँमा होमस्टेमा महिलाहरु आवद्ध भएछि परदेशमा भएका पुरुष घर फर्किएका छन । थारु समुदायको बाक्लो बस्ती रहेको नवलपुरको कावासोती–१५ का थारु महिला कोहि हामस्टेमा त कोहि होटल व्यवसायमा आवद्ध छन । आफ्नो सस्कृति र भेषभुषाको संरक्षण गर्दा, पर्यटन विकास संगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिला मिलेर थारु सास्कृतिक अतिथि गृह संचालन गरेका छन । १० वर्षदेखि साहारा महिला बचत समुहमा मासिक एक सय रुपौयाँको बचत गर्दै आएका २९ महिला मिलेर २०७५ बैशाख २९ गते थारु सास्कृतिक अतिथि गृह संचालनमा ल्याएका हुन । कावासोती नगरपालिकाले वडा नम्बर १५ र १७ लाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउदैछ भन्ने थाहा पाएर नै व्यवसाय तर्फ लागेको व्यवस्थापक विनु महत्तोले बताइन । सधै कति दाउरा घास मात्रै गर्ने हो, आफू बस्ने ठाउन्लाई पर्यटकीय क्षेत्र बनाउने कुरा भएको समयमा हामीले केहि गर्न सकेनौ भने कहिल्यै गर्न सकिदैन भन्ने सोचको विकासले नै अगाडि बढेको व्यवस्थापक महत्तोले बताइन ।

साहारा महिला बचत समूहमा आवद्ध २९ महिला मध्ये २६ जनाको दुई लाखका दरले र ३ जनाको एक लाखका दरले गरी जम्मा ५५ लाखको लगानीमा अतिथि गृह सञ्चालनमा ल्याएका हुन् । विनु यसको लगानीकर्ता हुन भने कर्मचारीको रुपमा व्यवस्थापक भएर पनि काम गर्दै आएकी छन् । दुई विगाहा जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको थारु संस्कृतिक अतिथि गृहमा थारु समुदायको परम्परागत संस्कृति झल्कने ५ आवासीय घर र सांस्कृतिक भवन छ । महिला समूहमा बसेर वनजंगलको संरक्षण गर्दै गर्दा अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले आज आफूहरु व्यवसायी हुन पुगेको त्यहाँ आवद्ध महिला बताउँछन । व्यवस्थापक विनु भन्छिन ‘पहिले गृहिणी थिए कसैले वास्ता गर्दैनथे
अहिले सबैजनाले कार्यक्रमहरुमा बोलाउनुहुन्छ, आफूमा पनि जिम्मेवारी बढेपछि काम गर्ने शैलीमा परिवर्तन आएको छ ।’

१७ वर्षको उमेरमा विवाह गरेकी उनलाई कहिल्यै जागिर गर्न सक्छु भन्ने लागेन । ९ कक्षामा पढ्दै गर्दा विवाह गरेनी विनुले पढाइलाई भने निरन्तरता दिइन् । परिवारमा श्रीमानको राम्रो सहयोग मिलेपछि घरमै बसेर अध्ययनलाई अघि बढाइन् । काखमा भएको सानो छोरालाई श्रीमानले हेरेर उनलाई पढ्नको लागि प्रेरित गरे । बुवा आमा विरामी भएका कारण घरमै पढेर पनि स्नातकसम्म अध्ययन गरिन् । घरधन्दा भन्दा बाहिर खासै खुलेर नहिँडेकी विनु अहिले थारु सांस्कृतिक अतिथि गृह समूहको सचिव हुन भने त्यहाँको व्यवस्थापकको रुपमा कर्मचारी भएर पनि काम गर्दै आएकी छिन् । पढेको भएपनि जानेका कुराहरु व्यक्त गर्न डराउने विनु अहिले विभिन्न संघसस्थाहरुसँग डिल गर्न सक्ने भएकी छन ।

