काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।
क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो छन् । भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ ।