कृषिप्रधान भनिएतापनि पछिल्लो समय मुलुकमा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न तथा कृषिजन्य सामग्री आयात हुने गरेको छ । खाद्यान्न तथा कृषिजन्य साम्रग्री आयात झन झन बढ्दो छ । यसले आत्मनिर्भर बन्ने मुलुकको प्रयासलाई चुनौती दिइरहेको छ । यस्तो अवस्थामा नेकपा स्यायी कमिटी सदस्य भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । कृषिमन्त्री भुसाल मुलुकलाई कसरी उत्पादनमा आत्मनिर्भर बनाउने, युवा पुस्तालाई कसरी कृषि क्षेत्रमा लगाउने, मुलुकको समृद्दिमा कृषिलाई कसरी गाँस्ने , भन्ने चिन्तन गरिरहनुभएको छ । त्यसको लागि उहाँले सम्बन्धित क्षेत्रका विभिन्न विज्ञबाट सुझाव लिइरहनुभएको छ ।
मुलुकको कृषि क्षेत्रलाई व्यवस्थित गर्न मन्त्री भुसाललाई विभिन्न व्यक्तिहरुले सुझाव दिइरहेका छन् । यसैक्रममा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि सुझावको फेहरिस्त पेश गर्नुभएको छ । पूर्वमन्त्री पौडेलले मन्त्री भुसाललाई बुधबार मन्त्रालयमा भेटेर उत्पादनसँग सम्बन्धित ६ बुँदे लिखित सुझाव पेश गर्नुभएको हो ।
मा.घनश्याम भूसाल, हालका कृषि मन्त्री । आजभन्दा चालीस वर्ष अघीदेखिका मेरा अनन्य मित्र । २०३७ सालमा हामीसँगै वीरगंज जेलमा थियौं कलिलो उमेरमै राजनितीमा लागेर जेल परेको युवा विद्यार्थी ।
म भर्खर एसएलसी दिएर बसेको थिएँ । २०३७ साल चैत्र १४ गते अनेरास्ववियुको देशव्यापी बन्दको सिलसिलामा बारा जिल्लाको कोलहवीबाट पक्राउ परेर राजकाज मुद्दा अन्तरगत जेल परेँ । उहाँ रूपन्देहीबाट पहिले नै राजकाज मुद्दामै पक्राऊ परेर थुनामै हुनुहुन्थ्यो । हाम्रो पहिलो भेट वीरगंज जेलमै भयो । त्यसैबेला देखी हाम्रो संगत भयो । हाम्रो लडाईं र लक्ष्य साझा भयो । वैज्ञानिक र जीवनोपयोगी शिक्षा अनि कृषि क्रान्ति हाम्रा लक्ष्य थिए । आज उहा कृषि मन्त्री हुनु भएको छ । हाम्रो पार्टी नेकपाको बलीयो सरकार छ ।
मा. घनश्याम भूसाल जी मार्क्सवादका अध्येता र समाजवादका व्याख्याता पनि हुनुहुन्छ । अहिले हामी उहाँसँग माक्र्सवादभन्दा बढी कृषि क्रान्ति र यसको प्रारम्भको कुरा गरिरहेका छौं । हो, हामी मन्त्रालय पुग्दा उहाँ कृर्षिका विविध क्षेत्रमा लागत घटाएर उत्पादन कसरी बढाउन सकिन्छ ? कृषि क्षेत्रमै लागेर कसरी नाफा कमाउन सकिन्छ ? र किसानलाई कृषिमा भविष्य छ भन्ने विश्वास कसरी जगाउन सकिन्छ ? भन्ने बारेमा छलफल गरिरहनु भएको थियो । उहाँ एउटा किसानले कृर्षि उत्पादनमा लागेर गर्व गर्न सक्ने अवस्था कसरी बनाउन सकिन्छ ? भनेर चिन्तित हुनुहुन्थ्यो र यो हाम्रो देशको कृषि क्षेत्रको चुनौती हो, भन्दै यही चुनौतीलाई अवसरमा कसरी परिवर्तन गर्न सकिन्छ ? भनेर गम्भीर हुनुहुन्थ्यो ।
