प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका धनुषाका उमेश यादव अन्ततः नेपाल फर्किएका छन् । सामाजिक अभियन्ता सरोज रायको पहलमा उमेश यादवले नयाँ जीवन पाएका हुन् । उनी बुधबार मात्रै नेपाल फर्किएका हुन् ।
मृत्युदण्ड सुनाइए पनि ३० लाख ब्लड मनी तिरेपछि पीडित पाकिस्तानीका परिवार उमेशलाई आममाफी दिन तयार भएका हुन् । पीडित परिवारले आममाफी दिन तयार भएकाले पनि आफूले नयाँ जीवन पाएको उमेशको भनाइ छ । यो सबै मिलाउन सरोज रायले अथक प्रयास गरेका थिए । तर आफूलाई छुटाउन नेपाल सरकारबाट पहल नभएको उमेशको गुनासो छ । .उनले जनता टेलिभिजन र जनता समाचार डट्कमसँग भने– ‘म त बाँचेँ, अझै ५ जनालाई मृत्युदण्ड दिने तयारी भइरहेको छ । उनीहरु घरपरिवार सम्झिँदै फाँसी पर्खिरहेका छन् ।’
उमेश यादवलाई बचाउनकै लागि सरोज राय तीन पटक पाकिस्तान र एकपटक साउदी अरब पुगेका थिए । नेपालस्थित पाकिस्तानी दूतावास, परराष्ट्र मन्त्रालयमा कैयौँपटक धाएका थिए, अनि बल्ल उनलाई पाकिस्तानी दूतावासले भिसा दिएको थियो ।
धनुषाका उमेश यादव सन् २००७ मा वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । साउदी गएको ६ महिना नपुग्दै त्यहाँ एउटा घटना भयो । आपसी विवादपछि झडप भएको र त्यसमा पाकिस्तानी कामदार मोहम्मद लतिफको मृत्यु भएको थियो । त्यहाँको अदालतले आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा लतिफलाई उमेश यादवले रड हानेर हत्या गरेको फैसला सुनाएको थियो । उनीसँगै त्याे घटनामा उनका भाइ दिनेश यादव पनि पक्राउ परेका थिए । तर छ महिनापछि रिहा भएर उनी घर फर्केका थिए । उमेशलाई भने त्यहाँको पुनरावेदन अदालतले २०७५ वैशाख २ गते मृत्युदण्ड दिने फैसला गरेको थियो ।
यसअघि जनरल कोर्टले २०७३ चैत २ मा उमेश यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । तर, जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले त्यहाँको पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । सोही पुनरावेदन अदालतले उमेशलाई मृत्युदण्डको फैसला सुनाएको थियो । सोही मृत्युदण्डको समाचार थाहा पाएर अभियन्ता सरोजले उनको ज्यान जोगाउन पहल थालेका थिए । त्यसैक्रममा उनले यदि लतिफका परिवारले माफी दिए उमेशलाई उमेशलाई बचाउन सकिन्छ भन्ने कुरा थाहा पाए, त्यसपछि लतिफको परिवारलाई भेट्न उनी पाकिस्तान पुगेका थिए ।
https://youtu.be/dEun2zjUEB4?t=720
मृत्युदण्डको फैसला हुनुअघि नै २०७४ फागुन पहिलो हप्तादेखि नै सरोज ‘उमेश बचाउ अभियान’ मा लागेका थिए । उनी पहिलो पटक २०७५ वैशाख ९ गते नेपालबाट पाकिस्तानको कराँची पुगेका थिए । त्यहाँ गएर उनले लतिफका परिवारलाई भेट्नुको साथै कानुनी प्रकृया पनि शुरु गरे । पीडित परिवार पनि उमेशलाई माफी दिन राजी भए, तर त्यसका लागी ३० लाख ब्लड मनी दिनुपर्ने थियो । सहयोग संकलन गरी पीडित परिवारलाई साउदीस्थित नेपाली दूतावासमार्फत ब्लडमनी बुझाइयो । अन्ततः सरोजले थालेको पहलमा उमेश यादव रिहा भएर नेपाल फर्कन सफल भएका हुन् ।
https://www.youtube.com/watch?v=zG65IwVwfkk&feature=share