काठमाडौं । सवारी दुर्घटना हाम्रो नियत बनिरहेको कि, हामी कतिखेर कहाँ पो मरण हुन्छौँ कि ? सवारी दुर्घटनामा ठूलो संख्यामा मानिस मरिरहेका छन् । व्यवस्था नै बदल्न सक्ने जनशक्ति दुर्घटनामा मरिरहेका छन् । कतै बाटो खराब । कतै मोटर खराब । कतै चालक खराब । समग्रमा चैँ यात्रामा हिँडिरहेका तपाईं हामीजस्ता निर्दोष यात्रुको जिन्दगी खराब । हामीले कहिल्यै पनि दुर्घटनामा घाइते भएर बाँचेकाहरुको जिन्दगी कसरी बितिरहेको छ ? भनेर देखाउन सकेनौँ । बस मरेकाको संख्या गनेर, धेरै देखाएर तर्साइरह्यौँ । समग्रमा चैँ, यातायात सुविधाले जति हामी खुशी छौँ, त्यति नै जिन्दगी अमिलो भएको, क्षणभरमै सकिएको छ । यसको कारण हो यातायात दुर्घटना । विश्वभर वर्षमा ८ लाख मानिस दुर्घटनामा मरिरहेका छन् । भारतमा मात्रै एक लाख ५० हजारको जीवन दुर्घटनामा सकिएको छ । नेपालमा पनि दैनिक ७ जनाले यातायात दुर्घटनामा जीवन गुमाइरहेका छन् । यात्रा एकदम असहज बनेको छ । अव्यवस्थित बनेको छ । असुरक्षित बनेको छ र, कानुन कडा भए पनि कमजोर प्रशासनका कारण यात्रामा सामूहिक हत्या भइरहँदा पनि मार्नेहरु जोगिएका छन्, मर्नेहरु नै दोषी सावित भइरहेका छन् ।
अनाहकमा सडकमै अन्त्य मानव जीवनबैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोलाकी रमिता भट्ट र कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का प्रकाश टेरको वैवाहिक समारोह नजिकिँदै थियो । डेढ वर्षअघि ब्राह्मण परिवारको छोरी रमिता र क्षेत्री परिवारका छोरा प्रकाशले आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए । तर केटी पक्षलाई यो विवाह मन परिरहेको थिएन । केटा पक्षको अथक प्रयासपछि माघ १३ गते विवाह तय भएको थियो । दुवै पक्ष विवाहको तयारीमा जुटे । प्रेम सफल हुँदै विहेको रौनकमा सबै रमाउँदै थिए । सरसामान जुटाउने, निम्तो बाँड्ने काम चलिरह्यो । रमिता पनि खुशी भएर सघाइरहेकी थिइन् । र, यो खुशी विहीबारसम्म कायम रह्यो । बिहेका निम्तो बाँड्दै हिँडेकी रमितालाई ग्राभेल बोकेर कञ्चनपुर बजार प्रस्थान गरिरहेको से १ क आठ आठ सात नम्बरको ट्रिपरको ठक्कर दियो । रमिता सडकमै बजारिन पुगिन, क्षणभरमै जीवन अस्तायो ।
श्रीमानले फेसबुकमा लेखे भावविहल हुँदै ः तिम्रो लागि रातो सारी ल्याइदे’को छु नि बुढी, । पर्सि हाम्रो बिहे हो । काँ गा’छस् ? छिटो आइज ! मलाई जीवनभर साथ दिन्छु भनेर बीचमै छाडेर किन गयौ ? सारा सपना भताभुंग भए, जिन्दगीका रंगीन सपनाको संग्रह किचिमिची भयो । महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत रमिताको माइतीले खुट्टा धोएर बिदाइ गर्ने सपना टुट्यो । यस्ता धेरै युवाका सपना ट्रिपरले किचेको छ ।
