फाइल तस्बिर
काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मंगलापुरमा लु.४० प ५९४८ नम्बरको स्कुटर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका(६ बस्ने ३२ वर्षीय रोशन गुप्ताको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका गुप्ताको क्रिमसन अस्पतालमा मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देहीकै सियारी गाउँपालिका–२ मैनहियामा लु.७ प ६३३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सन्तोष चौधरीकी १ वर्षीया छोरी करुणा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी करुणाको शुक्रबार मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्तोषी चौधरी र मोटरसाइकल चालकको उपचार भइरहेको छ ।
कास्कीको पोखरा महानगरपालिका–२२ मा ग.२ च ७७६३ नम्बरको कार शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार पोखरा महानगरपालिका–१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरमा ना.५ ख ९६ नम्बरको बसले से.६ प ६८२२ नम्बरको मोटरसाइकललाईशुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार डडेल्धुरा आलीताल गाउँपालिका–८ बस्ने २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको छ । गम्भीर घाइते भएका भट्टको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१८ बिष्णु चोकमा बा.१८ च ५७०९ नम्बरको कार शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार २४ वर्षीय नरेश कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कारका चालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपारसी (पश्चिम)को सुनवल नगरपालिका–१२ हरकट्टामा भे.१ ख ३१६२ नम्बरको बसले लु.१९ प ७९७८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने २७ वर्षीय केशव घिमिरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको महाभारत गाउँपालिका–६ ग्वालटारमा ना.६ त २४६८ नम्बरको ट्याक्टर अनियन्त्रित शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरको टेलरले किचेर ट्याक्टरमा सवार ३१ वर्षीय कुमार बैजुको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।