पुष्पराज अधिकारी मकवानपुर । बाग्मतीका आन्तरिक मामिला तथा कानुनमन्त्री शालीकराम जम्कट्टेलले अहिले यातायात व्यवसायीका लागि वातावण राम्रो भएको बताउनुभएको छ ।
२०७४ को निर्वाचनपछि यातायात व्यवसायीहरुले कुनैपनि बन्द हड्तालको सामना गर्न नपरेको भन्दै यातायात व्यवसायीहरुलाई उत्साहित भएर यातायात क्षेत्रमा लाग्न मन्त्री जम्कट्टेलले आग्रह गर्नुभयो ।
नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यो सरकार आएदेखि व्यवसायीलाई सहज भएको बताउनभुयो । यातायात क्षेत्रको व्यवसाय स्वरोजगारमूलक रहेको र यसमा सबै व्यवसायीहरू नेपाली नै भएकाले व्यवसायीको साथमा सरकार सधैँ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस विषयमा बाग्मती सरकार गम्भीर भएर अघि बढेको उहाँले बताउनुभयो । सरकारले कानुन निर्माणमा ले सिण्डिकेट हटाउन सरकारले गरेको काममा असन्तुष्टिका बाबजुद व्यवसायीहरु संघबाट कम्पनी प्रालिमा गएपनि अझै काममा परिवर्तन हुन नसकेको बताउनुभयो । अब कम्पनी प्रालिको विकल्प नहुने भन्दै व्यवसायीले नै कम्पनी प्रालिकाे कुन मोडेलबाट यातायात क्षेत्रलाई अघि बढाउने भन्ने विषयमा गहन छलफल गरी प्रस्ताव ल्याउन समेत आग्रह गर्नुभयो । बागमती प्रदेश भित्रका यातायातको क्षेत्रमा प्रदेश सरकार सधैँ व्यवसायीको पक्षमा हुने बताउनुभयो ।
कार्यक्रममा सहभागि यातायात व्यावसायीहरुले सरकारले आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेको छन् । संघका अध्यक्ष हिरालाल श्रेष्ठले सवारी दुर्घटना भएपछि दिइने क्षतिमा अझै ठूलो समस्या रहेको बताउनुभयो । सरकारले ल्याएको नीति एवम् निर्देशनअनुरुप व्यवसायीहरु कम्पनी, पञ्जिकरण, पान वा भ्याटमा दर्ता हुनुपर्ने झन्झट थोपरिएको भन्दै पेशाको आयबाट बैंकको किस्ता पनि तिर्न नसक्दा पलाउन हुनुपर्ने अवस्था आएकाले आफूहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
२०७४ चैतमा संशोधन गरेर प्रकाशन गरेको यातायात निर्देशिकामा यातायात पेशा कम्पनीमार्फत् मात्र सञ्चालन गर्न पाउने व्यवस्था गर्दै उक्त क्षेत्रलाई सिण्डिकेटधारी र खराब व्यवसायीका रुपमा चित्रण गरी सिंगो यातायातलाई एउटै नजरले हेर्दै घरको न घाटको बनाएको आरोप लगाएका हुन् । उनीहरुले यातायात कम्पनीमार्फत् नै सञ्चालन गरिएपनि के–कसरी सञ्चालन गर्न सकिन्छ भनी वार्ताबाट निश्कर्ष निकाल्न सक्ने अवस्था हुँदा पनि सरकारले आफ्ना कुराहरु सुन्न नचाहेको पनि व्यवसायीहरुको आरोप छ ।
कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, बाग्मती प्रेदशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा लगायतकाको आतिथ्यता रहेको थियो ।