पहिले आफू गृहिणी मात्रै भएर बस्दाका दिनहरु सम्झँदै विनु भन्छिन, “पहिले घरको काम मात्रै काम जस्तो हुने थियो तर अहिले जिम्मेवारी पाएपछि सोहि अनुसार आफूमा नेतृत्व र व्यक्तित्वमा विकास भएको महशुस भएको छ ।” अतिथि गृहमा प्रत्यक्ष रुपमा ७ जनाले रोजगारी पाएका छन् । जसमध्येकी एक हुन ३० वर्षिय सुष्मा महत्तो । विहानको ४ बजेदेखि हरेक दिनको शुरुवात गर्ने सुष्मा साँझसम्म पाहुनाको स्वागत र भान्सा व्यवस्थापनमा व्यस्त हुने गर्छिन । सुष्मा भन्छिन, “पहिले खेतबारी र धरधन्दामा मात्रै सिमित थिएँ, केही किन्नु परे श्रीमानसँग माग्नु पर्थ्यो अहिले तलव पाउदा सासुलाई घरखर्च दिन सक्ने भएकी छु यसैमा खुसी मिलेको छ । ”

आर्थिक अवस्था कमजोर भएका कारण मन भएर पनि ५ कक्षा भन्दा धेरै अध्ययन गर्न नपाएकी सुष्माले १६ वर्षमै विवाह गरिन् । पढ्ने, नयाँ कुरा सिक्ने उमेरमा नै घरधन्दामा रुमलिएकी सुष्मा हाँस्दै भन्छिन “केहि गर्ने इच्छा भयो भने गर्न नसकिने केही रहेनछ । पहिले त आफूलाई यसरी गाउँमै बसेर पैसा कमाउन सकिन्छ र भन्ने लाग्दैनथ्याे, कसैसँग बोल्न पर्दा डर मात्रै लाग्थ्यो, तर परेपछि गर्न सकिने रहेछ ।”

पहिले मासिक एक सय रुपैयाँ बचत गर्न परिवारसँग माग्नुपर्ने दिनहरु स्मरण गर्दै सुष्मा भन्छिन, “ समूहमा आवद्ध सबै मिलेर थारु सांस्कृतिक अतिथि गृह सञ्चालन गर्ने भनेपछि मैले नि यँहा“ दुई लाख २० हजार लगानी गरेकी छु भने कर्मचारी भएर काम गरेवापत मासिक ९ हजार तलब लिन्छु । ” करिब ७ वर्ष विदेश बसेका श्रीमान अहिले दुई वर्षदेखि फर्निचर पसलमा सामानहरुमा पेन्टिङ काम गर्छन् । श्रीमान र आफ्नो तलबले जिन्दगी अघि बढाउन सहज भएको उनको अनुभव छ । आत्मनिर्भर हुन विभिन्न व्यवसायतिर हातहाले पनि सोचेअनुरुप फाइदा नभएपनि आफ्नै मिहेनतमा भने खुसी छिन सुष्मा । सुष्मा र विनुको जस्तै समूहमा आवद्ध महिलाहरुको अहिले सामाजिक, आर्थिक विकास भएको पाइन्छ । घरको सबै काम सकेर पनि यता सांस्कृतिक गृहको जिम्मेवारी सजिलै पूरा गर्ने महिलाहरु नै छन् । भन्सामा सहयोगका लागि एक जना पुरुष कर्मचारी मात्रै छन् भने अन्य ६ जना महिलाहरु छन् । आवश्यक खाद्यन्न त्यहिँ उत्पादन गर्ने हुँदा, पाहुनाहरु नआएको अवस्थामा करेसावारीमा काम गर्ने गर्दछन् । आफूहरुले उत्पादन गरेको पर्यटकलाई खुवाउन नपुगेको अवस्थामा छिमेकबाट वा महिलाहरुद्वारा सञ्चालिन फर्मबाट तरकारी, हाँस, कुखुरा, खसी खरिद गरी ल्याउने गर्दछन् । यसबाट स्थानीयको आम्दानी पनि बढेको छ ।फुर्सद हुँदा त अझै गाउँमा लाग्ने हाट बजारमा खाजा नास्ता बनाएर बेच्ने पनि गर्दछन् । गृहपरिसरमा थारु संस्कृति झल्कने माटोको जाँतो, चुल्हो, डेहरी लगाएतका भाँडाकुँडाहरुले सजाइएको छ । यँहा आउने पाहुनाका लागि थारु संस्कृति झल्कने नृत्य (लाठी नाच, झम्टा नाच) पनि प्रस्तुत गरिन्छ । त्यस्तै थारु समुदायका खानाका विभिन्न परिकार निमार्ण, जीप सफारी, जंगल सफारी, र थारु संग्रालयको अवलोकन समेत गराउने व्यवस्था मिलाएका छन ।

