काठमाडाैं । काठमाडाैं-३१, बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका ५१ वर्षीय हरिदेव गिरीको हत्या भएको आफन्तले बताएका छन् । गिरीलाई शरीरका विभिन्न अंग र छातीमा निलडाम, टाउकोबाट रगत बगेको र देब्रे खुट्टा भाँचिएको अवस्थामा फेला परेकाे थियाे ।
नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष,नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता, भक्तपुरको एसएस कलेजका सञ्चालक, रेम्बो इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपलसमेत रहनुभएका गिरीका आफन्त, नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले मृतक गिरीको हत्या भएको दाबी गर्नुभयो । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँले बिहीबार महानगरीय प्रहरी वृत्त वानेश्वरमा ज्यान मुद्दा सम्बन्धी जाहेरी दिई घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो । आफन्तले रेष्टुरेष्ट सञ्चालक एवम् अन्य व्यक्तिको घटनामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेष्ट सञ्चालकले सीसी क्यामरा फुटेज समेत मेटाइएको पाईएको बताउनुभयो । आफन्तले रेष्टुरेष्ट सञ्चालकले घटनाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् ।
प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी वृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान शुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घटनाबारे भन्न सकिने बताउनुभयो । मृतक गिरीको बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
आर्यघाट पुग्नु भएका सूचना तथा सञ्चार प्रविधि एवम् शहरी विकास मन्त्री गोकुलप्रसाद बास्कोटाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको पत्रकार समाजका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।