बलवीर भुजेल सिन्धुली । लिटिल बुद्ध भनिने रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित आश्रममा पुगेको थियो । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, हत्या गरेको तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोलीले शुक्रबार सिन्धुलीको आश्रम घेराउ गरेको छ ।
यौन शोषण तथा दुव्र्यवहारको मुद्दामा जिल्ला अदालत सर्लाहीले बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयको अनुरोध स्वीकार गरी सिन्धुली प्रहरीले बिहान ४ बजे देखि १० बजेसम्म कमलामाई नगरपालिका वडा नम्बर ८ पैरेमा रहेको आश्रम घेराउ गरी खानतलासी गरेको थियो ।
खानतलासी क्रममा आश्रममा बम्जनलाई नभेटेपछि प्रहरीले बम्जनका मुख्य सहयोगी ज्ञान बहादुर बम्जन (तोप्चन गुरुमार्ग गुरु) लाई सोधपुछका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ ।
उनीसँग बम्जनका बारेमा सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो । सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली, दंगा नियन्त्रण हेटौँडाको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको थियो । तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले उनका सहयोगी ज्ञान बहादुर बम्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । आश्रम नजिकको जंगलमा लुकेको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ ।अहिले पनि बम्जनको आश्रम निगरानिमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बम्जन करिब २ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएका छन ।
बम्जनविरुद्ध विभिन्न आरोपमा नुवाकोट, सिन्धुपाल्चोक, बारा, मकवानपुर लगाएतका जिल्लामा मुद्दा दर्ता भएका छन् । अनुयायी सञ्चलाल वाइबाको सिन्धुपाल्चोक बाँडेगाउँको आश्रममा हत्या गरी वेपत्ता पारेको आरोपमा सिन्धुपाल्चोक र मकवानपुरमा किटानी जाहेरी दिएका छन् । बेपत्ता भएका भनिएका सुरेश आले मगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन् ।
बेपत्ता भएका भनिएका चारै जना २०६९ देखि २०७२ को बीचमा बेपत्ता भएको बताइएको छ । सन् २०१० मा बारा जिल्लामै केही स्थानीयलाई हातपात गरेको, सन् २०१२ मा करिब तीन महिनासम्म दुई जना विदेशी महिलालाई बन्धक बनाएको उनीमाथि आरोप छ । यस्तै केही समयअघि रौतहटकी एक १८ वर्षीया युवतीले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले बम्जनविरुद्ध थप आरोपहरू सहित प्रहरीमा उजुरी दिएपछि सिआइवीको विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
प्रहरीको विशेष टोलीले गत वर्षको माघ महिनामा समेत सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही र मकवानपुर जिल्लामा रहेका बम्जनका आश्रममा पुगेर अनुसन्धान गरेको थियो । तर, त्यतिबेला बम्जनलाई पक्राउ गर्ने आदेश नभएका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको थियो ।यता बम्जनका अनुयायी तथा बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले तपस्वी बम्जनमाथि लागेको आरोप निराधार भएको बताएका छन् ।