चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने विश्वास

काठमाडाैं । नोवेल कोरोना भाइरस विरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथ छौं’ नाममा एक कार्यक्रम आयोजना गरिएको छ ।
ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथ छौं’ भन्ने सन्देश दिइएको थियो ।
चीन – नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ भन्ने विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइएकाे छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोवेल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस्ताे सन्देशलाई विश्व समुदायमाझ फैलाउन लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।