काठमाडौं । राजतन्त्र फालेर गणतन्त्र आएको दशक बित्यो । तर कैलाली जिल्ला भजनीका मोहनराज मल्ल अझै कैलालीमा राजाभन्दा कम छैनन् । मल्ल समाजले चिनेकै नाम र व्यक्तित्व हुन् । अघिल्लो सरकार अर्थात् शेरबहादुर देउवाका पालामा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
मल्लले गरेका आर्थिक अपराधको खाताबही लामो छ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले मोहनराज मल्ल, मल्लाका दाजु टेकराज र भाइ मदनबहादुरलाई कालोसूचीमा राखेको छ । कैलाली जानकी गाउँपालिका–४ मनुवाका ५२ परिवार थारु समुदायको ४ सय ५० बिघा जग्गा २०४२ मा बैंकमा धितो राखेर लिएको ऋण मल्ल दाजुभाइले अहिलेसम्म तिरिदिएनन् । ४० घर थारु समुदायको सर्वश्व हुने गरी आर्थिक अपचलन गरे पनि बैंकले कालोसूचीमा राखे पनि लोकतान्त्रिक गणतन्त्र शासनव्यवस्थामा नेपाली कांग्रेसको सरकारले मोहनराज मल्ल प्रदेश प्रमुख बनायो । तर सोझासाझा थारु समाज र वित्तीय संस्थाप्रति मल्लले गरेको आर्थिक ठगी निकृष्ट अपराधको श्रेणीमा पर्छ । सर्लाहीका मिटर ब्याजी श्याम परदेशी र रामवावु राय यादवलाई ठगीको मुद्दा चलाउने सरकारको ध्यान मल्ल दाजुभाइको कृत्यतर्फ आकर्षित हुनु पर्ने हो ।
२०४२ सालको घटना हो । पञ्चायतकालीन शासनव्यवस्था थियो । मोहनराज मल्लको शासक वर्गसँग उस्तै बाक्लो हिमचिम । सिंहदरबारमा पहुँच । गाउँमा मल्ल परिवारको शाही रवाफको वाफ । मल्लको आदेश नमान्नेले अनेक जोरजुलुम सहनु पथ्र्यो । उस्तै परे जालझेल गरी फसाइन्थ्यो । स्थानीय प्रशासन मल्लको इशारामा चल्ने अवस्था थियो । मल्ल दाजुभाइले चामल मिल स्थापना गर्ने सोच बनाए । थारु परिवारलाई उनीहरुको जग्गा धितो राख्न लालपूर्जा मागे । बैंकले तेश्रो पक्षको मञ्जुरीमा धनजमानी लिएर ऋण दिने व्यवस्था थियो ।
थारु समुदायलाई रोजगारी दिने लोभ देखाइयो । उद्योगमा शेयर दिने भनियो । जग्गा नदिने थारु समुदायका व्यक्तिलाई वन मुद्दामा फसाएर थुनियो । नक्कली प्रहरीमार्फत डर धम्की देखाइयो । थारु समुदायका बडघरलाई आफूतिर मिलाएर गाउँमा उर्दी जारी गरियो । अनेक हत्कण्डा प्रयोग गरेर ५२ घर परिवारलाई लालपुर्जा दिन बाध्य पारियो ।
२०४२ मा मल्ल दाजुभाइले ५२ घर थारु समुदायको ४ सय ५० बिघाको लालपुर्जा एकत्रित गरेर नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिए । मल्ल दाजुभाइले भजनी राइस मिल, मनुवा राइस मिल र दुष्यन्त राइस मिल स्थापना गरे । न कुनै थारु समुदायलाई रोजगारी दिए न त शेयर नै । थारु समुदायको जग्गा धितो राखेर तर मारे मल्ल समुदायले । उद्योग सञ्चालनका लागि ऋण लिएका मल्ल दाजुभाइले बैंकको न ब्याज बुझाए न साँवा । २०४२ मा लिएको लाखौं ऋण, ब्याज र जरिवाना बढेर करोड नाघ्यो । बैंकले पटकपटक ताकेता ग¥यो । तर मल्ल दाजुभाइले टेरपुच्छर लगाएनन् ।
