पुष्पराज अधिकारी मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा सिफारिस दुई जनाले सपथग्रहण गर्नुभएको छ ।
प्रदेश लोकसेवा आयोगमा सिफारिस भएका सदस्यमा सुदर्शन ढकाल र शर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गर्नुभएको हो ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, मुख्यमन्त्री डोरमणि पौडेल तथा सभामुख सानुकुमार श्रेष्ठको उपस्थितिमा सदस्यद्वयलाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सपथ ग्रहणसंँगै बागमती प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रसाईँले संविधानले दिएको अधिकारलाई समुचित प्रयोग गर्दै प्रदेशको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्न आयोगलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सहमतिमा माघ ५ गते दुईजना सदस्य सिफारिस गरिएको थियो । सिफारिस हुनुभएका प्रदेश लोकसेवा आयोगका सदस्य ढकाल पूर्व सहसचिव हुन् भने न्यौपाने टिचिङ अस्पतालमा अध्यापन गराउँदै आउनुभएको थियो ।
प्रदेशसभाबाट गत भदौ १४ गते लोकसेवा आयोग गठनसम्बन्धी विधेयक पारित भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिले गत कात्तिक २९ गते अध्यक्षमा सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको थियो ।
प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष हुने व्यवस्था रहेकाे छ ।