काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित पत्रपत्रिकाले कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा रहेका नेपालीहरुले सरकारलाई स्वदेशमा लैजान गरिरहेको आग्रहलाई जोडेर विभिन्न फरक फरक शीर्षकमा समाचार छापेका छन् । त्यसैगरी पत्रिकाहरुले एमसीसी र बालुपाटार जग्गा प्रकरणबारेसमेत प्रमुख समाचार संम्प्रेषण गरेका छन् ।
शनिबार जनता समाचार डट कम मा कान्तिपुर सिटी कलेजमा झडप, २२ विद्यार्थी घाइते, कानुन व्यवसायी परिषदमा मतगणना जारी, प्रहरीलाई १५ सयमा फकाउन खोज्ने पक्राउ, जंगलमा झुन्डिएको अवस्थामा किशोरको शव, हात्तीपाइलेविरुद्धको औषधी नखाए सरकारी सेवाबाट वञ्चित, ‘सरकार चुनाव नगराउने खेलमा लाग्यो’, मेडिकल कलेजसँग चिकित्सा शिक्षा आयोगको स्पष्टीकरण र बाँके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती लगायतका समाचार प्रकाशन गरिए ।
नागरिक दैनिकले एमसीसी पास गराउन कूटनीतिक पहल शीर्षकमा प्रमुख समाचार छापेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल शुरु भएको हो । समाचारमा उल्लेख भएअनुसार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् बाट एमसीसी छिट्टै पास हुने बताउनुभए पनि अन्य नेताहरुले अहिले राखिएका प्रावधान संशोधन हुनैपर्ने बताएपछि अमेरिकाले कूटनीतिक पहल थालेको छ ।
नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले बिहीबार पूर्वप्रधानमनत्री एवं नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई उनको निवासमै गएका भेट गरेका छन् । त्यस्तै यता रादूतको भेटघाट बढिरहेका बेला एमसीसीका डेपुटी प्रमुख एवं युरोप -एसिया प्रशान्त उपप्रमुख जोनाथन ब्रुक्स पनि नियमित परामर्शका लागि भन्दै नेपाल आएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकमा ‘बजारमा लुट’ शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा बढ्दो महँगीका कारण लेटाङ ९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर लागेको र उनका अनुसार त्यसको मुख्य कारण यहाँको महँगी रहेको विश्षेण गरिएको छ ।
महिनाको कम्तीमा २५ हजार खर्चले मुस्किलले जीवन धान्दै आएक सामान्य मजदुरले राजधानीमा महँगीका कारण निके सास्ती पाइरहेको समाचारको सार छ । केही मजदुरहरुले त महँगीका कारण गाउँ फर्किनुपर्ने अवस्था आउन लागेको बताएको समाचारमा उल्लेख छ । समाचारमा पुस महिनाको अन्तिम विभिन्न उपभोग्य सामानको मूल्य हेर्दा हालको मूल्यमा निकै अन्तरले बढेको देखाइएको छ ।
कान्तिपुर दैनिकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढ्ने बताउनुभएको समाचारलाई मुख्य समाचार बनाएको छ । पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको बताउनुहुँदै दाहालले यो सम्झौता राष्ट्रको हितमा भएकाले अघि बढाइने बताउनुभएको हो । दाहालले आफू प्रधानमन्त्री भएकै बेला एमसीसीअन्तर्गत ५५ अर्ब आउने भयो भन्दा आफू खुसी भएको र यो त्यतिबेलै अनुमोदन भएको भए यति धेरै विवाद नहुने बताउनुभएको समाचारमा लेखिएको छ ।
पत्रिकामा अमेरिकासँगको क्रिकेट विश्वकप लिग २ का लागि शनिबार नेपाली टोलीले सबैभन्दा कम उमेरका खेलाडीलाई मैदानमा उतारेको सन्दर्भलाई पनि प्राथमिकताका साथ प्रथम पृष्ठमै समेटेको छ । समाचार अनुसारकुशल मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
आजको कारोबार दैनिकले ‘ट्रेडमार्क असुरक्षाले वैदेशिक लगानीमा संशय’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा यस्तो संशय उत्पन्न हुनुका पछाडि प्रक्रियागत ढिलाई, बौद्दिक सम्पत्तिको अस्पष्ट व्याख्या, विश्वप्रसिद्द ट्रेडमार्कको नेपालमा किचलो, न्यूनतम वैदेशिक लगानीको सीमा ५ करोड कायम गरिनु, नेपाली कामदारको उत्पादकत्वमा आएको ह्रास र विदेशी कामदारलाई दिइने भिसाको समयसीमा लगायतका अवरोधहरुबारे चर्चा गरिएको छ ।
त्यसैगरी सात महिनामा साढे २८ अर्ब एफडीआई, प्राविधिक शिक्षा पहुँचको बजेट वृद्दि र नमोबुद्द नगरमा अख्तियारको छापा लगायतका अन्य शीर्षकमा समेत समाचारहरु प्रकाशित गरिएका छन् ।