काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को दुई विधामा फाइनल प्रवेश गरेका छन् । दाहाल पुरुष एकल र जोडी दुवैतर्फ फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगितामा दोश्रो बरियता प्राप्त तथा विश्व जुनियर बरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । अब दाहालले उपाधीका लागि प्रतियोगिताका पहिलो बरियता तथा विश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अब विक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन् । पेम्बा शेर्पा सँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जे.बी. साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे । अर्को प्रतिस्पर्धामा भारतका आर. विकास प्रभु र अरुण कार्थिक केको जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला जोडीतर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । बिष्ट र खत्रीको जोडीले फाइनलमा भारतका नन्दा के र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजवंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।
नेपाल व्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाईनलमा मलेसियाकी करुपथेभन लेत्शानासँगको भेट पक्का गरिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन् ।
मिश्रीत जोडीतर्फ पनि मिर आयन रशिदसँग मिलेर फाइनल प्रवेश गर्न सफल भइन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडीसँगको भेट पक्का गरेका हुन् ।
प्रतियोगिताको फाइनल शनिबार दिउँसो एक बजेबाट शुरु हुने कार्यक्रम रहेको छ ।