बैंकले आर्थिक नियम र विनियमअनुसार, धितोमा राखिएको थारु समुदायको जग्गा लिलाम ग¥यो । धितो जग्गा बैंकको नाममा दाखिल खारेज गरियो । ५२ घर सोझा थारु समुदाय सिरिखुरी भए । सर्वश्व गुमेको अवस्थामा पुगे । कुनै कानुनी कारबाही र हारगुहारले मल्ल दाजुभाइलाई समाउन सकेन ।
मल्ल दाजुभाइ : जता मल्खु, उतै ढल्कु२०४७ सालसम्म राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडबाट मोहनराज मल्ल दाजुभाइबाट ऋणको साँवा ब्याज उठाउन निकै प्रयास गरियो । जग्गा धितोमा राखिएका थारु समुदायले पनि मल्ल परिवारलाई निकै अनुनय विनय गरे । विभिन्न निकायमा उजुरी दिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली धाए । तत्कालीन राजदरबारमा बिन्ती चढाए । तर कसैले कहीँबाट सुनुवाई गरेनन् ।२०४७ पछि बैंकले धितो जग्गा डाक गरी आफ्नो नाममा सा¥यो । मल्ल दाजुभाइलाई कालोसूचीमा राखियो । मामिला ऋण असुली न्यायाधिकरणमा पुग्यो । सिंहदरबार र तत्कालीन राजदरबारसम्म पनि सूचना पुग्यो । तर मल्ल दाजुभाइ निर्भय निष्फिक्री । मल्ल दाजुभाइ सम्भ्रान्त वर्गका हैसियत प्राप्त । काठमाडौंमा पनि थातथलो भएका । कैलालीको भजनी छाडेर काठमाडौं बस्न थाले । सोझा थारु अनुनय विनय गर्न काठमाडौंसम्म आए ।
२०४७ पछि राजनीतिक परिवर्तन भयो । २०७६ सालसम्म बनेका हरेक सरकार र प्रधानमन्त्रीसमक्ष थारु समुदायले निवेदन दिए । जग्गा निखनेर उकासी दिन आग्रह गरे । २०४७ पछि प्रधानमन्त्री बन्नुभएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी शर्मा ओली सबै प्रधानमन्त्रीलाई थारु समुदायले गुहारे । निवेदन दिए । तर मोहनराज मल्ल दाजुभाइलाई कसैले छुन सकेनन् ।
२०५२ सालमा माओवादी सशस्त्र विद्रोह शुरु भयो । जाली, फटाहा, ठग र सामन्तलाई जनकारबाही गरिन्छ भन्ने सुनेर थारु समुदाय माओवादी गुहार्न पुगे । तर मल्ल दाजुभाइ स्वयम् माओवादी पार्टीमा लागे । सरकारलाई माओवादी सशस्त्र द्वन्द्वका कारण उद्योग नचलेको भन्दै ढाट्दै ऋण नतिर्ने काम भयो । माओवादी सशस्त्र युद्धको भयले काठमाडौं विस्थापित भएको पनि भन्ने तर उता माओवादीलाई चन्दा दिएर थारु समुदायको उजुरी पनि तुहाउने । सबै प्रपञ्चमा सफल देखिए मल्ल परिवार ।
जग्गा धितोमा राखिएका थारु किसानले आफूलाई आवश्यकता पर्दा ऋण झिक्न पाएनन् । दाजुभाइबीच अंशवण्डा गर्न पाएनन् । असाध्य रोग लाग्दा उपचार गर्न जग्गा बेच्छु भन्दा पनि पाएनन् । कतैबाट उद्धार हुने कुनै संकेत नदेखेपछि मल्ल दाजुभाइले खाएको ऋण थारु समुदायले तिर्न निधो गरे । अन्याय, अत्याचार, शोषण र दमनको यो भन्दा अचाक्ली उदाहरण अरु के हुन सक्छ ?
