‘जनयुद्ध’देखि गणतन्त्रसम्म : १३ वर्ष मुलुकमा के के भयो ? (भिडियोसहित)

काठमाडौं । जनताका दिन आएनन् । शाहवंशीय राजतन्त्र थियो । एकसय चार वर्ष राणाहरुले राज्य गरे,राजालाई खोपीमा राखेर । त्यसपछि मुलुकमा प्रजातन्त्र त आयो । एक दशक नपुग्दै प्रजातन्त्र अपहरणमा प¥यो २०१७ मा । पुस १ गतेदेखि पञ्चायती शासनका नाममा फेरि राजतन्त्र हावी भयो । २०४६ सालमा नेपाली कांग्रेस र वाममोर्चा मिलेर आन्दोलन गरे । बहुदलीय व्यवस्था व्यवस्थापन नेताहरुका लागि निकै सकसको विषय बन्यो ।

२०५२ देखि नै जनताका नाममा असन्तुष्टिको मुस्लो लिएर त्यतिखेरको मशाल जनमोर्चा हुँदै माओवादी फेरि सशस्त्र युद्धमा होमियो । यो बीचमा एकातिर राजा वीरेन्द्रको वंशनाश अनि भाइ राजा ज्ञानेन्द्र शाहद्वारा मन्त्रिपरिषद् अध्यक्ष घोषणा । अर्कातिर सेना परिचालन र २०५२ देखि हुर्कँदै गरेको माओवादी सशस्त्र युद्ध सेनासँग आमनेसामने । यता सात दललाई पेलेर निरंकुश राजतन्त्र अनि राजतन्त्र अन्त्य र गणतन्त्र घोषणाका लागि माओवादीको मुद्दामा नेकपा एमाले र नेपाली कांग्रेससमेत सहमत । २०५२ फागुनदेखि २०६५ जेठ १५ गतेसम्मको माओवादी कस्तो थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यालयमा २५ औँ जनयुद्ध दिवस मनाउने अवस्थामा आइपुगेको माओवादीको राजनीतिक यात्रा ।

जनता बहुदलीय व्यवस्थामा आफ्नो अधिकार बलियो भएको हेर्न चाहन्थे । तर २०४६ को बहुदल त्यसका लागि कामयाव भइरहेको थिएन । अर्कातिर नेपालमा कम्युनिष्टको मत बढ्दो थियो । बाहिर नेकपा एमाले र जनमोर्चा नेपाल । भित्र मशालसहित अनेक साना कम्युनिष्टहरु ।
गोरखामा बालक दिलबहादुर रम्तेलको प्रहरीको गोली लागेर मृत्यु भएपछि माओवादीको सशस्त्र युद्धको अभ्यास अरु तेजिलो बन्दै गाये । राजतन्त्र अन्त्य मुद्दा आफैँमा पेचिलो थियो ।

हरेक दिनजसो एउटा एउटा प्रहरी चौकी आक्रमण । राज्यपक्षबाट सर्वसाधारणमाथि धरपकड । शहरका मानिस गाउँ जान कठिन । गाउँका मानिस शहर छिर्न कठिन । दुई वटा सत्ताले सर्वसाधारण मारमा । दुवै शक्ति भन्थे ः जनताका लागि हामी खटिएका हौँ । तिम्रो साथ चाहियो । नेकपा एमालेले भन्ने गथ्र्यो, हाम्रा होन ३ हजार ३ सय मारिए राज्यपक्षबाट र माओवादी पक्षबाट ।

आक्रमणका समाचारले जनमानसमा त्रास थियो । सरकार पनि पेलेरै जानुपर्छ भनेर आतंककारी भन्दै अनेक अप्रेसनसँगै सेना परिचालनमा पुग्यो । सेना परिचालन नगर्ने भर्नेकै कारण गिरिजाप्रसाद कोइरालाको सरकारसमेत ढलेको थियो ।

पछिल्लो समय सेनासँग आमनेसामने भयो युद्धका छापामारहरु । मकवानपुरमा त सेनाका बिग्रेडियरसमेत मारिए । अनेक वार्ता भए । वार्ता भंग भए । युद्ध विराम भए । युद्ध विराम भंग भए । यसै सिलसिलामा कयौँ मारिए । सम्झनुहोस् त ः सुरक्षाकर्मी गाउँको घर जानसमेत समस्या भयो । कयौँले जागिर छाडे । युद्धको आगोले जनजीवन त्राहीत्राही भयो ।