यसै सन्दर्भमा हामीले पनि माघ १६् देखि १८ गते बारामा एउटा विशेष छलफल गरेका थियौं । मध्य तराईमा कृषिलाई कसरी सुरक्षित र आकर्षक बनाउन सकिन्छ ? त्यसैको निष्कर्ष बुझाउने काम भयो ।
माननीय कृषि मन्त्री ज्यू ,कृषि तथा पशुपन्क्षी मन्त्रालय सिंहदरबार ।
विषय : बारा जिल्लाका किसानको समस्या र तिनको समाधानका शन्दर्भमा ।
उपरोक्त सम्वन्धमा २०७६ माघ १६ गतेको शहीद दिवस र नेपालका पहिलो क्रान्तिकारी किसान शहीद मुखलाल महतोको स्मृति दिवशको उपलक्ष्यमा शहीद मुखलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल किसान महासंघद्वारा १८ गते शनिबार कलैयामा आयोजित कृषि सम्बन्धी विशेष छलफलबाट प्राप्त निष्कर्ष प्रस्तुत गरेका छौं । यसमा आवश्यक छलफल गरी सरकारले कार्यान्वयन तहमा पुग्नको लागि स्थानीय किसान समुदायको मागको रूपमा मन्त्रीसमक्ष प्रस्तुत गरिएको छ ।
तपसिल
१. परवानीपुर कृषि अनुसन्धान केन्द्रपरवानीपुर कृषि अनुसन्धान केन्द्र मध्य तराईकै सबैभन्दा ठूलो र महत्वपूर्ण अनुसन्धान केन्द्र हो । यसलाई बीउ बिजनको अनुसन्धान र उत्पादनमा केन्द्रित गरी व्यवस्थित रूपमा अघि बढाउनु पर्छ । अनुसन्धान केन्द्रलाई कृषिको उच्च तहको अध्ययन र अनुसन्धान महाविद्यालयको रूपमा विकास गरिनु पर्छ ।
२ .केरा खेतीकेरा खेती बिस्तारै यस क्षेत्रको लोकप्रिय खेतीको रूपमा विकास हुँदैछ । खासगरी बाराको निजगढमा केरा ज्यादै लोकप्रिय छ । निजगढलाई केरा सुपरजोन घोषित गरी अघि बढाउनु पर्छ । यसको लागि आवश्यक सिँचाइको व्यवस्था गरिनु पर्छ । केरामा लाग्ने रोग निवारणको लागि आवश्यक प्रविधि अनुसन्धान गरी उपलब्धताको ग्यारेन्टी गरिनु पर्छ । केराको बुहु प्रयोगको लागि केराको पात र खेर जाने वस्तुबाट प्रांगारिक मल बनाउन अनुदानको व्यवस्था गरिनु पर्छ । केराको सुप्लो र पातबाट फाइभर निकाली कपडासहित अनेक वस्तु उत्पादन गर्न आवश्यक सीप र प्रविधि उपलब्ध गराउनु पर्छ ।
३. उखु बालीउखुबाली तराईकै सबभन्दा बढी रूचाइएको नगदेबाली हो । यसको समस्या पनि मध्य तराईको सबभन्दा जल्दोबल्दो समस्या छ । किसानले उत्पादन गरेको उखुको वार्षिक सम्झौता गरी खरिदको ग्यारेन्टी गरिनु पर्छ । खरिद गरिएको उखुको एक साताभित्र भुक्तानी हुने व्यवस्था गर्नु पर्छ । उखुको मूल्य निर्धारण प्रत्येक साल एक वर्षअघि नै गर्ने व्यवस्था गर्नु पर्छ । नियमित मूल्य निर्धारण गर्न, किसान र मिल मालिकका बिचको समस्या पहिचान गरी समाधान गर्न र यसलाई नियमित व्यवस्थापन गर्न सरकारले अधिकार सम्पन्न उखु विकास बोर्ड गठन गर्नु पर्छ । उखुका नयाँ जातको अनुसन्धान गरी सिफारिस गर्ने व्यवस्था गर्नुपर्छ । राज्यले नै सम्भाव्यताका आधारमा निश्चित संख्यामा चिनी मिल स्थापना गरी सञ्चालनसमेत गर्नु पर्छ ।
