काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणका कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ । काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरि पनि बासुरी नै बजाएको समाचार दिने बताउनुभयो । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको दुखेसो पनि पाेख्नुभयो ।
उहाँले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताउनुभयो । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको उहाँको गुनासो छ । आफूले तुइन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भएपनि तुइनको फोटो खिचेर छाप्ने गरेको भन्दै दुखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले देखेँ एकजना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पूर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छाैँ भने खुसी हुनुपर्ने । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुःख गर्या होला ? कठै बरी ।’
उहाँले काठमाडाैं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नयाँ प्रविधिको प्रयोगमार्फत विकास र सेवाका लागि सर्मपित हुँदै गएको भन्दै आइतबार आफुले झापामा गरेको पुल, बाटोको उद्घाटन तथा सिलन्यासको फेयरिस्त पनि प्रस्तुत गर्नुभयो ।