ऋण खाए मल्ल दाजुभाइले, जग्गा बेचेर तिरे थारुलेमोहनराज मल्ल दाजुभाइका अगाडि पीडित थारुको अनुनय विनय काम लागेन । राज्यले पनि पीडित थारु समुदायको दुहाइ सुनेन । विलखबन्दमा परेका थारु समुदायले बैंकमा निवेदन दिए । हामी जग्गाको केही भाग बेचेर ऋण तिर्छौ भनेर कबुल गरे । मूलधन तिरेर जग्गा फुकुवा गरिदिन थारु समुदायले गरेको आग्रह बैंकले स्वीकार गरेन । ऋण असुली न्यायाधीकरणले थारु समुदायले साँवाको दोब्बर तिरे जग्गा फुकुवा गरिदिने निर्णय सुनायो । सम्पूर्ण थैली भुस हुन लागेको निराश बैंकलाई थोरै भए पनि असुल हुने आशा पलायो । साँवा ऋणको दोब्बर रकम तिर्न थारु समुदाय पनि सहमत भए ।
२०४२ मा मल्ल दाजुभाइले ५२ थारु परिवारको जग्गा राखेर लिइएको ६४ लाख १३ हजार ९ सय १५ रुपैयाँ ऋणको साँवा, ब्याज र जरिवानासमेत जोड्दा ३४ वर्षमा अर्बको हाराहारीमा पुग्छ । कानुनअनुसार, ऋण लिनेले भरिभराउ गर्ने दिनसम्मको साँवा, ब्याज र जरिवाना तिर्नुपर्छ । मल्ल दाजुभाइले राज्यको स्वामित्व भएको दुई बैंकको अर्बौँ साँवा ब्याज डुबाएका छन् । मल्ल दाजुभाइको यो कसुर क्षमायोग्य किमार्थ छैन ।
५२ घर थारु समुदायले जग्गा बिक्री गरेर, कुटुम्ब र नातागोतासँग ऋण लिएर, वैदेशिक रोजगारीमा कमाएको रकम र जग्गा खनीखोस्री गरेर खाइनखाई गरेको बचतबाट बैंकको ऋण चुकाएका छन् । ५२ थारु परिवारले लगभग एक करोड ४० लाख रुपैयाँ बैंकलाई तिरेका छन् । मल्ल दाजुभाइले लिएको ऋण थारु समुदायले पुख्र्यौली सम्पत्ति बेचेर तिर्नु पर्दा कति असह्य वेदना भयो होला ।
थारुको जग्गा राखेर ५२ घरपरिवार थारु समुदायलाई ठगी गर्नेर बैंकको अर्बको हाराहारीमा साँवा ब्याज र जरिवाना डुबाउने मोहनराज मल्ललाई पुरस्कारस्वरुप प्रदेश प्रमुख मात्र बनाइएन । सरकारले उनको उपचारका लागि थप ३६ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
मल्ल दाजुभाइले खाएको ऋण आफ्नो जग्गा बेचेर तिरेपछि बैंकले जग्गा फुकुवा गरेर लालपुर्जा थारु समुदायलाई फिर्ता गरेको छ । लालपुर्जा फिर्ता पाएका सोझा थारु समुदायले गज दिएर थान जोगाइयो भन्दै खुशियाली मनाएका छन् । गाउँमा सामुहिक भोज गरेका छन् । सिधासाधा थारु र राज्यको बैंक डुबाउने मल्ल दाजुभाइलाई राज्यले छोएन । सोझा थारुलाई परलोकको राज्यले केही गर्ला भन्ने आशा छ ।
https://www.youtube.com/watch?v=uehsOY_JdYk