जिल्लामा होमस्टे(घरबासको) अवस्था
जिल्लामा पहिलो पटक २०७० सालमा अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे कावासोती नगरपालिका १५ मा संचालनमा ल्याइएको थियो । पहिले नारायणी नदीको माछा मारेर जिविको चलाउने बोटे र कृषिमा मात्रै निर्भर हुने थारु समुदायको अहिले आम्दानीको स्रोत नै होमस्टेमा आउने पर्यटक भएका छन् । मानव र वन्यजन्तुको द्धन्द बढिरहेको अवस्थामा त्यँहा बसोवास गर्ने स्थानियले गुन्द्रही ढकाहा सामुदायिक वनको संरक्षण गर्दै गए । खुल्ला चरण, दाउराघाँस चोरी गरेर जिविको चलाउने समुदाय संरक्षणमा जुट्दा अन्य क्षेत्रको मानिसहरुले होटलहरु सञ्चालनमा ल्याई पर्यटकहलाई वन्यजन्तु देखाएर आम्दानी गर्ने बाटोतर्फ लागे । यसले गर्दा त्यहाँका थारु, बोटे समुदाय बसाइँ सराई गरेर अन्यत्र जाने क्रम शुरु भएको थियो । सोहि समयमा विपन्न समुदायले कम लगानीमा वन र वन्यजन्तुको संरक्षण गर्दै तिनै प्राकृतिक स्रोत साधनको प्रयोग गरी आम्दानी गर्ने सजिलो माध्यम भनेर होमस्टे सञ्चालनमा ल्याएको कावासोती नगरपालिका उपप्रमुख एवं अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंखर मर्दनियाले बताउनुभयाे । हामेस्टे सञ्चालनको अवधारणालाई लागु गर्न प्रत्येक घरका व्यक्तिलाई बुझाउन हिँडेका दिनहरु सम्झँदै अध्यक्ष मर्दनियाले भन्नुभयाे “समुदायलाई बुझाउनै कठिन थियो, कति पटक त साँच्चै नै व्यवसायिक नहुने त होइन भन्नेमा म आँफै चिन्तित थिए । तर निरन्तरको प्रयासले परिवर्तन हुन्छ भने जस्तै हामी सफल भयौ । ”

होमस्टेले फेरिएको गाउँ र मानिसहरुको जिवन शैली देखेर अहिले आनन्दित हुन्छन उनी । अझै धेरै त महिला दिदिबहिनिमा आएको परिवर्तनले खुसी मिल्छ उनलाई । पहिले जिवन जिउने कला कृषिमा मात्रै केन्द्रित थियो, अहिले होमस्टेबाट ३१ घर परिवार, १२ जना महिलाहरु हस्तकलाका सामान बुनेर र ४ जनाले गैडा र हात्तीको मुर्ति कुँदेर प्रत्यक्ष आम्दानी गर्छन् । एक होमस्टेले मासिक रुपमा ३५ हजार आम्दानी गर्ने बताउँदै अध्यक्ष मर्दनियाले भन्नुभयाे, “हामीले सहकारीमा जम्मा गरेर मासिक वितरण गर्छौँ यसमा एक परिवारको ३५ हजार हुन्छ यताउती उहाँहरुले पाउने टिप्स गर्ने हो भने त ५० हजार जति कमाउनुहुन्छ ।” अमलटारी होमस्टे धेरैको लागि सिकाई केन्द्र बन्दै गएको छ । व्यवसाय गर्न मात्रै होइन आफ्नो संस्कृति संरक्षणमा पनि अन्य क्षेत्रका महिलाहरु आएर अवलोकन गर्ने त्यहाँका महिलाहरु अन्यत्र गएर सिकाउने पनि गर्दै आएका छन् । थारु समुदायको कुनै चाड वा पर्व विशेषमा मात्रै गाइने लोप हुने संघारमा रहेका गीतहरु हमेस्टेमा आउने पाहुनालाई स्वागतमा र सांस्कृतिक कार्यक्रममा दैनिक जसो प्रस्तुत हुन थालेपछि नयाँ पुस्ताले पनि गुनगुनाउन थालेका छन् । मर्दनियाका अनुसार पहिले त्यहि गीत सुन्न एक वर्ष कुर्न पर्थ्याे । अहिले साना–साना बालवालिकाले देखेर/सुनेर गाउन एवं आफ्नो भेषभुषा लगाउन थालेका छन् । पर्यटन बिना विकास सम्भव नहुँदा नगरपालिकाले पनि होम्सटेलाई प्राथमिकतामा राखेको मर्दनियाको भनाई छ । अहिले नगरपालिकाको वडा नम्बर १०, १५ र १७ सञ्चालित होमस्टेमा नगरपालिकाबाट बाजा, ड्रेस, प्रदान गर्नुका साथै सांस्कृतिक भवन र अखेटो म्युजियमलाई पनि सहयोग गरेको मर्दनियाले बताउनुभयाे । उहाँले भन्नुभयाे, “होमस्टे सञ्चालन गर्न चाहनेलाई नगरपालिमा सहयोग गर्न तयार छ । होमस्टेलाई विकास र विस्तारसँगै पर्यटनलाई व्यवस्थित बनाउन पर्यटन सुचना केन्द्रको स्थापना गरिएको छ । अब आवश्यक कार्यविधी बनाएर छिट्टै सञ्चालनमा ल्याउनेछौँ । ”

