काठमाडौं । सुर्तिजन्य पदार्थ तथा पान मसलालगायतका वस्तुको अवैध रुपमा भन्सार छली गरेर कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षीय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षीय नारायण बोगटी, र गौरिघाट बस्ने भारत छपराका ४५ वर्षीय उदय भनिने शरण कुमार सिंह रहेका छन् ।
उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टस लगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याइ सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंह बताउनुभयो ।
उनीहरुबाट रजनिगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनिगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशर युक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको ८१२ डिब्बा, कालो सुर्नीको प्याकेट ४५५० थानसमेत बरामद गरिएको छ ।