बलवीर भुजेल सिन्धुली । फिक्कल चिनाउन दोस्रो फिक्कल महोत्सव हुने भएको छ । फिक्कल गाउँपालिकाले पत्रकार सम्मेलन गरेर सिन्धुलीमा पनि फिक्कल छ भन्ने चिनाउन फागुन ९ गतेबाट महोत्सव सञ्चालन गरिने जानकारी गराएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर गाउँको प्रसारप्रचारका लागि महोत्सव गर्न लागिएको बताइएको छ ।गाउँपालिका क्षेत्रमा रहेका धार्मिक एवं ऐतिहासिक पर्यटकिय क्षेत्रको जानकारी गराइ आन्तरिक तथा बाह्य पर्यटक बढाउन महोत्सव गर्न लागिएको गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनुभयो ।
कृषि, जडिबुटी क्षेत्रका सिप र हस्तकलाको पेशालाई व्यवसाहिक रुपमा उन्मुख गराउन पनि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । उहाँका अनुसार महोत्सवले गाउँपालिका भित्रका पशुपालन, कृषि उत्पादको प्रसारप्रचार गरी गुणस्तरीय आन्तरिक प्रर्वद्धन, स्थानीय परम्परा शीप, कला र संस्कृतिको जर्गेना गर्न उत्प्रेरित गर्नेछ ।
गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले प्रथम फिक्कल महोत्वसवले फिक्कल चिनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । गाउँपालिका अध्यक्ष धनबहादर कार्कीले मन्त्रालयमा काम परेर जाँदा फिक्कलबाट आएको भन्दा सिन्धुलीमा पनि फिक्कल छ र ? भनेर प्रश्न आउने गरेको थियो तर अहिले सिन्धुलीमा फिक्कल छ भनेर चिनाउन आफूहरु सफल भएको बताउनुभयो ।
महोत्सव सञ्चानका लागि गाउँपालिकाबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजबाट ५० हजार र साधरण विज्ञापनबाट २० हजार प्राप्त हुने छ भने २८ लाख ५० हजार अनुमानित लागत खर्च हुने अनुमान गरिएको छ ।महोत्वसवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड सांस्कृतीक प्रस्तुतीका साथै शैक्षिक जानकारी ,जलयात्रा प्याराग्लाइडिङ्ग समेत रहने छ । महाेत्सव ९ गतेबाट शुरू भएर १८ गतेसम्म सञ्चालन हुनेछ ।