खै, कहाँबाट शुरु गरौँ, जीवनका तितामिठा पलहरु । जीवनका अधुरा सपनाहरु, वास्तविक भोगाइहरु अझ भन्नूपर्दा चरम गरिबी, अनि अभाव भित्रको अभावै अभाव, जस्ले म जस्तो गरिब युवाहरुको सारा जीवन नै खाडिमा अस्ताउन बाध्य गराउँछ ।
रहर, इच्छा, जागृत भएर आउँदा पैताला मुनि दबाएर पारिवारिक माया मोहबाट वञ्चित हुनु त छँदैछ, उता घरमा बुढा बुबाआमा बुढेसकालको साहरा आफ्नो छोरा आउला मर्ने बेलामा पानीसम्म त पिलाउला भन्दै छट्पटी रहँदा, श्रीमती काखमा दुधे बालक च्यापेर चुलोचौको गर्दै सबै घरको काम भ्याइनभ्याई सम्हालेर भोलिको सुन्दर सपना सजाएर बसेकि छिन् । प्रायः सबै नेपालीहरुको बिडम्बना हाे याे ।
बाध्यता हो, रहर त अहँ पटक्कै हाेइन । भलै होस् थोरैले जीवनमा धेरथोर उन्नती प्रगति गरेकै होलान् तर धेरैको जीवन आफूले सोचेको जस्तो बिल्कुलै भएको भने छैन । नेपाल सरकारको लापरबाही भनौँ वा लाचारीपन भनौँ, कयौँ नेपाली विदेशमा अलपत्र परेका छन् । तिनको अवस्था कस्ले बुझिदिने ? दैनिक बाक्सामा सिल भएर दर्जनौ लाश एअरपोर्टमा आउँदा तिनै लाशमाथि कर उठाएर मनपरि असुल गर्दै सरकारी कर्मचारी आफ्नो खुशी मनाउन भ्याइनभ्याई हुन्छ, तर एउटा आफन्त छोरा पति गुमाएको अभागि गरिबले राज्यबाट पाउनुपर्ने बीमा र क्षतिपूर्तिमा समेत अनेकौ बाधा व्यवधान तेर्स्याएर आफ्नो भुँडी भर्न तछाड्मछाड गर्छन् गिद्धहरु ।
कठै, ती गरिबले खै कहाँ खोज्ने न्याय ? भनाइ छ नि न्याय मरेको देशमा हाम्रो अधिकार माग्ने झोलितुम्बेहरु च्याउसरि छन्। असली पीडितले न्याय र अधिकार जीवनभर पाउँदैन तर सरकारका प्रतिनिधि भन्ने समाजका मै हुँ भन्ने ठुलाबडाले सबै सुबिधा आफैतिर पार्दै गरिबलाई आपसमा जुधाउँछन् । आफ्नो स्वार्थ लिनमा लिप्त ती सामाजिक नामका अभियान्ता राजनीतिका झोलेहरु, यो देशलाई दुहुनो गाई बनाएर दिनरात लाम्टा लुछिरहेका छन् ।
आज रातभर डिउटीमा बस्दा यही जिज्ञासाले मनभरी खुल्दुली भयो, मुटु त्यसै उकुसमुकुस भएर आयो । दैनिक दर्जनौ युवाको लाश बाकसमा सिल भएर एअरपोर्टबाट बाहिर आउँदा कुन दिन कुन बार त्यो बाकस भित्र मेरो निर्जिव चिर निन्द्राको एउटा आकृती नआउला भन्न सकिन्न । किनकी विदेशको नोकरी सोचेको जस्तो सजिलो छैन । हजारौँ मन मुटुहरु रोएको हाम्रो देशमा कुनैदिन कुनै बेला मेरै आफ्नै परिवार भित्र पनि बुढा भएका बुबाआमाले यो पीडा भोग्न नपर्ला भन्न सकिन्न । मनभित्र अनेकौँ रहर पालेर घर व्यवहार सम्हालेर बसेकी मेरी अर्धाङ्गिनी कुनैपनि बेला हातको चुरा फुटाउन र शिरको सिन्दुर पुछ्न तयार भएर बस्नु परेको छ । मुखले भन्न पो सकिन्न, तर प्रायः अभावसित मुकाबिला गर्दै खाडिमा दिनरात पसिना बगाउने गरीब दाजुभाइ माथि निस्ठुरी दैवले बज्रपात गरेका थुप्रै उदाहरण छन् हामी कहाँ, तथापि ती सबै थाहा पाएर पनि लाचार भएर पौरखी हातहरु बालुवा घारिमै तल्लिन छन् ।
