काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित पत्रपत्रिकाले विभिन्न आर्थिक, राजनीतिक, समाजिक तथा अन्तराष्ट्रिय क्षेत्रका विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् । आजका प्रायजसो सबै पत्रपत्रिकाहरुले नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे चुनौती भएको समाचारलाई केन्द्रभागमा राखेका छन् ।
आइतबार जनता समाचार डट कम मा बौद्धमा गोली चल्यो, घाइतेको वीर अस्पतालमा उपचार हुँदै, सभामुख उम्मेदवारबारे अध्यक्ष दाहाल र वरिष्ठ नेताबीच छलफल हुँदै, पारवहन सम्झौता कार्यान्वयनमा आउँदै, चीनका सात बन्दरगाह प्रयोग गर्दै नेपाल, छिन्नमस्ताबासीको चिन्ता : यसपालीको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन ?’, आँधीका कारण ११ जनाको मृत्यु, महान्यायधिवक्ता खरेलले डाक्टरलाई भने– सर्वसाधारणले बुझ्ने अक्षर लेख्नुस् लगायतका शीर्षकमा प्रमुख समाचार सम्प्रेषण भए ।
गोरखापत्र दैनिकमा ‘चीनका बन्दरगाह नेपाललाई खुला’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा उल्लेख भएअनुसार नेपालले चीनका तियान्जिन, सेन्जेन, लियान्गाङ र झ्याङझियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएकाे छ । त्यस्तै नेपालले अबदेखि अनुमति लिएर सिगात्सेसम्म ढुवानीसमेत गर्न पाउने भएको छ ।
यसैगरी बदरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङचुङ्गोला गरी ६ वटा नाका प्रयोग गर्न सकिने भएको छ । समाचार अनुसार नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ ।
नागरिक दैनिकले चालु बजेटको अर्धवार्षिक विश्लेषण गर्दै ‘बलियो सरकारको कमजोर खर्च ’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको उल्लेख छ । वर्षको आधा समय बित्दासमेत ५२ अबृ रुपैयाा मात्र खर्च भएको र यसले बलियो सरकारलाई कमजोर देखाउको समाचारमा विश्लेषण गरिएको छ ।
विकासका सन्दर्भमा दुई तिहाई जनसमर्थनसहितको सरकारसँग जनताले ठूलो आशा राख्नुका मुख्य दुई कारण भएको र त्यसमध्ये एक राजनीतिक स्थिरता र दोस्रो अर्थमन्त्रालयको जिम्मेवारी अर्थशास्त्रीले हाँकिरहेको भएको पत्रिकामा विश्लेषण छ । त्यस्तै प्रदेश तीनको नाम बागमती र राजधानी हेटौंडा शीर्षकको समाचार पनि प्रथम पृष्ठमे प्रकाशन गरिएको छ ।
कान्तिपुर दैनिकमा संसद ‘बन्यो गुटबन्दीको बन्धक’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा आवरणमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएको कारण देखाइए पनि अन्तर्यमा दुई अध्यक्षबीच शक्तिसंघर्ष बढेको लेखिएको छ । सभामुख नभए संवैधानिक परिषदमा आफ्नो उपस्थिति शून्य हुने र राजनीतिक नियुक्तिमा पूर्व एमालेको एकलौटी हुने पूर्वमाओवादीको बुझाई रहेको समाचारमा विश्लेषण गरिएको छ ।
पत्रिकामा राजनीतिक आडमा क्रसरको मनपरी शीर्षकको अर्को समाचारले पनि शीर्षस्थान पाएको छ । मन्त्रीहरुले यससम्बन्धी कानुन नभएर प्रदेश सरकार नै मूकदर्शक बनिरहेको बताउने गरेको पनि समाचारमा लेखिएको छ ।