उमा अधिकारीयात्रा भन्ने बित्तिकै आफू घुम्न गएको याद कसलाई पो नआउला र ? त्यसमाथि पनि आफूलाई धेरै नै घुम्न जान मन लागेको स्थान जस्तो कि आफूलाई मन परेको मान्छे मिल्दाको खुशी । मनमा अनेकौ कुराहरुले खेलिरहेको थियो । एककिसिमको खुशी त मनमा थियो नै ।
आजभन्दा एकवर्ष अगाडिको विषयलाई लिएर केही तितामिठा शब्दहरु लेख्न मन लाग्यो । कलेजका सबै साथीहरु घुम्न जाने कुरा गर्न थाले जसबाट मेरो मनमा एक किसिमको कौतुहलता पैदा भयो । तर कहाँ जाने भन्ने फिक्स भएको थिएन । कोही पोखरा जाने, कोही मनाङ त कोही चितवन जाने कुरा गर्न थालेका थिए । तर मलाई दोलखाको धार्मिक स्थल भगवती मन्दिर कालिञ्चोक जाने चाहनाले मनमा डेरा जमाइरहेको थियो ।
साथीहरु सबैलाई बल्लबल्ल मनाउन सफल भएँ र हामी सबै कालिञ्चोक जाने निधोमा पुग्यौँ। सायद त्यो दिन म जति खुशी कोही पनि थिएन होला जस्तो अनुभव मैले गरेको थियो । वर्षौ पहिलादेखि जान मन लागेको ठाउँ बल्ल त्यसदिन जान साइत जुरेको थियो ।
हामी जम्मा १५ जनाको टिम थियो । पुसको महिना चिसो मौसम तर भोलिको यात्राको खुशीयालीमा रातभर खुशीले नत निदाउनै मन लाग्यो न त खान नै मन लाग्यो । सोच्दा सोच्दै निदाएछु । बिहानको पाचँ बजे सबैजना कलेजमा भेट्ने निदो गरेका थियौँ त्यसै अनुसार हामी साँढे पाचँसम्म सबै क्याम्पसमा जम्मा भयौँ । बाटोमा भोक लाग्छ भनेर केही खानेकुरा त्यहीँबाट किनेर सबैले आआफ्ना सिटमा राख्यौँ र यात्रा अगाडि बढायौँ ।
हाम्रो साँस्कृतिक धरोहर, धार्मिक आस्थाको प्रतीक, ऐतिहासिक, पर्यटकीय स्थल, प्रकृतिले कुनै कन्जुस्याईं नगरी आफ्नो सौन्दर्य ओछ्याएको ठाउँ दोलखा भीमसेन हो । मैले बाहिरी दृश्यलाई नियाँल्दै गर्दा त्यहाँ अनेको समस्याहरु देखेँ । पर्यटकका लागि आकर्षक रहेको कालिञ्चोक जाने बाटो साँघुरो र अव्यवस्थित देख्दा मनमा एक किसिमको नराम्रो अनुभव गरेँ । नेपाल जस्तो पर्यटकीय स्थलले भरिपूर्ण रहेको ठाउँमा सडकको व्यवस्था राम्रो छैन यो देख्दा दुःख लाग्यो । हाम्रो विकासको अवस्थालाई मैले सम्झेँ । यस्तो गतिले कहिले विकास होला मुलुक ? जे होस् चिन्ता सबैलाई छ । चिन्ता र सोच हनुसारको काम हुन नसकेको हो हाम्रो देशमा भन्ने मैले अनुभव गरेँ ।
यात्रा अगाडि बढिरहेको थियो । सबैको मनमा अनेकै जिज्ञासा थियो । हामीलाई ठिक कति समय लाग्छ भन्ने कुरा पनि थाहा थिएन । ६ बजे बस चडेका हामी साढेँ एक बजे कालिञ्चोक पुग्यौँ । रामेछाप, चरीकोट हुँदै कालिञ्चोक भन्ने ठाउँमा बस रोक्यो । जुन दृश्यलाई देख्नासाथ एकछिन त्यही अडिग भएर हेर्यौँ । त्यो चोरुँ चोरुँ लोभ लाग्दो चाँदी झैँ चमक चमक चम्किएका पहाडका अग्ला चुचुरा, पहाडको हिउँ पग्लेर बगिरहेको उस्तै निर्दोष र कञ्चन बग्ने खोलानाला र वरिपरि हरियालिले ढाकेको सुन्दर बस्ती माथि हिउँ हिउँले ढाकेको मन्दिर । अति नै लोभ लाग्दो त्यो दृश्यले मनमा एक किसिमको आनन्द दिइरहेको थिया ।
त्यहाँ नजिकैको पसलमा खाजा खायौँ र हामी त्यहाँबाट हिड्ने जमर्को राख्यौँ । पसलबाट मन्दिरसम्म जानका लागि हामीलाई हिडेर दुई घण्टा लाग्यो । छ न त खर्को माध्यम पनि थियो । केबुलकार चढेर जाने तर हामीलाई त्यसमा जान मन लागेन । एकसाथ हामी रमाइलो गर्दै जानुको मज्जा कहाँ केबुलकारमा जाँदा हुन्छ र ! उकालो उरालो गर्दै पुगियो । त्यहाँ पुग्दाको खुशीले मलाई थकाई लागेको महसुस् नै भएन । सबै जनाले मिलेर पूजा आरधना गर्यौ । केहीबेर लोभ लाग्दो मन छुने हिमाल र हिउँसँगै नाच्दै फोटोहरु खिच्न व्यस्त भयौँ । जीवनमा पहिलो पटक नजिकबाट हिउँ छुन पाएको थिएँ । धेरै चिसो हुँदो रहेछ । पञ्जा लगाउँदा पनि हातमा चिसो आउने । हिउँ र त्यो सुन्दर हिमालसँग नाच्दै रमाउदै तस्बिरहरु लिन व्यस्त भयौँ । तस्बिरसँगै त्यहाँका बासिन्दासँग पनि गफगाफ गरियो । केही मात्रामा त्यहाँको बारेमा जान्ने मैका समेत पायौ ।
कालिञ्चाेक मान्दिरको महिमाशिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चाेक मन्दिरको साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न जातजाति, आदिवासि शेर्पा, तामाङ, थामि आदिको बासेबास रहेको पवित्र स्थल रहेछ यस स्थान ।
राजधानीबाट १ सय ३३ किमि उत्तर पूर्वमा पर्ने दोलखा जिल्लाको धार्मिक स्थल कालिञ्चोक पर्यटक प्रवद्र्धनका लागि प्रख्यात रहेको रहेछ । दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको जिल्लाको भौगोलिक दृष्टिले माात्र नभएर पर्यटक दृष्टिले पनि अत्यन्तै मनमोहक रहेको कालिञ्चोकमा बार्है महिना चिसो हावापानी हुने भएकाले बस्नको लागि उपयुक्त रहेको त्यहाँका बासिन्दा बताउँछन् ।
यतिकैमा रात पर्न लागेको थियो तर समय थोरै भए तापनि हामीले धेरै विषयको बारेमा जानकारी पायौँ । बेलुकाको ५ बजे हामी खाना खायौँ । त्यहाँबाट पुनः आफ्नो बसाई तिर फर्कियाैँ । सबैजना बीच म पनि बसमा चढेँ । मलाई आफ्नो मनको चाहना सबै पूरा भए जस्तै भएको थियो त्यो दृश्यले ।