काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वनय गर्न तयार भए समर्थन जनाउन सकिने बताउनुभएको हो । उहाँले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफू स्पष्ट भएको बताउनुभयो ।
संविधान संशोधन, रेशम चौधरी लगायत थारुहट र मधेस आन्दोलनका सहभागीमाथि लगाइएको झूठा मुद्दा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उहाँले बताउनुभयो । ‘संविधानका राम्रो पक्षलाई संस्थागत गर्न र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ’ उहाँले भन्नुभयो, ‘सरकारले संविधान संशोधनको प्रकृया अगाडि बढाउनुप¥यो । राजपा मुद्दाको पार्टी हो । सरकारको पार्टी होइन् । सरकारले जति भन्छ त्यति दिनका लागि समर्थन दिन्छौँ । सरकारले हाम्रा माग पूरा गरोस् । रेशम चौधरी लगायतलाई रिहाइ गरोस् । सरकारलाई समर्थन गर्न तयार छौँ ।’
अहिलेकै अवस्थामा सरकारमा सहभागि हुने सम्भावना न्यून रहेको भएपनि संघीयता मजबुद पार्ने र गणतन्त्रलाई बलियो बनाउनका लागि सरकारले पार्टीले उठाएका मुद्दाहरु गम्भिर रुपमा लिए समर्थन गर्न सकिने उहाँले बताउनुभयो ।
सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गर्नुभएको छ । आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्ने प्रसङ्ग बाहिर आएको छ । यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो । ‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ’ उहाँले भन्नुभयो, ‘माग्दै नमागी कसरी दिन्छ ? राजपालाई उपसभामुख । यो कस्तो सरकार हो ? माग्दै नमागी उपसभामुख दिने । राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो ? सरकारले स्पष्ट पारोस् ।
सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडी नबढेको आरोप उहाँले लगाउनुभयो । उहाँले उखु किसानको पैसा भुक्तानी गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
नेकपाका सांसद दुर्गा पौडेलले नवर्निवाचित सभामुखलाई सभामुखको तटस्थताको पदीय मर्यादा र गरिमा राख्दै अघि बढ्न शुभकामना दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता माथिको अंकुशलगाउने किसिमका विधेयक पास गर्नु नहुने र एमसीसीका सम्झौताका प्रावधानहरु बारे गहन छलफल गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसद प्रेम सुवालले सरकारलाई प्रतिनिधिसभा र प्रतिनिधिसभालाई जनताप्रति जवाफदेही बनाउन सभामुखबाट तटस्थ र निश्पक्ष भुमिका निर्वाह हुने विश्वास आफुले लिएको भन्दै संसदलाई ‘हुन्छ र हुन्न’को थलो नबनाई एक प्राज्ञिक थलो बनाउने सवालमा सभामुखलाई सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।
सबैको शुभकामना मन्तव्यपछि सभामुख सापकोटाले सभालाई जीवन्त बनाइराख्न आफ्नो हरसंभव प्रयत्न हुने विश्वास दिलाउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते शुक्रबार बिहान ११ बजे का लागि बोलाइएको छ ।