काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन गर्नुभएको छ । शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले रानीपोखरीबाट अवलोकन शुरु गरी बालगोपालेश्वर मन्दिर, धरहरा, सुन्धारा क्षेत्र, काष्ठमण्डप र हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । पुनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाललीले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणको कामले द्रुत रुपमा गति लिएको उहाँले बताउनुभयो । सम्पदाको पुनर्निर्माणको काम तोकिएको अवधिभित्र सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुहुँदै उहाँले महानगरपालिका, स्थानीय समुदाय र पुरातत्वविभाग सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
आउँदाे वैशाखसम्म काम सपन्न गर्ने लक्ष्यका साथ रानीपोखरी पुनर्निर्माण भइरहेको छ । पहिलो चरणमा रानीपोखरी पुनर्निर्माण समितिले पोखरीको पिँध र पोखरी वरिपरिको पर्खाल निर्माण गरिरहेको छ । गत वर्षको चैत ११ गतेबाट शुरु भएको कामको सम्पूर्ण लागत ९ करोड ५४ लाख ३७ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी बालगोपालेश्वर मन्दिर, पुल तथा सौन्दर्यकरणका अन्य कामका लागि सी.एम ÷ तुलसी जेभीले जिम्मा पाएको छ । २०७६ असार २४ गतेबाट काम शुरु भएको थियो । कुल लागत १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ रहेको छ । देस्रो चरणमा जमल र शान्तिबाटिकामा सौन्दर्यीकरणका कार्य गरिनेछ ।
रानीपोखरी पुनर्निर्माणका क्रममा कुन शैलीमा निर्माण गर्ने भन्ने विवाद उत्पन्न हुँदा निर्माणमा केही ढिलाइ भएको थियो । पछि ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएपछि काम शुरु भएको थियो । राष्ट्रपतिले शनिबार नै दरबार हाइस्कुलको पनि अलोकन गर्नुभएको छ । दरबार हाइस्कुलमा चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो।चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
भूकम्पपछि क्षति पुगेको हाइस्कुलको रेट्रोफिटिङ गर्ने योजना रहेपनि सम्भव नभएपछि पुनर्निर्माण नै थालिएको थियो । ८५ करोड ५९ लाख लागतमा निर्माण शुरु गरिएको थियो । जम्मा ६० वटा कक्षाकोठा रहेको भवनमा ३० कक्षाकोठामा विद्यार्थी राखिने छ । बाँकी ३० वटा कक्षाकोठामा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइटी ल्याब राखिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विद्यालय पूर्णतः आइटीमा आवद्ध गरिएको बताउनुभयो । जम्मा ४० वटा सिसी क्यामेरा जडान गरिएको छ । भानु माध्यामिक विद्यालय र कक्षा ६ देखि १२ सम्म संस्कृततर्फको अध्ययन हाइस्कुलबाट हुँदै आएको छ । १ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । वैसाख १२ गतेभित्र नै उद्घाटन गर्ने तयारी रहेको सचिव दाहालले जानकारी दिनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी, दरबार हाइस्कुलसँगै धरहराको पनि राष्ट्रपतिलाई अवलोकन गराइएको छ । वैशाख १२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहरा निर्माणको काम द्रुत गतिमा अगाडि बढिरहेको छ । हरेक एक साता एक तला थप्ने योजनाका साथ काम भइरहेको छ । धरहरा सातौँ तला निर्माण भइरहेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएपनि भित्रबाट २२ तलाको हुनेछ ।
काष्ठमण्डप पुनर्निर्माणको काम पनि द्रुत गतिमा अगाडि बढेको छ । काष्ठमण्डप निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । २०७५ वैशाख १८ गते उपभोक्ता समिति गठन गरी निर्माणको काम शुरु गरिएको थियो । कुल ९९ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएको काष्ठमण्डप पुनर्निर्माणका लागि १७ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका लागि १० करोड बढी सहयोग गरिसकेको छ ।