काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित पत्रपत्रिकाले विभिन्न आर्थिक, राजनीतिक, समाजिक तथा अन्तराष्ट्रिय क्षेत्रका फरक - फरक विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् । आजका सबै पत्रपत्रिकाले नुवाकोटको तारुका चन्दनीमा माघे संक्रान्तिका अवसरमा आयोजना गरिएको गाेरु जुधाउने मेलाबारेको समाचारलाई महत्वका साथ समेटेका छन् ।
बुधबार जनता समाचार डट कम मा जनयुद्धमा मारिएका ५ हजारको जिम्मा मेरो : अध्यक्ष दाहाल, अख्तियारद्वारा राजपाका २ केन्द्रीय नेतासहित ६ जनालाई भ्रष्टाचारको मुद्दा दायर, बिहानै आगलागी, तीन घर जलेर नष्ट, ढुङ्गा हानेर मारियो घलेलाई, दुईजना पक्राउ, कांग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, भन्सार छलेर मोबाइल बिक्रिमा, पसलबाटै बरामद र नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा कडाइ लगायतका शीर्षकमा प्रमुख समाचार सम्प्रेषण भए ।
गोरखापत्र दैनिकमा ‘एकैदिन ४२ अर्ब राजश्व शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचार अनुसार सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलबार ४२ अर्ब ४६ करोड रुपियाँ राजश्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको पत्रिकामा उल्लेख छ ।
राजस्व सङ्कलन लक्ष्य जसरी पनि पूरा गर्ने बाध्यतामा रहेको सरकारले एकै दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैर कर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८.९५ प्रतिशत हो । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने सरकारले लक्ष्य राखेको भएपनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोष्ट् दैनिकले अर्थतन्त्र ओरालोतिर शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार सरकार, निजी क्षेत्र र घरायसी क्षेत्रबाट हुने लगानी र खर्च शिथिल हुँदा अर्थतन्त्र ओरालो लागेको हो । पछिल्लो समय अर्थतन्त्र ओरालो लाग्नुका कारणहरूमा कर्जा विस्तारमा ब्रेक लागेको, सरकारी खर्च सुस्त देखिएको, राजस्व असुलीमा धक्का लागेको, विप्रेषण आप्रवाहमा कमी आएको र उपभोगमा कमी देखिएको समाचारमा विश्लेषण गरिएको छ ।
यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताउनुभएको समाचारलाई पनि पत्रिकाले प्रथम पृष्ठमै समेटेको छ ।