सञ्चिता घिमिरेकाठमाडौं । नेपालमा सडक निर्माण शुरु भएको एक शताब्दीपछि नयाँ खुड्किलाका रुपमा सुरुङमार्गको निर्माण शुरु भएको छ । काठमाडौं उपत्यका बाहिरबाट उपत्यका छिर्ने वा यहाँबाट बाहिरिने यात्रु घण्टौं जाममा पर्ने समस्या समाधानका रुपमा सुरुङमार्गलाई हेरिएको छ । यातायातकै प्रयोजनले बनाउन लागिएको मुलुककै पहिलो सुरुङमार्ग सन् २०१९ को महत्वपूर्ण उपलब्धि मानिएको छ ।
सडकलाई विकासका पूर्वाधारको रुपमा लिइन्छ । सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका रुपमा प्राथमिकता दिएकामध्ये ६ सडकका आयोजना छन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग र काठमाडौं तराई–मधेस द्रुतमार्ग राष्ट्रिय गौरवका आयोजना हुन्।
प्रधानमन्त्री केपी ओलीले कात्तिक ४ गते सुरुङमार्गको शिलायान्स गरेसँगै त्यसको निर्माण अघि बढेको छ । ४२ महिको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जापानी अन्तरर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण शुरु गरेको छ । आयोजना अन्तर्गत साढे ९ मिटर र ४ मिटर चौडाइका २ सुरुङ निर्माण हुनेछ । दुई वटा ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३ दशमलव १ किलोमिटर नयाँ सडक निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा त्यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । अन्तरर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुन्छ । ३ लेन नपुगे पनि मुख्य सुरुङमार्गमा ३ वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । तत्काल उद्धारका लागि सहायक टनेल हुनेछ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्ने सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।
गत आवमा देशभरका सडकमा कालोपत्र हुँदा सबैभन्दा बढी काम मध्यपहाडी लोकमार्गमा भएको थियो । त्यो सडकमा ३ सय ४४ किलोमिटर सडक कालोपत्र भइसकेको छ । ५ सय ८१ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ ।४ सय ९२ किलोमिटर सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएका छन् । २४ पुल निर्माणाधिन रहेको आयोजनाले जनाएको छ ।
मध्यपहाडका २६ जिल्लाका २ सय १५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको प्रारम्भ पाँचथर जिल्लाको चियोभञ्ज्याङबाट हुन्छ । अन्तिम विन्दु बैतडीको झुलाघाट हो । सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ यसलाई अघि बढाएको हो । आव २०६४, ६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग आव २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस राजमार्ग कुल लम्बाइमध्ये करिब एक हजार किलोमिटर आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । करिब ८ सय ७९ किलोमिटर नयाँ ट्र्याक खोल्ने र भएका सडकको स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
तराईका सबै जिल्लालाई जोड्ने सडक आयोजनाका रुपमा रहेको हुलाकी लोकमार्गको निर्माण हुलाकी राजमार्गअन्तर्गत मध्यतराईको चितवन–रौतहट खण्डको निर्माण ४५ प्रतिशत मात्र सकिएको छ । राजमार्गअन्तर्गत बारा र रौतहटमा बढी काम भएको राजमार्ग निर्देशनालय योजना कार्यालय छ । रौतहटमा कूल १९–११ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा बाग्मती नदीदेखि बाराको सीमा अरुवा खोलासम्म ‘सब–बेस’ बनाउने काम भइरहेको छ । बारामा ३ चरणमा हुलाकी राजमार्ग निर्माण हुँदैछ ।
काठमाडौंलाई तराईसम्म जोड्ने सबैभन्दा छोटो सडकका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको त्यो आयोजना आउँदो ५ वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाइएको छ । काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको त्यो मार्गको लम्बाई ७२ दशमलव ५ किलोमिटर हुने डीपीआरमा उल्लेख छ । त्यसमध्ये करिब ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ । आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ ३ दशमलव ५ किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुबैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजनाले जनाएको छ । सेनाका अनुसार १२ वटा ठेक्का मार्फत कामलाई अघि बढाइनेछ ।
