काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो । नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । ८ सरकारी विद्यालयमा ४ हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ७५ लाख रुपेयँ विनियोजन गरिएको बताउनुहुन्छ । ‘दैनिक २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं’, उहाँले भन्नुभयो ।
बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ छ । नगरपालिकामा ८ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन् । टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर ७ लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ ।
नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउनुहुन्छ । ‘पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो’, उहाँ भन्नुहुन्छ ।
नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ । नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ । संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ ।
शिक्षा शाखा प्रमुख गौतम सबै वडामा सामुदायिक विद्यालय स्थापना गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउनुहुन्छ । ‘आगामी दिनमा निजी विद्यालय बन्द भयो भने सामुदायिकमा विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्छ, त्यसका लागि पनि सामुदायिक विद्यालय आवश्यक छ’, गौतम भन्नुहुन्छ ।
नगरपालिकाले हरेक वर्ष नगरभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिरहेको छ । अभिभावकलाई लक्षित गरी घरमा हुने लैङ्गिक हिंसा र विद्यार्थीको गुणस्तरीय शिक्षासम्बन्धी २ वटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
महिलाको शिक्षालाई ध्यानमा राखेर नगरपालिकाभित्र छुट्टै महिला वैकल्पिक विद्यालय चलाइएको छ । नयाँ बसपार्कमा निर्माण गरिएको चेतना महिला विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । त्यो विद्यालयको शिक्षाको विकासका लागि टोखा नगरपालिकाले सहयोग गरेको छ ।