नगरप्रमुख नै ठेकेदार, जनआक्रोश बढ्दो

फाइल तस्बिर
बारा । कोहल्बी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले ठेक्कापट्टाको काम गर्दै आउनुभएको आरोप लागेको छ । नगरप्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत ठेकेदारीको काममा एकाधिकार जमाएको भन्दै नगरपालिकामा विरोधसमेत शुरु भएको हो ।
जनप्रतिनिधि हुनु भन्दा पहिलादेखि गर्दै आउनुभएको ठेकेदारीको कामलाई नगरप्रमुख भएपछि पनि निरन्तरता दिएको स्थानीयको आरोप छ । अधिकारको दुरुपयोग तथा कर्मचारीसमेत अस्तव्यस्त बनेपछि उहाँविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् ।
बाटोको ठेक्का लिएर जथाभावि खन्दै हिँड्ने, कामको मूल्याङ्कन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा नगरप्रमुख भण्डारी संलग्न भएको स्थानीयवासीको आरोप छ । नगरपालिकाभित्रका कामका साथै प्रदेश सरकारअन्तर्गतका कामका पनि भण्डारीको अनुचित संलग्नता देखिएको स्थानीय बताउँछन् ।
यता नगरप्रमुख भण्डारी भने विकासका काममा आफूसँग भएको उपकरण वडाले प्रयोगका लागि लैजाने गरेको तर आफ्नो त्यसमा कुनै संलग्नता नरहेको दाबी गर्नुहुन्छ ।