पुष्पराज अधिकारी हेटौंडा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगीतामा उपाधी जितेका मकवानपुरका खेलाडीलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले विजेता १३ खेलाडी र पाँचजना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा खेलाडीतर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, कराँतेका महशुस मोक्तान, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले नगद एकलाख र जिल्ला समन्वय समितिले नगद २५ हजार पुरस्कार प्रदान गरेको छ ।
रजत पदक विजेता उसुकी शिलु डंगोल, बास्केटबलकी माया स्याङ्तान र निकेश मगर र हेन्डबलकी देवकुमारी बाँस्कोटालाई उपमहानगरपालिकाले नगद ७५ हजार र समन्वय समितिले २० हजार प्रदान गरेको छ ।
कास्य पदक विजेता कराँतेकी रिता कार्की, उसुका हरिप्रसाद गोले, खोखोका राजन बल, बक्सिङका पुरन राई र विकास लामालाई उपमहानगरपालिकाले जनही नगद ५० हजार र समितिले १५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
प्रशिक्षकतर्फ बक्सिङका लालबहादुर पौडेल, कराँतेका नरेन्द्र श्रेष्ठ, तेक्वान्दोका माधव कोइराला, फुटबलका विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई पनि सम्मान गरिएको छ । प्रशिक्षकलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ र जिल्ला समन्वय समितिले ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानअघि खेलाडीलाई फूलमाला, नेपालको झण्डा र बाजागाजासहित हेटौंडा उपमहानगर परिक्रमा गराइएको थियो ।