२०६५ जेठ १५ गते देश संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल भयो । २ सय ५० वर्षीय शाहवंश शासन अर्थात् राजतन्त्र अन्त्य भयो । अन्तिम राजा ज्ञानेन्द्र शाह पत्रकार सम्मेलन गरेर नागार्जुन गए । संविधानसभाको निर्वाचन दुई पटक भयो । अन्तिम पटक २०७४ मंसिर १० र २१ गते भएको प्रदेश र संघको निर्वाचनपछि मुलुकमा केन्द्र सरकार, ७ वटा प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकार बनेका छन् । अबको यात्रा युद्ध होइन, समृद्धि हो । नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको मोर्चाहरु अहिले पनि जनताको दिन आएन भनिरहेका छन् । तर अब युद्ध के का लागि ? राजतन्त्र ढल्यो । संघीयता आयो । स्वायत्त र स्वतन्त्र स्थानीय तह छ । अब विकासका सूचकहरुमा प्रगतिको धागो कस्दै जाने हो । यो २५ वर्षे जनयुद्ध दिवस अर्थात् सशस्त्र युद्धको कथा अहिलेका पुस्तालाई थाहा छैन । सामाजिक सञ्जालले जे भन्छ, त्यतै हाम्रा पुस्ता दौडेका छन् । राजतन्त्र के हो ? यादै छैन । सशस्त्र युद्ध किन भएको ? उत्तर छैन । तर आजको यो उपलब्धीका लागि तीन पुस्ता होमिएका थिए । २००७ सालदेखिको सपना थियो । माओवादी युद्धका ती दिनहरु सम्झायौँ र आगामी कार्यदिशा जनताका हितमा नेताहरुले बनाउन सकून्, जनता निरास नहोउन् ।

सशस्त्र युद्ध शुरु

२०५२ माघ २२ गते तत्कालीन नेकपा मशालका तर्फबाट डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश गर्नु भयो ।
२०५२ फागुन १ः ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ जनयुद्ध शुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंकमा आक्रमण ।
फागुन ६ः नेकपा माओवादीका महामन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रेस वक्तव्यमार्फत् कारबाहीहरूको जिम्मेवारी स्वीकार ।
फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या । २०५३ साल असारमा माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।

२०५३ साल
वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध एम्बुस ।
पुस १९ः रामेछापको बेथान प्रहरी चौकी आक्रमण । आक्रमणक्रममा कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको मृत्यु ।

२०५४ साल
असारः माओवादीको केन्द्रीय समिति बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाआँैँ’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारद्वारा आक्रमण ।
माघ २२ः धादिङको खहरेमा एम्बुस । नेपाल बैङ्क लिमिटेडको बीस लाख रुपैयाँ लुटपाट ।
फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरीविरुद्ध एम्बुस ।
चैत ४ः गोरखाको सौरपानीमा एम्बुस ।

२०५५ साल
वैशाखः तत्कालीन नेपाली कांग्रेसद्वारा किलो शेरा टू अपरेसन सञ्चालन ।
भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ’ भने मूल नारा तय ।
कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी आक्रमण । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
पुस १८ः ललितपुरको भट्टेडाँडा चौकीमा आक्रमण ।
फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी आक्रमण ।
चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरूको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या ।

२०५६ साल
वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प आक्रमण ।
जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता ।
जेठ ३१ः जाजरकोट लहँस्थित दङ्गा बेस क्याम्प आक्रमण ।
भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘कमरेड वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।
असोज ५ः छापामारद्वारा तत्कालीन डीएसपी ठूले राई अपहरण ।
फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका आक्रमण ।
चैत २१ः रुकुमको तकसेरास्थित दङ्गा इप्रका र गोरखाको हर्मी प्रहरी चौकी आक्रमण ।

२०५७ साल
असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका आक्रमण ।
भदौ ७ः नवलपरासीको धवाडी इप्रका आक्रमण ।
भदौ १४ः झापा महवारी इप्रका आक्रमण ।
असोज ८ः पहिलोपटक डोल्पा सदरमुकाम दुनैमा आक्रमण ।
असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी आक्रमण ।
कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी आक्रमण ।
पुस ५ः पहिलोपटक रुकुममा जिल्ला जनसरकार घोषणा ।
फागुन ः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ ।’ भन्ने मूल नारा तय ।
चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका आक्रमण ।

