भगीरथ भण्डारी इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान अभिनारायण पौडेलले एकवर्ष अघिसम्म दुई लाखसम्मको सुन्तला बेचेका थिए तर यस वर्ष उनले दश हजारको मात्र सुन्तला बेचेका छन् । उनकोे बगानमा रोगले संक्रमण गरेको छ । १० रोपनीसम्म फैलिएको सुन्तला अहिले पाँच रोपनीमा मात्रै रहेको पौडेल बताउँछन ।
इलाम नगरपालिका पाँचकै कमलकुमार सुवेदीको पनि पीडा पौडेलको जस्तै छ । तीन रोपनीबाट खेती गर्न शुरु गरेका उनले खेती विस्तार गर्दै सात रोपनी पुर्याएका थिए । रोग नलाग्दा सुन्तलाबाट मात्रै डेढ लाखसम्म आम्दानी गरेका उनको अहिले १० हजार रुपैयाँ मात्रै आम्दानी हुन थालेको छ । सुवेदी भन्छन, ‘सुन्तला खेतीबाट निराश भएर अहिले कफी खेती गर्न थालेको छु ।’
त्यसैगरी २० रोपनीबाट व्यवसायिक सुन्तला खेती शुरु गरेका रोङ्ग गाउँपालिकाका व्यवसायिक किसान टंक थापा अहिले एभोकाडोको स्याहार चाकरमा व्यस्त छन । रोगले सुन्तला बगान नै सखाप बनाउन थालेपछि वैकल्पिक खेतीको रुपमा एभोकाडोको खेती शुरु गरेका हुन् । उनी सुन्तला बगानलाई यथावत बनाइ राख्न सकिन्छ कि भनेर सुन्तला मरेका ठाउँमा नयाँ विरुवा रोप्दैछन । सुन्तला मर्ने क्रम बढेपछि अहिले उनी एभोकाडो रोप्न शुरु गरेका हुन । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाँचदेखि १० लाख रुपैँयासम्म आम्दानी गर्ने गरेका थिए । वार्षिक तीन करोड रुपैयाँसम्म सुन्तलाबाट आम्दानी हुने इलाममा रोगको संक्रमणले सुन्तलाका बगान मासिदै जान थालेपछि किसान चिन्तित भएका छन् । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दाबढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए । अहिले २० बगान मात्रै बाँकी छ । दुई सय ३०
बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाइ छ । सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर सुन्तलाका बगान माँसिदै गएको छ ।सुन्तला किसानको मुख्य आम्दानीको स्रोत मात्रै होइन रोङ्ग गाउँपालिकामा पर्यटक भित्र्याउने मुख्य आर्कषणको बाली समेत हो । पालिकामा पुनः व्यवसायिक खेती गर्नको लागि किसानलाई जागरुक गराउन पालिकाले किसान विशेष कार्यक्रम सुचारु गर्न लागेको वडा नम्बर ६ का वडाध्यक्ष समेत रहनुभएका रोङ्ग गाउँपालिकाका प्रवत्ता मनिकुमार स्याङ्गबो ‘सुवास’ तामाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२० परिवालाई पाँच लाख बजेट विनियोजन गरेका छौँ । यसबाट सुन्तलाको समस्या पहिचान गर्ने र माटो विशेषज्ञसँगको सल्लाहमा अग्र्यानिक खेतीमा जोड दिनको लागि समिति समेत गठन गरिसकेको छ । संघ र प्रदेशसँग सुन्तला जोन कार्यक्रम माग समेत गरिएको छ ।’ यसले सुन्तला खेतीलाई व्यवसायिक खेती बनाउन चाहनेलाई राहत मिल्ने प्रवक्ता तामाङ्गको भनाइ छ ।
कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार तीन सय २४ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसबाट तीन सय पाँच मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको थियो । यस्तै आव २०७५/०७६ मा भने तीन हजार एक सय हेक्टर क्षेत्रफलमा सिमित भएको पाइएको छ । उत्पादन भने दुई सय ९५ मेट्रीक टन भएको छ । इलामका सुन्तला विर्तामोड, दमक, विराटनगर, धरान, पोखरा, काठमाडौं लगायतका बजारमा पुग्थ्यो ।
भारतको दार्जिलिङदेखि कोलकत्तासम्म इलाममा उत्पादित सुन्तला अहिले पनि लोकप्रिय छ । जिल्लाभरीको सुन्तलाबाट इलाममा वार्षिक करिब ११ करोड रुपैयाँसम्म जिल्ला भित्रिएको कार्यालयको तथ्यांक छ । कार्यलयका अनुसार जिल्लाका इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ ।