काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले बुधबार विभिन्न फरक - फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । राजधानी दैनिकले सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा रहेको समाचारलाई प्रमुख स्थान दिएको छ भने नागरिक दैनिकले एमआरपीमा बदमासी शीर्षकमा मुख्य समाचार बनाएको छ ।
मंगलबार जनता समाचार डट कम मा उमेश यादवलाई फाँसीबाट जोगाएका रायलाई अभिनन्दन गरिने, शीतलहरको कहर, धन्न बाँचेका छन् मुसहर, कर्मचारीमाथि ‘हेडसर’ले नै गरे यौन शोषण (भिडियोसहित), गायिका आस्था राउत ४ हजारमा रिहा, यो कस्तो सरकार हो ? माग्दै नमागी उपसभामुख दिने, ‘हरेक कानुनमा सरकारको मनसाय गलत छ’, सुर्खेतमा कर्फ्यू, घरबाहिर ननिस्कन आग्रह र राज्यमन्त्री डा. झाद्वारा राजीनामा लगायतका समाचार प्रकाशन गरिए ।
राजधानी दैनिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टचारविरुद्दको निगरानीलाई तीव्रता दिन थालेको समाचार छापिएकाे छ । अख्तियारकाे यो तीव्रतासँगै स्थानीय तहमा घुस खाने जनप्रनिनिधि फन्दामा पर्ने गरेका छन् । स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो आउन थालेपछि अख्तियार स्थानीय तहमै पुगेर सक्रियता बढाउन थालेको हो ।
अख्तियारको यो अभियानका क्रममा जाजरकोटको जुनीचाँदै गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । त्यस्तै नवलपरासीको बर्दघाट सुस्तापश्चिमस्थित रामग्राम नगरपालिका -१८ का वडाध्यक्ष गोपाल डिम्बा मगरविरुद्द २ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । यसैगरी पत्रिकाले सबै दलका शीर्ष नेता एमसीसीको पक्षमा रहेको समाचारलाई पनि प्रमुख स्थान दिएको छ ।
नागरिक दैनिकमा ‘एमआरपीमा बदमासी’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा उल्लेख भए अनुसार राहदानी विभागले सन् २०१४ पछि छापेका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा लेमिनेसनको भाग हटाएर करिब आठ करोड अनियमितता गरेको फेला पारेको छ । सरकारले हस्तलिखित राहदानी विस्थापित गर्ने क्रममा सन् २०१० मा ४५ लाख थान एमआरपी छपाइ गर्दा पासपोर्टको दोस्रो र ३१ औं पृष्ठमा पूरै लेमिनेसन हटाइएको पाइएको हो । पृष्ठ २ मा पनि एक चौथाइ भागमा मात्रै लेमिनेसन गरिएको पाइएको समाचारमा लेखिएको छ ।
त्यसैगरी पत्रिकाले सभामुख सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान कहाँ पुग्यो ? शीर्षकमा प्रमुख समाचार बनाएको छ समाचार अनुसार सर्वोच्च अदालतले सभामु्ख अग्नि सापकोटाविरुद्ध काभ्रे प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा परेपछि भएको अनुसन्धानको प्रगतिबारे एक महिनाभित्र विवरण पेश गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सापकोटाविरुद्ध कर्तव्य ज्यान किटानी जाहेरीको अनुसन्धान र सर्वोच्चको आदेश पालना कार्यान्वयन सम्बन्धी विवरण ३० दिनभित्र पेश गर्न आदेश दिएको हो ।
गोरखापत्र दैनिकले एमसीसी पारित गर्ने सवालमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा राख्नुभएका भनाइहरुलाई मुख्य समाचारका रुपमा प्रथम पृष्ठमा छापेको छ । समाचारमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले संसदको चालू अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संगको सम्झौता लगायतका थुप्रै विधेयक पारित गर्न बाँकी रहेको बताउनुभएको हो । कांग्रेस सभापति देउवाले एमसीसी छिटो पास गनुपर्ने धारणा राख्नुभएको समाचारमा उल्लेख छ ।