काठमाडौंं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटीमा बुधबार साँझ बा.१ ग २११८ नम्बरको गाडी सडकबाट करिब सय मिटर तल खस्दा सशस्त्र प्रहरी सेनामुख बाग्लुङ दरबन्दीका प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केसीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाराको महागढीमाई नगरपालिका–२ मा बुधबार दिउँसो बीआर०५ पीए ०५३५ भारतीय नम्बरको टेम्पोको ठक्करबाट भारत मोतीहारी बस्ने सुजित साहको ४ महिनाकी छोरी ज्योती साहको घटनास्थलमै मृत्यु भएको छ । शिशुलाई बोकेर हिँडिरहेकी हजुरआमालाई टेम्पोले ठक्कर दिँदा शिशु हातबाट खस्न गई घटनास्थलमै मृत्यु भएको हो ।
बाराकै महागढिमाई नगरपालिका–७ बेनौलीचोकमा बुधबार साँझ बीआर०५ ए एफ ३३३७ नम्बरको स्कुटरमा सवार भारत आदापुर थाना बेलदरवा बस्ने विजय साहको ५ वर्षीय छोरा रिदम साह स्कुटरबाट खस्दा ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहामा बुधबार साँझ को.१३ प ४६९३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ७० वर्षीय छेतधर्नु खाँ थारूको विराट मेडिकल अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सप्तरीको बलान बिहुल गाउँपालिका–२ पतराहामा बीआर३२ जेट ७५९९ नम्बरको मोटरसाइकलले बुधबार साँझ साइकललाई ठक्कर दिँदा साइकलयात्री बिहुल गाउँपालिका–६ बस्ने ६५ वर्षीय कुसुमलाल रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कैलालीको भजनी नगरपालिका–८ सुनाफाँटामा से.१ प ९९३० नम्बरको मोटरसाइकलले बुधबार दिउँसो ठक्कर दिँदा ६० वर्षीया टुन्टी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनी हुँदै मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकमा बिहीबार बिहान ना.७ ख ८१४१ नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका करिब ३५ वर्षका पहिचान नखुलेका पैदलयात्रीको मृत्यु भएको हो ।
काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट ललितपुर ईमाडोल बस्ने ५० वर्षीय रामहरी देउजाको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।