काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदार यतिखेर निकै छट्पट्टिएका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध मुद्दा परेपछि गच्छदार छट्पट्टिएका हुन् ।
ललिना निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसमा शक्तिशाली मानिएका गच्छदारलाई ९ करोड ७६ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारको मागअनुसार यदि दोषी ठहरिए गच्छदारलाई बिगो तथा जरिवानासहित डेढ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्छ ।
अख्तियार विशेष अदालतमा मुद्दा दायर गरिएका १७५ जनाको प्रमाण जुटाउने कार्यमा लागेको छ । अख्तियार मुद्दा चलाइएकाहरुलाई दोषी सावित गर्न चाहन्छ । तर मुद्दा परेकाहरु भने त्यसबाट चोखिन चाहन्छन् । त्यसको लागि उनीहरुले अनेक प्रयास गरिरहेका छन् । कानुविद्सँग सल्लाह लिनेदेखि शक्ति केन्द्र धाउनेसम्मको अभियानमा लागेका छन् ।
मुद्दा परेकाहरुमध्ये बढी दौडधुप गर्नेमा पर्छन् गच्छदार । ललिता निवास प्रकरणमा गच्छदारलाई चोख्याउन उनको पार्टी नेपाली कांग्रेस नै लागि परेको छ । गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले त्यसविरुद्ध सदनदेखि सडकसम्म विरोध गरिरहेको छ । कांग्रेस सांसदहरुले संसद अवरुद्ध पार्दै आएका छन् । भातृ संगठनले सडकमा प्रदर्शन गरिरहेका छन् ।
कांग्रेसका केही नेताले कांग्रेसको विरोध गच्छदारलाई छुटाउनको लागि नभइ अख्तियारको नियतविरुद्ध रहेको टिप्पणी गर्दै आएका छन् । तर उनीहरुको टिप्पणी जे सुकै भए पनि विरोधको उदेश्य गच्छदारलाई चोख्याउनु नै हो । गच्छदारलाई मुद्दा परेपछि पटक/पटक बसेको कांग्रेस बैठक त्यही एजेण्डामा केन्द्रित हुनुले यसको पुष्टि गरेको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरण सार्वजनिक भएपछि त्यसबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न सरकारले केही महिनाअघि शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति बनाएको थियो । समितिले तयार पारेको प्रतिवेदन र विभिन्न अनुसन्धानको आधारमा अख्तियारले १७५ जनालाई दोषी ठहर गरेको छ ।
गच्छदारले अख्तियार विशेष अदालत पुग्नु अगावै ललिता निवास प्रकरणमा आफूमाथि अभियाेग लाग्ने सुइको पाइसकेका थिए । गच्छदारले सोमबारको कांग्रेस बैठकमा त्यसको खुलासा गरेका छन् । गच्छदारले ललिता निवास प्रकरणमा भ्रष्टाचारबाट जोगिन आफू राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न शक्ति केन्द्रसम्म पुगेको तर सफल नभएको बताएका छन् । ‘अख्तियारबाट मुद्दा नलागोस् भने मैले राष्ट्रपतिलाई भेटेँ, प्रधानमन्त्रीलाई भेटेँ, नेकपाका अध्यक्ष प्रचण्डलाई पनि भेटेँ, माधवकुमार नेपालसँग पनि कुरा गरेँ’ गच्छदारले बैठकमा भनेका छन्’ यस बारेमा सुवास नेम्वाङलाई पनि भने। हाम्रै पार्टीका सभापतिसँग पनि धेरै पटक छलफल गरेँ । सभापतिमार्फत उच्च राजनीतिक संवादसमेत गराएँ तै पनि ममाथि मुद्दा लाग्यो । मुद्दाबाट बच्न सकिन ।’
गच्छदारले आफूमाथिको मुद्दालाई कांग्रेसमाथिकै आक्रमणको रुपमा लिएका छन् । ‘ललिता निवास प्रकरणमा अख्तियारबाट बच्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म धाएँ, आखिरी मुद्दा नै पाएँ’ उनले भनेका छन्, ‘यो कांग्रेस माथिकै आक्रमण हो ।’