सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरामा रिसोर्ट, जहाँ हिटरको कारण पर्यटकले जीवन गुमाए
काठमाडौं । हिटर मानिसको उपयोगी उपकरण । प्रयोग गर्न जाने चिसोबाट बचाउँछ यसले, नजान्दा जीवनै सिध्याउँछ त्यसले । सामान्य हेल्चेक्याइँले क्षणमै गुम्छ जीवन । हिटर बाल्नेक्रममा सावधानी नअपनाउँदा धेरैले जीवन गुमाउने गरेका छन्। मकवानपुरको सिमभञ्ज्याङमा मंगलबार त्यस्तै दुखद् घटना भएको छ । नगरपालिकाको वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको हिटरकै कारण मृत्यु भएको छ ।
सिमभञ्ज्याङ त्यसै त चिसो ठाउँ, केहीदिन देखिको हल्का वर्षाले जाडो असाध्यै बढिरहेको छ । वरपरका डाँडाले हिउँको घुम्टो नै ओडिरहेका छन् । त्यही हिउँको आनन्द लिँदै पानोरामा रिसोर्टमा बसेका थिए भारत केरलाका १५ नागरिक । उनीहरू पाेखरा हुँदै सिमभञ्ज्याङ आएका हुन् । न्यानो पार्न होटलका कोठैपिच्छे ग्यास हिटर बालिएको थियो । तर कोठामा भेन्टिलेटर थिएन । काेठाका सबै झ्याल ढोका थुनिएको थियो । त्यस्ताे अवस्थामा ग्यास हिटर बालिएकाे थियाे । त्यही कारण दुई परिवारका ८ जना बेहोस भए । अचेत अवस्थामा रहेका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । उपचारको लागि हेम्स अस्पताल पुर्याइयो । अफशोच उनीहरू बाँचेनन् । अस्पतालले उनीहरुलाई तत्कालै मृत घोषित गर्यो ।
मृत्यु हुनेमा ३९ वर्षीय प्रविण कृष्ण नायर, उनकी पत्नी ३४ वर्षीय सरायाना, उनीहरुका ६ वर्षीया छोरी आर्छा, ४ वर्षीया छोरी सर्विन्द्रा र ५ वर्षीय छोरा अभिनभ छन् । त्यसैगरी ३९ वर्षीय रञ्जित कुमार, उनकी पत्नी ३४ वर्षीया इन्दु रञ्जित र उनीहरुका दुई वर्षीय छोरा छन् ।
ग्यास हिटर बाल्दा पुरै झ्याल ढोका कहिल्यै बन्द गर्नु हुँदैन । किन कि ग्यास हिटरबाट कार्वनमनोअक्साइड ग्यास निस्कन्छ । त्यो ग्यास निकै हानिकारक हुन्छ । त्यसले मानिसको ज्यानै जान सक्छ । दामनमा पनि त्यही भएको हो ।ग्यास हिटर बालेका बेला अपनाउनु पर्ने सामान्य तरिका नजाँँन्दा उनीहरुले अनाहकमै जीवन गुमाउन पुगे ।