अहिलेसम्म अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ६५ हजार भन्दाबढि पर्यटकले अवलोकन गरेका छन । जसबाट सवा ५ करोड भन्दाबढि आम्दानी भएको व्यवस्थापक धनीराम गुरौले बताउनुभयाे । प्रकृति र संस्कृतिको प्रतिफल पर्यटनका लागि कम लगानीमा सञ्चालन गर्न सकिने होमस्टे नवलपुर जिल्लामा दर्ता भएर सञ्चालनमा आएका मात्रै ८ वटा छन् । बगवन लाफा सामुदायिक होमस्टे, कुमाल सामुदायिक होमस्टे मध्यविन्दु नगरपालिका, बरौेली चिसापानी होमस्टे कावासोती नगरपालिका १५, अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे कावासोती १५, चिलाह रतौल कावासोती १०, पिप्रहर सामुदायिक होमस्टे ग्राम देवचुली नगरपालिका, ल्यापे गुरुङ सामुदायिक होमस्टे बौदीकाली गाउँपालिका र दराई सामुदायिक होमस्टे डेडगाउँमा रहेको छ । यसरी होमस्टे सञ्चालनमा आएपछि थारु र बोटे, कुमाल, गुरुङ र दराई समुदायको सामाजिक, आर्थिक र व्यक्तिगत विकासमा टेवा पुर्याएको भेटिन्छ ।

होमस्टे सञ्चालनको शुरुवाती दिन सम्झँदै अमलटारी होमस्टे व्यवस्थापक धनिराम गुरौ भन्नुहुन्छ, “सामाजिक र व्यक्तित्व विकासको मेरुदण्ड होमस्टे भएको छ । पहिले दिदिहरुले विदेशी पर्यटकसँग कुरा गर्न नजान्दा खाना खाने समयमा प्रत्येक होमस्टेमा म पुग्नै पर्ने अवस्था थियो ।” ३ महिनाको अंग्रेजी भाषा बोल्ने तालिम दिएसँगै स्वदेशी विदेशी सबै पर्यटकलाई स्वागत सत्कार गर्न सक्ने हुनुभयो । ”हाँस्दै गुरौ ले थप्नुभयाे,  “बल्ल मलाई अलि सहज भयो नभए त विदेशी पाहुना आएको वेला सबै ठाउँमा एक्लै पुग्न निकै कठिन भएको थियो ।”१८ वडाबाट शुरुवात गरेको अमलटारी होमस्टेमा अहिले ३१ वटा होमस्टे घर सञ्चालनमा आएका छन् जसमा १० वटा बोटे समुदायको होमस्टे रहेको छ । यहाँ २ सय १२ घरधुरी रहेको छ भने आगामी दिनमा होमस्टेलाई बढाउँदै लैजाने योजना रहेको व्यवस्थापक गुरौले बताउनुभयाे । ७ वर्ष पहिले गाउँमा दुई वटा मात्रै पसल थिए तर अहिले साना ठुला गरेर ४३ वटा व्यवसाय सञ्चालनमा छन् । जसबाट प्रत्यक्ष रुपमा महिलाहरुले लाभ लिएको पाइन्छ । जब अमलटारी पर्यटकको गन्तव्य बन्दै गयो गाउँमा नै किराना पसलदेखि लिएर व्युटिपार्लर, रेष्टुरेन्ट लगायत महिलाहरुले घरमै अचारसमेत बनाएर बेच्न थालेका छन् । प्रत्येक घरका मनिस कुनै न कुनै काममा व्यस्त हुन थालेका छन् । व्यक्तिको विकास नभए सम्म समुदायिक विकास नदेखिने भन्दै होमस्टेबाट आएको आम्दानीको १० प्रतिशतमध्ये सामाजिक, शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।

थारु समुदायको अवस्था पहिले र अहिले
नवलपुर जिल्लामा थारु समुदायको बसोबास करिब साढे दुई सय वर्ष पहिलेदेखि भएको अनुमान गरिन्छ । बसोवासका विषयमा यकिन तथ्याङ्क नभए पनि पहिले पानीको निकै समस्याका कारण नदी आसपासको क्षेत्रमा करिब दुई सय वर्ष पहिलेदेखि नै बसोवास गर्दै आएको थारु कल्याणकारी सभाका निवर्तमान अध्यक्ष गणेशमान महत्तोले बताउनुभयाे । पहिले देखि नै मध्यवर्ती क्षेत्रमा बढी बसोवास रहेको थारु समुदायको आम्दानीको स्रोत नै कृषि थियो । किसानहरुले समयमा मल विउ नपाउने, बजार नपाउने जस्ता विविध समस्यालाई सामना गर्दै आएका थिए । जब होमस्टेको अवधारणा आयो अनि संस्कृतिलाई जोगाउँदै पर्यटन विकासमा अगाडि बढ्न थालेको अध्यक्ष महत्तोले बताउनुभयाे । कृषिमा निर्भर भएको समुदाय भनेर पहिले चिनिन्थ्याे तर अहिले थारु समुदाय पनि आय आर्जनमा जुटेका छन, संस्कृति र भेषभुषाले पर्यटनलाई लोभ्याएका छन् । यो परिवर्तन देख्दा खुसी लाग्ने महत्तोले बताउनुभयाे । संस्कृति बचाएर आयआर्जनमा लाग्दा फाईदा हुन्छ भन्ने उदाहरण होमस्ट भएको महत्तोको बुझाइ छ । अधिकार प्राप्त गर्नको लागि पहिले आफ्नो पहिचान जोगाउन आवश्यक रहेको भन्दै महत्तोले भन्नुभयाे, “थारुहरुको पहिचानको संरक्षणमा महिला दिदिबहिनीहरु संवेदनशील हुनुहुन्छ ।”पहिलेको तुलनामा थारु समुदायको केही नाचहरु लोप हुँदै गएका छन् तर समयसँगै महिलामा भने निकै चेतनाको विकास भएको पाइएकाे महत्तोले बताउनुभयाे । आफ्ना भेषभुषा सहित विभिन्न नृत्यहरुको प्रस्तुती मार्फत पर्यटनहरुलाई लोभ्याउने मात्रै होइन यसले नयाँ“ पुस्तालाई हाम्रा संस्कृति हस्तान्तरणमा टेवा पुगेको छ । होमस्टेमा आउने पाहुनालाई स्वागतमा मात्रै होइन जिल्लामा हुने विविध सांस्कृतिक कार्यक्रममा पनि महिलाले थारु परिकार, थारु नृत्य प्रस्तुत गर्ने गर्दछन । २०६८ सालको जनगणना अनुसार नवलपुर जिल्लामा ४८ हजार थारु जातीको बसोवास रहेको छ ।

भिडियाे 

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