काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित पत्रपत्रिकाले विभिन्न आर्थिक, राजनीतिक, समाजिक तथा अन्तराष्ट्रिय क्षेत्रका विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् ।
बिहीबार जनता समाचार डट कम मा ठोरी महोत्सव : ५० हजार पर्यटक भित्र्याउने लक्ष्य, चार लाख नक्कली नोटसहित चारजना पक्राउ, चिसोबाट जोगिन यस्तो कहिल्यै नगर्नुस्, पत्रकारको कडा प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले दिए यस्तो जवाफ, इरानसँग वार्ता गर्न अमेरिका तयार र यस्तै भइरहे भीम रावल र रामकुमारी झाँक्री नै पक्राउ पर्छन् लगायतका शीर्षकमा प्रमुख समाचार सम्प्रेषण भए।
कारोबार दैनिक मा अमेरिका - इरान द्वन्द्वको सन्त्रासमा अर्थतन्त्र शीर्षकमा मुख्य समाचार बनाइएको छ । नेपालका केही अर्थशास्त्रीहरुको विचारलाई समेटेर अर्थतन्त्रको विश्लेषणात्मक समाचार बनाइएको हो । इरानका शक्तिशाली सैन्य कमान्डर जर्नेल कासिम सुलेमानीको हत्या भएपछि पश्चिम एसियामा फेरि तनाव चुलिएको र यसले अर्थतन्त्रमा सिधा प्रभाव पार्ने समाचारको सार छ । पूर्व अर्थसचिव रामेश्वर खनालले पेट्रोलियम पदार्थको उपभोग कम गर्ने, वैकल्पिक मार्ग खोजी गर्नुपर्ने र सुरक्षाका लागि कुटनीतिक नियोगहरुलाई तयार हालतमा राख्नुपर्ने बताउनुभएको छ ।
यसैगरी अर्थविद डा. शंकर शर्माले यो घटनाबाट उत्पन्न समस्याबारे नेपाल सरकारले तत्कालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ भने चन्द्रमणि अधिकारीले द्वन्द्व चर्किंदा नेपालजस्ता मुलुकहरुको अर्थतन्त्र झनै कमजोर हुने हुनाले सजग हुनुमै बुद्दिमानी हुने तर्क राख्नुभएको पत्रिकाले उल्लेख गरेको छ ।
गोरखापत्र दैनिक मा ‘आमाबाबुको खातामा रकम’ शीर्षकको समाचारलाई शीर्ष स्थान दिइएको छ । समाचारमा उल्लेख भएअनुसार स्थानीय तहको निर्देशनअनुसार रकम जम्मा नभएका आमाबुबाले स्थानीय तह वा हकवाला कार्यरत निकायमा निवेदन दिन सक्ने व्यवस्था गरिने भएको छ ।
जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम जेष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको समाचारमा लेखिएको छ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार जेष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ ।
राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाबाट विचाराधिन विधेयक समितिबाट पारित भएको हो । समितिबाट पारित भएको विधेयक अब प्रतिनिधिसभामा पेस हुनेछ । प्रतिनिधिसभाले पारित गरेपछि सोको जानकारी पुनः राष्ट्रिय सभामा पठाइने छ । जानकारीमा राष्ट्रिय सभाले चित्त बुझाएमा प्रमाणीकरणको प्रक्रिया अघि बढ्ने छ ।
अन्नपूर्ण पोष्ट् दैनिकमा ‘तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप’ शीर्षकमा प्रमुख समाचार प्रकाशित छ । निर्माण शुरु भइसकेको जलाशययुक्त तनहुा हाइड्रो (१४० मेगावाट) को फेरि ठेक्का प्रक्रियामा एसियाली विकास बैंक (एडीबी) ले हस्तक्षेप गरी रद्ल गरेको समाचारमा लेखिएको छ । एडीबीको अस्वीकृतिसँगै यसले आयोजनामा पार्ने असरबारे अध्ययन भइरहेको हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभएको छ ।