पुस २४ गते शुक्रबार एकाबिहानै धनुषाको मिथिला वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनिने दीलिपकुमार महतोको टिपरकै ठक्कर ज्यान गयो । एकैछिनमा घटनाबारे तथ्यहरू सार्वजनिक भए । अवैध बालुवा उत्खनन्को विरोध गर्दा हत्या गरिएको रहस्य खुल्यो । चर्को विरोध भयो । केही दिन सडकमा आन्दोलन गरियो । अन्ततः जनता थाके, आन्दोलन अलपत्र प¥यो । यो समस्या देशैभर छ । त्यसमा काठमाडौंमा अझ बढी छ । २०७६ असार २६ गते बा ८५ प सात एक छ नम्बरको मोटरसाइकलमा सवार १८ वर्षीय रोयल सुवेदीलाई भक्तपुर सल्लाघारीमा बा ४ ख आठ सात दुई पाँच नम्बरको टिपरले किच्दा घटनास्थलमै मृत्यु भयो ।
निर्दयी छ टिपर । सर्वसाधारणलाई देख्दैन, किनकी ऊ शक्तिशाली छ । २०७६ जेठ ३० गते जडिबुटीमै टिपरको ठक्करले २४ वर्षीय अस्मिता भण्डारी घाइते बनिन् । सडकमा रगतले लट्पटिएर पीडामा छट्पटाउँदै ज्यानको भिख मागिरहिन् । निर्दयी टिपर चालकले ब्याक गरेर भण्डारीको ज्यान लिए । माथिका सबै घटना उदाहरणीय घटना हुन् । यस्ता कैयौँ घटना छन्, जहाँ ज्यान बचाउने सकिने युवालाई टिपरले ब्याक गरेर मारेको छ । काठमाडौं उपत्यकामा टिपरको आतंकपछि नै हो, साँझ ८ बजेदेखि बिहान ५ सम्म टिपर चलाउने नियम लगाइयो । अदालत पुगेका थिए टिपर व्यवसायी । अन्याय भयो भन्दै, अदालतले व्यापार भन्दा जनताको ज्यान ठूलो भनेपछि यो नियम कायम रह्यो ।
चालकलाई कहिलेसम्म माफ ?सवारी संख्यासँगै दुर्घटनाका घटना बढिरहेको छ । सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरवाही तथा सरकारी गैरजिम्मेवारीका कारण सवारी दुर्घटना बढ्दै गएका हुन् । प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक ३० देखि ४० सवारी दुर्घटना हुन्छन्, दैनिक ७ जनाको मृत्यु र १० जना घाइते हुन्छन् । साउन १ गतेदेखि हालसम्म सवारी दुर्घटनामा ६ हजार ३६ दुर्घटनामा ९१ जनाको मृत्यु भएको छ । जसमा टिपर र ठूला सवारीमात्र १ हजार १ सय ११ छन् । तथ्यांक अनुसार कात्तिर र मंसिरमा सबैभन्दा बढी दुर्घटना भएका छन् । त्यसमध्ये ३० प्रतिशत बालबालिका छन् ।
मंसिर ११ गते भयानक दुर्घटनामा १९ जनाले ज्यान गुमाए । मृत्यु भएको करिब २४ घण्टापछि मात्र सनाखत भयो । त्यही दिन हुम्लाको उत्तरी गाउँपालिकास्थित नाम्खामा लु ४ ख तीन दुई छ नौ नम्बरको टिपर दुर्घटनामा चारजनाले ज्यान गुमाए भने १३ जना घाइते बने । यस्तै, दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २० जना घाइते भए । घोराहीबाट प्युठान जाँदै गरेको ना ३ ख छ पाँच चार दुई नम्बरको बस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भयो । सिन्धुलीबाट बर्दिबास जाँदै गरेको ना २ त आठ नौ तीन दुई नम्बरको ट्रयाक्टर महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर ३, पाटुमा अनियन्त्रित हुँदा सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय दिनेश सिंह दनुवारको मृत्यु भयो । यस्तै, मंसिर १६ गते गुल्मीबाट बागलुङ जाँदै गरेको ग १ ज पाँच दुई एक नौ नम्बरको जिप तुरतुरे ताल अगाडि दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । १४ जनाले घटनास्थलमै र बेपत्ता एकजना मृत भेटिए । दुर्घटनाले ठूलो जनधन क्षति भइरहेको छ ।