२०५८ साल
जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका आक्रमण ।
जेठ १९ः दरबार हत्याकाण्ड, राजा वीरेन्द्रको पूरै वंशनास ।
जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्र अन्त्य घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
जेठ २२ः ज्ञानेन्द्र शाहद्वारा आफैँलाई राजा घोषणा ।
असार २५ः लमजुङको विचौर प्रहरी चौकी आक्रमण ।
असार २८ः रोल्पाको होलेरी चौकीमा आक्रमण । सेना परिचालन प्रयास ।
असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी आक्रमण ।
साउन ४ः माओवादीविरुद्ध सेना परिचालन विवादका कारण गिरिजाप्रसाद कोइराला सरकार विघटन । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन ।
साउन ६ः ते¥हथुमको पोक्लावाङ प्रहरी चौकी आक्रमण ।
साउन ७ः बाजुराको पाण्डुसेन प्रहरी चौकी आक्रमण ।
साउन ८ः सरकारद्वारा युद्धविराम घोषणा ।
साउन १२ः कृष्णबहादुर महरा नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादी वार्ता टोली कीर्तिपुरमा सार्वजनिक ।
साउन १४ः पहिलो चरणको वार्ता गोदावरीमा ।
साउन २८–२९ ः दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।
कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा ।
मंसिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वाेच्च कमान्डर प्रचण्ड । संयुक्त क्रान्तिकारी जनपरिषद् नेपाल घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक । यही दिन जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
मंसिर १०ः जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा ।
मंसिर ११ः देउवा सरकारद्वारा सङ्कटकाल घोषणा । सेना परिचालन ।
मंसिर १२ः सेनाद्वारा अपरेसन शुरु । गिरफ्तारी, धरपकड, हत्या र राज्य आतंक ।
मंसिर २२ः राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
फागुन ४ः जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट आक्रमण ।

२०५९ साल
वैशाख १९ः रोल्पाको लिस्ने लेकमा सेनासँग भिडन्त ।
जेठ ८ः देउवा सरकारद्वारा संसद विघटन । मध्यावधि निर्वाचन कात्तिक २७ मा ।
जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी हत्या ।
असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या ।
असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
भदौ २३ः अर्घाखाँची सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा इप्रका आक्रमण ।
असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष आग्रह ।
असोज १८ः ज्ञानेन्द्र शाहद्वारा देउवा सरकार विघटन ।
कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा आक्रमण ।
मंसिर १८ः लहानमा इप्रका र बैङ्क आक्रमण ।
माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या ।
माघ १५ः युद्धविराम घोषणा ।
माघ १८ः बाबुराम भट्टराई नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ताटोली घोषणा ।
माघ २९ः युद्धविराम आचारसंहिता जारी ।
चैत १५ः वार्ता टोली सार्वजनिक ।
चैत २०ः काठमाडौँमा आमसभा ।

२०६० साल
वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा ।
वैशाख २७ः दोस्रो चरणको वार्ता ।
साउन ३२ः तेस्रो चरणको वार्ता हापुरेमा । रामेछापको दोरम्बामा सेनाद्वारा जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या ।
भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्ग घोषणा ।
कात्तिक १०ः गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी एसपीसहित चारको मृत्यु ।
कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट आक्रमण ।
कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा रेडियो जनगणतन्त्र नेपाल उद्घटन ।
कात्तिक २९ः मकवानपुरमा एम्बुसमा परी सेनाका ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
मंसिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
पुस २ः कपिलवस्तुको धानखोलामा एम्बुस आक्रमण ।
पुस २५ः मगरात स्वायत्त गणतन्त्र जनसरकार थवाङमा घोषणा ।
माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ ५ः भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकार घोषणा ।
माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकार घोषणा । थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
फागुन १९ः भोजपुर सदरमुकाम आक्रमण ।
चैत ७ः म्याग्दी सदरमुकाम बेनीमा हमला ।
चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज मोहन वैद्य भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी आक्रमण ।
चैत २५ः पशुपतिनगर इप्रका आक्रमण ।

