पत्रकारिताको मानक हुन्छ, नैतिक मूल्य, मान्यता र विवेक । तर जब पत्रकारले नै सामाजिक एवं सांस्कृतिक प्रतिष्ठा र वैधानिकता बिर्सन्छन् अनि मौलाउँछ अराजकता । यस्तै अराजकताको दृश्य बन्यो जनकपुरको मेयर र पत्रकार काण्ड । अतीतको व्याख्या, वर्तमानको कथा र भविष्यद्रष्टा पत्रकारको एउटा समुहले मच्चाएको अशोभनीय हर्कतबाट समाजमा कस्तो सन्देश जान्छ वा भनौ समाज कता दौडाउन खोजिँदैछ ? भन्ने प्रश्न पनि उठ्छ ।
गत पुस २२ गतेको घटना हो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहको कार्यकक्षमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी अमरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवबीच भएकाे हातपात र विवादले निकै चर्चा कमायाे । प्रत्यक्षदर्शी जनकपुरधाम उपमहानगरपालिका-१६ का अध्यक्ष राम अशिस पजियारको कुरा मान्ने हो भने शुरूमा घटना समान्य थियाे तर जब नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिलकुमार मिश्र मेयर साहको कार्यकक्षमा पुगे अनि शुरु भयो अध्यक्ष मिश्रको ताण्डव र मेयरबीचको चर्काचर्की । पत्रकारलाई मेयर साहले नियोजित ढंगले आक्रमण गराएको भन्दै पत्रकार मिश्र जंगिएका थिए । उनकाे शैली अभद्ग र अस्वभाविक थियाे । गल्ति जसको जे भएपनि त्यो पछि कानुनी अनुसन्धानको विषय थियो । तर सार्वजनिक पद धारण गरेको व्यक्तिसँग समाजलाई सहि दिसामा डोर्याउने पत्रकार तथा संचारकर्मीले बोल्ने शैली भने त्यहाँ पटक्कै सुहाएको थिएन् । यतिसम्म कि मेयरकाे सुरक्षामा सादा पाेसाकमा खटिएका नगर प्रहरीलाई समेत गुण्डा देखियाे ।
मेयर लालकिशोर साहको कार्यकक्षमा त्यो दिन मच्चाइएको उपद्रवको दृश्य पटक पटक हेर्दा पनि कतै चित्त बुझ्ने देखिन्दैन् । दृश्य र संवाद अनौठा छन् । मानौँ रिहल्सल नपुगेको नाटक झैँ । समाज र नागरिकका लागि काम गर्ने दायित्व बोकेका पत्रकार र पत्रकारको पनि नेतृत्व गर्ने एउटा समुह यति अशिष्ट र अभद्र कसरी हुन सक्छ ? नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको असामान्य व्यवहार र असन्तुलित बोलीले निम्त्याएको जिज्ञासा हो यो ।
संयमित र मर्यादित ढंगले असहमति राख्न सक्ने शिष्टता किन गुम्दैछ ? अध्यक्ष मिश्र मेयर साहतिर औँला ठड्याउँदै भनिरहेका थिए कि ‘तपाईंले पटकपटक फोन किन उठाउनु भएन ? फुर्सदमा किन फोन फर्काउनु भएन ? सार्वजनिक पदमा बस्नेले हरेक सबालको जवाफ दिनुपर्छ । र हरेक सवाल सोध्ने सर्वाधिकार हामीसँग सुरक्षित पनि छ ।’ सवालजवाफ गर्ने विधि, प्रक्रिया र शैलीमा नम्रता पनि हुन्छ । पत्रकार र नम्रताको भेट चैँ हुँदैन कि सायद ? मेयर साह उत्तर दिनबाट पन्छिनु हुँदैन । तर, प्रश्नको जवाफ दिन जनप्रतिनिधिलाई तर्साउने, थर्काउने र गलहत्याउने लक्षण पत्रकारितामा हुर्कँनु पनि उतिकै गलत छ ।
पत्रकार जति गम्भीर र संवेदनशील हुन्छन्, समाजका चित्रलाई उतिकै दुरुस्त तरिकाले उतार्न सक्छन् । तर जनकपुर काण्डमा देखिएको आवेश, उन्माद र अहंकारले प्रस्ट हुन्छ कि जनकपुरको पत्रकारितामा खिया लाग्दैछ ।
गलत, अमर्यादित र अनुचित ढंगले कसैलाई स्पर्श, घेरघार र र्याखर्याख पार्ने काम अस्वाभाविक मात्र होइन, कानुनीरूपमै अपराध हो । कानुन उल्लंघनको अधिकार कसैलाई छैन । कसैले गरे सम्झाउने वर्ग हो पत्रकार, पत्रकारलाई अझ छुट हुने कुरै भएन । लाग्छ, मेयरको कार्यकक्षमा पत्रकार बडो निर्दोष र अबोध अवतारमा छन्, कुनै विषयमा वार्ता गर्न । त्यसका लागि बडो व्यग्रतापूर्वक मेयरको बोलाहटको पर्खाइमा छन् । तर, कसैलाई पर्खिरहँदा तपाईं समय हेर्नुहुन्छ कि पर्खिरहेको दृश्य क्यामरामा कैद गर्नुहुन्छ ?
प्रतीक्षा गर्नु परेको पीडा छैन पत्रकारको अनुहारमा । केवल आाक्रोशित नयन र बोलीमा भद्दापन मात्र देखिन्छ । ‘रन्को’ पत्रकारिताको लक्षण होइन ।
पत्रकारको एउटा जत्था योजनाबद्ध तरिकाले मेयरमाथि जाइलाग्न त्यस दिन उपमहानगरपालिका पुगेको सुनियो । उनीहरू जम्मा भएर गएको देखियो । तर उद्देश्य एउटै थियो । मेयर साहको प्रतिष्ठामा मोसो दल्ने ।
पत्रकारिताको विश्वसनीयता सकिँदै गएको चर्चा चल्दै गर्दा यता इमानजमान बाँचेका केही पत्रकार भने मारमा छन् । पत्रकारितालाई व्यवस्थित, जिम्मेवार बनाउने र जनहितमा समर्पित गराउने संस्थाहरू यस्तै बेला कोही नसुन्ने बन्दिने, कोही नबोल्ने र कोही नदेख्ने हुने कहिलेसम्म ?
https://www.youtube.com/watch?v=GfN652dj2A8