प्रहरीका अनुसार, काठमाडौं उपत्यका बाहिर दुर्घटना बढ्दो छ । सडकको अवस्था र तीव्र गतिका कारण दुर्घटना बढेका छन् । सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले र चालकको लापरवाहीले दुर्घटना बढेका हुन् । मंसिर १८ गतेसम्म प्रदेश १ मा १६, प्रदेश २ मा ३१, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा २२, प्रदेश ५ मा ३०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा पनि १० जनाले ज्यान गुमाएको तथ्यांक छ ।
असुरक्षित सडक, खोइ कानुन ?सर्वसाधारणको एउटै प्रश्न छ, सडकमा दुर्घटना कहिले कम होला ? सडकमा निस्किएका हरेक नागरिक असुरक्षित छन् । कञ्चपुर बस्ने बैतडीकी रमिता घरबाट निस्किएको आधा घण्टामै मृत्युको मुखमा पुगिन् । सडकमा सर्वसाधारण निस्किनै हुन्न, अचेल सवारी आएर किचेको पत्तै हुन्न । सरकारले ऐन कानून बनाएको छ । कैदको कानूनी व्यवस्था छ । काठमाडौंमा सवारी दुर्घटना रोक्न, महानगरीय ट्राफिक प्रहरी महाशाखाले अझ टाइम कार्ड उपलब्ध गराएको छ । ओभरलोड निर्माण सामग्री नराख्न र कागजात बोकेर हिँड्न भनिएको छ । तर, कार्यान्वयन हुनसकेको छैन । कानुनमा कडाइ गर्न र सरवारीका ती गतिविधि नियन्त्रण गर्न राति ९ बजेदेखि ११ बजेसम्म विशेष अपरेसन पनि चलाइन्छ । विशेष रूपमा जाँच हुुन्छ, टिपरका गतिविधि निगरानी र नियन्त्रण अभियान सञ्चालित छन् । काठमाडौंमा केही मात्रामा कम भए पनि अन्य स्थानमा आतंक उस्तै । प्रहरी भन्छन् ः कानुन मान्दैनन् ।
मुलुकमा तीन वटा सरकार छन्–संघीय, प्रदेश र स्थानीय । तर, सबै सरकारले कानुनी व्यवस्था कडा पार्न सकेको छैन । कानुनी लापरबाहीकै कारण यात्रुको ज्यान लिने चालक सहजै उम्किन्छन् । सवारी ऐन २०४९ को दफा १ सय ६१ (१) मा ज्यान मार्ने मनसायका साथ दुर्घटना गराए सर्वस्वसहित जन्मकैद व्यवस्था छ । तर दुर्घटना गराउने चालकलाई प्रायः सोही दफाको उपदफा (३) मा रहेको चालकले नदेखी दुर्घटना भए एक वर्ष कैद र दुई हजार जरिवाना व्यवस्थाअन्तर्गत मुद्दा चलाउने गरिएको छ । अझ ज्यान गुमाएका परिवारलाई केही रुपैयाँ क्षतिपूर्ति र किरिया खर्च दिएर मुद्दा समाप्त पारिन्छ ।
यसैबाट पनि टिपरका कारण ज्यान जाने घटनामा चालकले मात्र होइन, कानुन पालना गराउने निकायले समेत चरम लापरबाही गरेको पुष्टि हुन्छ । दुर्घटनाका अर्को कारण शहर केन्द्रित ट्राफिक प्रहरी पनि हो । ग्रामीण क्षेत्रमा ट्राफिक नै छैनन, न त कानुन नै । जसका कारण दुर्घटनाका कारण बढिरहेका छन् । त्यसमा अझ समयमै पहाडको ट्राफिक व्यवस्थापनमा ध्यान नदिँदा निकट भविष्यमा मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने खतरा पनि बढ्दै गएको पाइन्छ । हामी प्रश्न गरिरहेका छौँः सर्वसाधारणको ज्यानको मूल्य छैन ? किन सरकारलाई जनताको माया लाग्दैन् ?
https://www.youtube.com/watch?v=zphbvoKXQN4