दिपक चौरसीयावीरगञ्ज । चिनी उद्योग बन्द हुँदा आठ मजदुरले ज्यान गुमाएका छन् । वीरगञ्ज पिपरास्थित चिनी कारखाना लिमिटेड विगत १८ वर्षदेखि बन्द हुँदा मानसिक तनावका कारण त्यहाँ कार्यरत आठ कर्मचारीले ज्यान गुमाएका हुन् ।
श्रमिकका लागि कुनै किसिमको व्यवस्था नगरी २०५९ सालमा बन्द भएको कारखानामा २०६० मा श्रमिकका लागि अवकाश खोलिए पनि धेरैले अवकाश पाएका छैनन् । कारखाना सञ्चालनका समयमा ७ सय ३१ कर्मचारी कार्यरत रहेकोमा हालसम्म १ सय ९३ जनाले अवकाश नपाएको र त्यसमध्ये मानसिक तनावका कारण ८ जनाले ज्यान गुमाइ सकेर १ सय ८५ जना अवकाश पाउनको लागि पर्खाइमा रहेका छन् ।
लामो समयदेखि बन्द रहेको कारखानाका भौतिक संरचना पनि दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । वि.स. २०१९ सालमा पूर्ण रुपमा सरकारी स्वामित्वमा स्थापित कारखाना २०५९ साल चैत ७ गतेदेखि बन्द भएको थियो । अर्बौँको लगानीमा तत्कालीन सरकारले जर्मनबाट उपकरणहरु ल्याइ चिनी कारखाना सञ्चालन गरिएको थियो । कारखाना सञ्चालन बखत प्रतिदिन १० हजार क्वीन्टल उखु पेल्ने क्षमता रहेकोमा २०३४ सालमा उत्पादन क्षमता वृद्धि गर्दै प्रतिदिन १५ हजार क्वीन्टल उखु पेल्ने बनाइएको थियो ।
यस अवस्थामा चिनी कारखाना सञ्चालन हुँदाहुँदै तत्कालीन ज्ञानेन्द्र शाहको शासन कालमा २०५९ चैत ७ गते निजीकरण ऐन अन्तर्गत कारखाना खारेज भएको सूचना टाँस गरिएको थियो । त्यस दिनदेखि बन्द रहेको चिनी कारखाना हालसम्म सञ्चलानमा आउन सकेको छैन ।
चिनी कारखानाका इन्जिनियर प्रहलाद कोइरालाका अनुसार हालसम्म चिनी कारखानाको आर्थिक तथा भौतिक क्षति भएको छैन् । सरकारले ३० देखि ३५ करोड उपलब्ध गराए सजिलै कारखाना सञ्चालन गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।
चिनी कारखानासँग सम्पत्ति पनि नभएको होइन, त्यसलाई सदुपयोग मात्रै गर्न सकिएको छैन । कारखानाको शेयर लगानी कृषि विकास बैंकमा ४ सय २४ कित्ता, बुटवल धागो कारखानामा ८५ हजार कित्ता, नेपाल ल्युब आयल लि. मा ९५ कित्ता, नेपाल कोल लि. मा ५ हजार ७ सय कित्ता, आर्थिक सेवा केन्द्रमा २ हजार ५ सय कित्ता, श्रीराम सुगर मिल्स लि. मा ८५ हजार कित्ता, राष्ट्रिय वचत पत्र २०६० मा ३० लाख, नेपाल बैंक लि. मुद्दती खातामा २५ लाख रहेको छ । यसैगरि बारा जिल्लाको सिमरामा ८ सय ३२ विघा जग्गा (३० अर्ब), कारखाना परिसर ५० विघा १० कठ्ठा ( २८ अर्ब), बहुअरीमा १४ विघा १५ कठ्ठा ( २५.६६ अर्ब), काठमाडौंमा ३.५ रोपनी ( ३.४ अर्ब) भवन ०.१५ अर्ब, प्लान्ट एवं मेशिनरी ०.५० अर्ब गरी करिब ६२.४३ अर्बको सम्पत्ति रहेको छ ।
कर्मचारीले चिनी कारखानालाई संचालन गर्न संघीय सरकारदेखि प्रदेश सरकारसम्मको ढोका खटखटाउँदा पनि कुनै किसिमको सुनुवाइ नभएको कर्मचारीहरुको गुनासो छ ।