मोहनविक्रम सिंह , नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री । मशालको नेतृत्वसँगै राजनीति बिश्लेष्कको रुपमा समेत चिनिनु भएका सिंह ६ दशक अर्धभूमिगत अवस्थामा रहनुभयो । मुलुकमा गणतन्त्र आएको १२ वर्ष भइसक्दा पनि अर्धभूमिगत अवस्थामै रहनु भएका नेता सिंह यसै साता सार्वजनिक हुनु भएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा सिंहको अतुलनीय योगदान छ । विभिन्न समूहमा छरिएका वामपन्थी नेतालाई कम्युनिष्टप्रति अभिप्रेरित गर्न पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीसँगै सिहंको पनि भूमिका छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादीमा लाग्नुअघि सिंहकै पार्टीमा हुनुहुन्थ्यो ।
१९९२ साल वैशाख ३ गते काठमाडौंको मरुटोलमा जन्मिनु भएका सिंहको स्थायी ठेगाना प्युठानको ओखरकोट हो । उहाँ युवा अवस्थादेखि नै कम्युनिष्ट विचारबाट प्रभावित हुनुभयो । सम्भ्रान्त परिवारमा जन्मिएर पनि ‘सर्वहारा वर्गको हित गर्नुपर्छ’ भन्दै वामपन्थी आन्दोलनमा लाग्नुभयो ।सिहं राजनीतिमा सक्रिय भइरहेकै बेला २०१७ साल पुस १ गते मुलुकमा निरंकुश पंचायती व्यवस्था लागूभयो । सिहं पंचायतविरुद्ध विभिन्न मोर्चा बनाएर निरन्तर रुपमा सक्रिय हुनुभयो । कम्युनिष्टमा लागेको र पंचायतविरुद्ध सक्रिय भएको कारण उहाँ ९ वर्ष जेल पर्नुभयो । जेलबाट छुटेपछि उहाँले त्यसबारे पुस्तकसमेत प्रकाशित गर्नुभएको छ । राजनीतिकै कारण सिंहले निर्वासित जीवनसमेत बिताउनु पर्याे।
वामपन्थी मोर्चा र कांग्रेसको गठबन्धनकै कारण २०४६ साल चैत २६ गते मुलुकमा बहुदल घोषणा भयो । संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था मुलुकको राजनीतिक शर्त भयो । संवैधानिक राजतन्त्रलाई कांग्रेसले सहर्ष स्वीकार गर्याे। नेकपा (माले)ले आलोचनात्मक समर्थन गर्याे। मुलुकमा बहुदल आए लगत्तै माले र नेकपा (माक्सवादी)बीच एकता भयो र नेकपा(एमाले) बन्यो । कांग्रेस र एमालेले संसदीय चुनावमा जाने तयारी गरे । तर सिंह नेतृत्वको मसाल भने बहुदल घोषणा भएपछि पनि केही महिना ‘चुनाव बहिष्कार गने कि सहभागी हुने’ भन्ने बारेमै अल्मलियो । त्यही विषयमा सिंह नेतृत्वको पार्टी मशाल फुट्यो । डा.बाबुराम भट्टराई र कृष्णबहादुर महरासहित केही नेता २०४८ साल वैशाख २९ गते भएको संसदीय निवाचनमा होमिए तर सिंहसहितको केही नेता भने चुनाव बहिष्कारका पक्षमा लागे । नेता सिंह बहुदलीय व्यवस्थामा पनि अर्धभूमिगत नै रहनुभयो ।
बहुदलीय व्यवस्थामा डा. बाबुराम भट्टराई, प्रचण्ड लगायतका नेता सशस्त्र क्रान्तिबाटै राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनुपर्छ भनेर युद्धमा होमिए तर सिंहले भने त्यसप्रति असहमति जगाउँनै प्रतिवाद गरिरहनुभयो । माओवादी चर्मोत्कर्षमा पुगेको बेलासमेत राजनीतिक बिश्लेषक सिंहले लेख तथा अन्तरवार्तामार्फत त्यसको आलोचना गरिरहनुभयो । लोकतन्त्र बहाली, शान्ति सम्झौता, राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भइसक्दा पनि सिंह भने मुलुकमा क्रान्ति अझै सफल भइसकेको छैन भनेर अर्धभूमिगत अवस्थामै रहनुभयो । २०७४ सालमा संघीय तथा प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल तथा पार्टी एकीकरण प्रकृया अगाडि बढ्यो । अन्य वाम घटकलाई पनि समेट्न थालियो । त्यही क्रममा सिंहको पार्टीले पनि संघीय संसदमा एक स्थान पायो । त्यही भागवन्डाअनुसार सिहं पत्नी दुर्गा पौडेलले प्युठानबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ ।
नेकपाको नाममा संसदमा प्रतिनिधित्व भएता पनि नेता सिंह अर्धभूमिगत नै रहनुभयो । उहाँको पार्टी पनि भूमिगत नै रह्यो । करिब ६ दशकको अर्धभूमिगत जीवनपछि नेता सिंह सार्वजनिक हुनुभएको हाे । तर उहाँको पार्टी भने अझै भूमिगत नै छ । कसरी शुरु भयो नेपालमा कम्युनिष्ट आन्दोलन ? आन्दोलनमा के कस्ता उतरचढाव आए, अब कसरी अगाडि बढ्लान् पार्टी ? यसको साथै अहिले चर्चामा रहेकाे एमसीसी प्रकरणसहित राजनीतिको विविध पक्षको सान्दर्भिक बिश्लेष्ण गर्दै आइरहनुभएको छ, नेता सिंहले ।
मुलुकले पहिलो पटक अभ्यास गरिएको प्रादेशिक संरचना सफल नहुने सिंहको दाबी छ । उहाँले मुलुकको सीमा समस्या सम्बन्धी मुद्दालाई अन्तर्राष्टियकरण गर्नुपर्ने बताउनु भएको छ । एमसीसी लागू गर्नै नहुने उहाँको राय छ । जनता टेलिभिजनका खेम बमले उहाँसँग यिनै विषय खोजलखाल गर्नुभएको छ । प्रस्तुत छ । जनता टेलिभिजनको सन्दर्भका लागि उहाँसँग गरिएको कुराकानी :
https://www.facebook.com/janatasamachar/videos/464522887785170/