प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउन चालु आवमा ५ ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभयो । आयोजना निर्माण स्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको काम समेत अघि बढाइएको छ । आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आउँदो वर्षदेखि नै विभिन्न सडकमा कालोपत्र गर्ने काम समेत अघि बढाइनेछ । आगामी मंसिरमा कालोपत्र शुरु गरेर २०८० साल असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ । आयोजना अन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मंसिरसम्म सम्पन्न हुनेछ । आगामी वर्षदेखि निर्माण शुरु गरिने तीन सुरुङमार्ग २०८० साल वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ ।
निर्माण शुरु भएको करिब दशक पछि कान्ति लोकपथको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यो सडक भएर गत वर्षदेखि नै हेटौँडा–काठमाडौँ आवतजावत गर्न थालिइसकिएको छ । निर्माण चल्दै गर्दा बर्खामा धेरै ठाउँमा पहिरो गई सडक अवरुद्ध भएको थियो जसलाई सडक विभागले खुलाइसकेको छ । हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको निर्माणाधीन यो सडकलाई हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १ सय ३६ किलोमिटर सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।
आव २०७२, ७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नति भइरहेको छ । सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पि वान)मा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको छ । कतिपय स्थानमा मुआब्जा विवाद भए पनि सडक समयमै सम्पन्न हुने कार्यालयले बताएको छ । निर्माण शुरु हुँदा यो सडकको लम्बाइ ९२ किलोमिटर थियो ।
सडक निर्माणसँगै सडक मर्मतका हिसाबले पनि सन् २०१९ महत्वपूर्ण रह्यो । काठमाडौँका नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । चालु आवमा काठमाडौँका धेरै सडकमा कालोपत्र गर्ने योजना रहेकामा अधिकाँशमा स्थानमा काम शुरु भइसकेको र कतिपय सडकमा ठेक्का सम्झौता भइसकेको छ । यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।
सरकारले यही वर्ष देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्न योजना अघि बढाएको छ । प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सडक निर्माण र स्तरोन्नतिको योजना बनाइँदैँछ । सडक सञ्जाल नपुगेका पालिकामा सडक पु¥याइने र माटे वा ग्राभेल सडक रहेका पालिका केन्द्रमा कालोपत्र सडक पु¥याइने गरी विभागले राष्ट्रिय योजना आयोगसँगको समन्यवमा अवधारणापत्र बनाएको हो । आउँदो ४ वर्षमा सबै स्थानीय तहको केन्द्रसम्ममा कालोपत्रे सडक पु¥याउने लक्ष्य छ । देशभरका सबै पालिकामा कालोपत्र सडक निर्माणका लागि करिब डेढ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अध्ययनका अनुसार देशभरका सबै पालिकाको केन्द्रमा पुग्ने ४ हजार २ सय किलोमिटर सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।
सरकारले चालु आवमा ३ सय पुल निर्माण गर्ने योजना बनाएको छ जसमध्ये कतिपय नयाँ प्रविधिका पुल छन् । ‘आर्क एण्ड ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजारस्थित पुल सम्पन्न हुने क्रममा छ भने तीनकुनेस्थित पुल अलपत्र अवस्थामा छ ।
नयाँ संरचनानुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि पूँजीगत खर्चतर्फ सबैभन्दा बढी रकम सडक निर्माणमा छुट्टाएको पाइन्छ । इञ्जिनियरिङ दृष्टिकोणले अध्ययन नभइकन सडक निर्माण भएको भनिए पनि यसले देशभरमा सडक सञ्जाल भने फैलाएको छ । देशभरमा अहिले ८३ हजार किलोमिटर सडक रहेको छ । नेपालको पहिलो सडक मार्ग त्रिभुवन राजपथ हो । २०१६ सालमा यसको निर्माण शुरु भएको थियो । रासस