फाइल तस्बिर
काठमाडौं । सप्तरी, चितवन, ओखलढुङ्गा र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । सप्तरी, बलानबिहुल गाउँपालिका-२ झिझहा टोलस्थित सडकमा स ८ प ७०११ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको सोमबार राति घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चितवन, रत्ननगर नगरपालिका-४ देवैलीस्थित सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ना.५ ख ६४४५ नम्बरको ट्रकमा ना.३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका-४ देवैली बस्ने ३० वर्षीय अजय चौधरीको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओखलढुङगा, सुनकोशी गाउँपालिका-३ मा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार राति सडकबाट ३ सय मिटर तल खसेको हो । दुर्घटनामा मोटरसाइकल चालक त्यही ठाउँको ४५ वर्षीय शेरबहादुर मगरका्र मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।