४. तरकारी, आलु र प्याजदेशले अहिले आलु, प्याज र तरकारी आयातमा अर्बौं रकम खर्च गर्नु परिरहेको छ । यस्ता तरकारीका जातको उत्पादन वृद्दि गरी आयात घटाउनु पर्छ । प्याजको लागि बाराको सुवर्ण गाउँपालिका लगायत पहिचान गरिएका गाउँपालिकालाई पकेट क्षेत्र घोषणा गरी ‘कोल्ड स्टोरेज’ को स्थापना गर्नु पर्छ । आलुका लागिसमेत बाराको सिम्रौनगढजस्तै सम्भाव्यता भएका गाउँपालिकालाई पकेट क्षेत्र तोकी त्यहीअनुसार सहकारीको सहभागितामा ‘कोल्ड स्टोरेज’ स्थापना गर्नुपर्छ ।
५, माछा पालनबारा जिल्लाको बोधवन माछागाउँ, माछा सुपरजोन सिम्रौनगढ र मध्य तराईको माछा उत्पादनमा अग्रस्थानमा छ । यहाँको माछापालनलाई प्रोत्साहन गरी उत्पादन बढाउन माछागाउँ बोधवनसहित पुरै बारालाई सुपरजोनमा समेट्नु पर्छ र यसलाई दिगो तथा व्यवसायिक बनाउन माछाका लागि गुणस्तरिय दाना उद्योग स्थापना गर्नु पर्छ । माछा पोखरीको लागि विद्युत्प्राधिकरणले सिंचाई मिटरको व्यवस्था गर्नु पर्छ । माछाको उपचार र आधुनिक प्रविधिको समस्या समाधानको लागि थप मत्स्य विकास कार्यालय स्थापना गर्नु पर्छ । माछाको उत्पादन बढाई आयात घटाउन जिउँदो माछा ओसारपसार गर्ने साधनमा अनुदानको व्यवस्था गरिनु पर्छ । आवश्यकता अनुसार कोल स्टोरेज निर्माण गर्नु पर्छ । माछाबाट काँडा निकाली ‘बोनलेस’ मासु उत्पादनको लागि त्यस सबन्धी आधुनिक ‘फैक्ट्री’ स्थापना गर्नु पर्छ । पांगासियस जातको माछा उत्पादनमा जोड दिइनुपर्छ ।
५. दुध उत्पादनबारा दुध उत्पादनका दृष्टिलेसमेत अग्रणी जिल्ला हो । यहाँ दैनिक ५० हजार लिटरभन्दा बढी दुध उत्पादन भइरहेको छ । प्रत्येक साल दुध उत्पादनमा वृद्दि भइरहेकै छ । तर दुधको लागत मूल्य घटाउन आवश्यक छ । यसका लागि स्तरिय दाना सिफारिस हुनु पर्दछ । दिगो जातका गाई, भैंसी र तिनको ब्रिडिङको व्यवस्था गर्नु पर्छ । दुधको व्यापक उत्पादन र बहुआयामिक प्रयोगलाई प्रोत्साहन गर्नु पर्छ । आधुनिक प्रविधिको प्रयोग र आफ्नै देशमा धुलो दुध उत्पादन कारखाना चलाउन जोड दिनु आवश्यक छ ।
६, धान, गहुँ, मकैयी बालीका लागि बारी जोत्ने, रोप्ने, र बाली उठाउनेसमेत कार्य गर्न आधुनिक प्रविधिका मेसिन भित्र्याउनु पर्छ । स्तरिय बीउ तथा मलको उत्पादन र सिफारिस गरिनु पर्छ । कम हानिकारक रोगनाशक औषधि सिफारिस तथा आयात गरिनु पर्छ । अधिकतम् प्रांगारिक मल र औषधिको प्रयोग गर्नु पर्छ । समयमा समर्थन मूल्य तोकिनु पर्छ । दुई बाली धान लगाउन प्रोत्साहन गर्नु पर्छ । अत्याधुनिक प्रविधिको धान प्रशोधन मिल स्थापना गरेर उपभोक्ताको रूची अनुसारको चामल उत्पादन गर्नु पर्छ, जसले चामल आयात घटाउँछ र किसानको आम्दानीसमेत बढाउन सकिन्छ ।
पुरूषोत्तम पौडेलअध्यक्षशहीद मुखलाल स्मृति प्रतिष्ठान, नेपाल । प्रेम बराल ,अध्यक्षअखिल नेपाल किसान महासंघ, नेपाल ।