२०६१ साल
वैशाख ३१ः माओवादी प्रथम ब्रिगेड कमान्डर नेपबहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा मृत्यु ।
जेठ ६ः डोटीको घन्टेश्वरमा सेनासँग भिडन्त ।
साउन–भदौः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
भदौ २०ः माओवादी केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
मंसिर १ः धादिङको कृष्णभीरमा एम्बुस ।
मंसिर २ः बाँकेको खैरीखोलामा एम्बुस ।
मंसिर ५ः कैलालीको पाण्डोनमा भिडन्त ।
पुस ७ः कर्णाली चिसापानीमा भिडन्त ।
पुस १७ः धनकुटाको सेउतीखोलामा एम्बुस ।
माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन ।
माघ २०–२२ः शाही ‘कू’ विरुद्ध तीनदिने नेपाल बन्द ।
फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
चैत २०–३०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।

२०६२ साल
वैशाख २६ः सिरहाको बन्दीपुरमा सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्र ब्यारेकमा आक्रमण ।
जेठ २७ः काभ्रेको नार्केमा आक्रमण ।
असार ८ः भोजपुरको पान्धारेमा आक्रमण ।
असार ११ः अर्घाखाँचीको खनदहमा आक्रमण ।
साउन २३ः कालिकोटको पिलीमा आक्रमण ।
असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविराम घोषणा ।
मंसिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।
मंसिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीति घोषणा ।
मंसिर १४ः सेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को सहादत ।
मंसिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।
पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्ग घोषणा ।
माघ १ः राजधानीका थानकोट र दधिकोट इप्रका आक्रमण
माघ ८ः पाल्पा सदरमुकाम तानसेन आक्रमण ।
माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण नगर निर्वाचन विफल ।
माघ २७ः रूपन्देहीको सुनवलमा आक्रमण ।
चैत २४ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन शुरु ।

२०६३ साल
वैशाख ११ः शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभा पुनःस्थापना ।
जेठ ४ ः पुनःस्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा । जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।
असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।
साउन २४ः सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
कात्तिक २२ः सात दल र माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।
मंसिर ५ः प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार वर्षे माओवादी जनयुद्ध समाप्ति घोषणा ।
माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
चैत १८ ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

२०६४ साल
साउन १८ः नेकपा माओवादीको पाँचौँ विस्तारित बैठक साउन १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा सम्पन्न ।
भदौ ७ः माओवादीद्वारा समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया ।
असोज १ः सरकार, सात राजनीतिक दल गम्भीर नबनेको र आफूले अघि सारेका २२ बुँदे मागपत्रउपर कुनै सुनुवाई नभएको भन्दै माओवादी संयुक्त सरकारबाट हटी सोही दिन खुलामञ्चमा जनसभा ।
असोज ६ः नेपाली कांग्रेसको सङ्घीय गणतन्त्रमा जाने सम्बन्धमा महासमिति बैठक ।
असोज १३ः माओवादीद्वारा देशव्यापी प्रदर्शन ।
मंसिर १५ः राष्ट्रियता, गणतन्त्र र संविधानसभा निर्वाचनको सन्देश छर्दै योङ कम्युनिस्ट लिगद्वारा मेची–महाकाली अभियान ।
पुस ८ः माओवादी र संसदवादी राजनीतिक दलहरूबीच विभिन्न विषयमा २३ बुँदे सहमति । सहमतिअनुसार अन्तरिम संविधान–२०६३ मा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने र यसको कार्यान्वयन चैत मसान्तभित्र हुने संविधानसभा निर्वाचनले गर्ने निर्णय । प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीअन्तर्गत ३३५ सदस्य संख्या र प्रधानमन्त्रीबाट मनोनित हुने २६ संख्या किटान ।
पुस २१ः काभ्रेको नमोबुद्ध फुलबारी रिसोर्टमा माओवादीको केन्द्रीय कमिटी बैठक ।
पुस २७ः माओवादी, कांग्रेस र एमालेद्वारा चैत २८ गते संविधानसभा निर्वाचन गर्ने निर्णय ।
चैत २८ः पहिलोपटक संविधान सभा निर्वाचन ।

२०६५ साल
वैशाख ३०ः राष्ट्राध्यक्षको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा जेठ १५ गते संविधानसभा पहिलो बैठक आह्वान ।
जेठ १४ः संविधानसभा सदस्यद्वारा शपथग्रहण ।
जेठ १५ः ऐतिहासिक संविधानसभाको पहिलो बैठक, औपचारिकरूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन ।
जेठ २९ः ज्ञानेन्द्रले नारायणहिटीमा पत्रकार सम्मेलन गर्दै नागार्जुन दरबार प्रस्थान ।

                                                              भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…