चसक्क मुटु दुखेर आउँछ सम्झिदा, हो म पनि एउटा गरिब बाबुआमाको गरिब छोरा, एउटी सुन्दर महिलाको नामर्द श्रीमान अनि एक जोडी कलिला मुनाका अभागी बाबा । घरगाउँ देश छोडेर विदेशिएको पनि दुई दशक पार भइसकेछ । मनभरी अनगिन्ती सुन्दर सपनाहरु सजाएर पर्देशिएको म बिसौँ वर्ष बितिसक्दा पनि अहँ अझै त्यो लक्ष्य हासिल गर्न सकेको छैन । मलाइ लाग्छ त्यो सबै ब्यर्थ छ, धिकार्न मन लाग्छ आफैले आफैलाई ।
अझ मेरो त जागिर पनि अवैधानिक जस्तै छ । नेपाली सेनाको सिपाही दर्जा पाएर बीचैमा भगौडा सैनिक उपमा पाएको म खाडिको सरकारले हामी जस्ता कुशल भगौडा सैनिकको राम्रै मिहेनत पसिना खाएको छ । हातमा अत्याधुनिक हातहतियार शरीरमा यहीँको आर्मी पहिरन आहा, क्या आलिसन बसाइ छ है भनेर बाशिरबाट हेर्ने देख्नेले भन्लान तर भित्री पीडा भोगाइ कस्ले देख्ने ? थोरै तनखा, अनि काडेतार भित्रको दर्दनाक बसाइ, खरो आदेशको पालना, पाउनुपर्ने पारिश्रमिक कट्टा गरी सब कम्पनीले हडप्छ, तर हामी गरीब देशका योग्य सिपाही नत त्यसको प्रतिकार गर्न सक्छौ नत प्रतिक्रिया पस्किन नै सक्छौ ।
कतिपय त उमेरले ४० काटिसकेका प्रौडहरु छन्, उनीहरुको अवस्था नै त्यस्तै छ, प्रतिवाद गरे घर पठाउला भन्ने फेरि। फेरि घर लखेट्यो भने आउन पाइने होकि हाेइन, अनि छोरीलाई अष्ट्रेलिया छोरालाइ जापान पढ्न पठाउने कसरी ? यहाँनेर एउटा जिज्ञासा उत्पन्न हुन्छ, खाई नखाई ज्यानलाई पातमा राखेर हामी धेरथोर कमाएर पैसा नेपाल त पठाउछौँ तर त्यो पैसा सही ठाउँमा लगानी भएको छत ? अहँ छैन । हामी त अर्काको चाकर गर्ने भयौँ तर हामीले नै हाम्रा सन्तानलाई चाकरी कै लागि कतिले स्टुडेन्ट भिसामा छोराछोरीलाई यूरोप अमेरिका, अष्ट्रेलिया, जापान जस्ता सुबिधा सम्पन्न देशमा हलि हुन पठाउदै छौँ ।
आफ्नै काख रित्याएर ठूलो सपना बुनेर ती देश गएका सन्तान भोलि आफ्नो देशमा फर्केर आउला त ? बरु खाडि पसेको मान्छे एकदिन त पक्कै आफ्नो देश फर्किन्छ किनकी उस्ले त्यहाँ बस्ने वैधानिक पाउँदैन तर विकसित मुलुक पढ्न भनेर गएका आफ्ना छोराछोरी उतैको आलिसन र बिलासिताको जीवनमा रुमलिएर हराइदिन्छ ।
यसरी खाडीमा दुःख गरेर छोराछोरीको लागि सोच्ने बुबाहरु धेरै छन् तर नतिजा ठिक उल्टो भैदिन्छ, उच्च शिक्षा लिएर आफ्नै देशमा केही गरोस् भनेर आफ्ना सन्तानलाई धनी देशमा भएको सम्पत्ति बैकमा देखाएर राखेर पठाउछन् तर अहँ ती बुबाहरुको सपना चाहना अन्त्यमा एक्लो भएर छोराछोरी सम्झेर रोएर बुढेसकालका एक्लो जीवन बिताउँदा पुर्पुरोमा हात राखेर रुनु सिवाय केही हुने छैन । हामी जस्ता अवकाश प्राप्त फौजी बिसौँ वर्ष पल्टनको तारबार भित्र बिताएको न्यास्रा दिन नसकिदै छोराछोरीलाई उच्च शिक्षा दिलाउन पैसा अभावको गर्जोलाई टार्न फेरि खाडी भित्र बुढ्यौली चाउरी परेका गाला सुमसुम्याउदै हरेक परिबन्धमा परेका हामी जस्ता सयौँ कुशल फौजी, आज सस्तो मुल्यहिन र औचित्यहिन खाडिको सिपाही हुन बाध्य छौँ ।
झट्ट हेर्दा अब्बल र उपल्लो दर्जाको सैनिक झै देखिने हाम्रो रहनसहन भित्रको खोक्रो र अन्याय अत्याचार कस्ले बुझिदेला ? भोलि ज्यान तलमाथि भएको खन्डमा खुलस्त पारेर पहिचान दिनसम्म पनि नमिल्ने जागिर, एग्रीमेन्ट पेपरमा सेक्युरिटी गार्ड भनिएको छ, अनि काम भने आर्मीको ।