काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिले फरक/फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । खासगरी सबै पत्रिकाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनबारेकाे विवाद समाधान गर्न गठित कार्यदलले पार्टी नेतृत्वलाई संशोधन बिना कार्यान्वयन नगर्न भन्दै प्रतिवेदन बुझाएको विषयमा मुख्य समाचार बनाएका छन् । यथास्थितिमा अनुमोदन गरे गलत नजिर बस्ने समितिको निष्कर्श रहेको छ ।
शुक्रबार जनता समाचार डट कम मा कठोर बन्दै ओली, मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर हुन सक्ने, आनद्वारा एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन, अख्तियारको निगरानीमा बाँस्कोटा, छिट्टै बयान लिने तयारी, अमेरिकी राष्ट्रपति ट्रम्पको सञ्चार सुरक्षा ह्याक, हेडसरसहित ८ जना पक्राउ, मोबाइल बरामद, दोलखा भीमसेनमा पसिना : अनिष्ट संकेत, राष्ट्रपतिलाई जानकारी गराइयो, तिलावे पुलको निर्माण अलपत्र, सम्बन्धित निकाय मौन र शुभेच्छुकसँग बाँस्कोटाले भने, ‘प्रश्न उठ्नासाथ ढ्याक्क राजीनामा दिएँ’ लगायतका समाचार प्रकाशन गरिए ।
कान्तिपुर दैनिकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनबारेकाे विवाद समाधान गर्न गठित कार्यदलले सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको विषयलाई प्रमुख समाचार बनाइएको छ । एमसीसीबारे नेकपामा चर्को विवाद भएपछि माघ १९ मा केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए ।
पाटीद्धारा गठित कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिइएको कार्यदल संयोजक झलनाथ खनालले बताउनुभएको समाचारमा उल्लेख छ ।
प्रतिवेदनको निश्कर्श सुनाउँदै खनालले भन्नुभएको छ, ‘जस्ताको तस्तै अघि बढाए नेपालको पोजिसन अमेरिकाको भन्दा तल पर्छ, हाम्रो सार्वभौमसत्तामाथि प्रश्न उठ्छ ।’ आफूहरुले २० दिन लगाएर प्रतिवेदन तयार पारेको खनालको भनाइ छ । प्रतिवेदन तयार पार्ने क्रममा गम्भीर रुपले सबै डकुमेन्टको अध्ययन गरिएको एमसीसीको मात्रै नभई त्यसका सहायक सम्झौतासमेत हेरिएको पनि खनालले बताउनुभएको हो ।
गोरखापत्र दैनिकले नेपाली सेनाको कला प्रदर्शनी आमनागरिकलाई सहज बन्दै गएको समाचारलाई शीर्ष समाचार बनाइएको छ । समाचारमा लेखिएअनुसार यो पटकबाट सेनाले सर्वसाधारणलाई पनि मेला अवलोकन हेर्न सहज होस् भन्ने हेतुले काठमाडौं मल र त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको भित्तामा जडित डिजिटल बोर्डबाट समेत प्रत्यक्ष प्रसारण शुरु गरेको हो ।
पत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक गढी किल्लाको संरक्षण गरी इतिहासको कदर गर्नुपर्ने बताउनुभएको सन्दर्भलाई पनि समेटिएको छ । साना वन्यजन्तुको तस्करी नरोकिएको विषयलाई पनि पत्रिकाको प्रथम पृष्ठमै स्थान दिइएको छ ।
एमसीसी संशोधनपछि मात्रै अनुमोदन शीर्षकमा प्रमुख समाचार बनाएको नागरिक दैनिकले ‘शिक्षामा लैंगिक विभेद’ विषयको अर्को सन्दर्भलाई पनि विशेष महत्वका साथ प्रकाशन गरेको छ । समाचार अनुसार सुदूरपश्चिमको बझाङ जिल्लाका कतिपय शिक्षित आमाबाबुले नै छोराछोरी दुवैलाई विद्यालय पढ्न पठाएपनि विद्यालय छनौट गर्दा विभेद गर्ने गरेको पाइएको छ ।
उनीहरुले छोरीलाई सरकारी र छोरालाई निजी विद्यालयमा पठाएर लैंगिक विभेद गर्ने गरेका छन् । जिल्लामा विद्यालय जाने उमेरका कयौं बालबालिका घरधन्दामा व्यस्त हुने गरेको पाइएको समाचारमा उल्लेख छ ।