काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक/रफरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । पत्रिकाहरुले जन्मघरमा प्रधानमन्त्रीको जन्मोत्सव र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको तथा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनले चाहेअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको विषयलाई प्रमुख स्थान दिएर छापेका छन् ।
आइतबार जनता समाचार डट कम मा पशुपति विकास कोषले गर्यो साधुसन्तको विदाई, नेप्से परिसूचक साढे दुई वर्ष यताकै उच्च विन्दुमा, प्रिन्टिङ प्रेस खरिद र ललिता निवास प्रकरण : सत्तापक्ष र प्रतिपक्षीको जुहारी, जनकपुरमा रेल्वे स्टेशननजिकै भर्खर जन्मिएको शिशुको शव, सुनको मूल्यमा नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च, बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग, छायाँ मन्त्रिमण्डलको पहिलो बैठक, राजनीतिक घटनाक्रमको समीक्षा र अश्लिल भिडियो बनाउने ३ जना पक्राउ लगायतका समाचार प्रकाशन गरिए ।
नागरिक दैनिक मा भ्रष्टाचारका दुई मुख्य माध्याममा जिटुजी र नीतिगत निर्णयहरु हुने गरेको भन्दै विश्लेषणात्मक समाचार बनाइएको छ । सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न यी दुई माध्याम प्रयोग हुँदै आइरहेको पाइएको हो । पछिल्लो समय मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारलाई छानबिनको अधिकार नभएकाले अनियमितता गर्न नीतिगत निर्णयलाई सहारा बनाउन थालिएको देखिन्छ ।
त्यसैगरी सिधै हुने जिटुजीमा आर्थिक अपचलनको सम्भावना नहुने तर अहिले जिटुजीको नाममा एजेन्ट घुसाएर अनियमितता गर्ने गरिएको समाचारको सार छ । समाचारमा उल्लेख भएअनुसार करिब दुई हजार मेगावाटको बूढिगण्डकी जलविद्युत आयोजनाको ठेक्का, अहिलेको चर्चित ललिता निवासको जग्गा प्रकरणलगायतका विषयहरूमा मन्त्रिपरिषद्का नीतिगत निर्णयको मुख्य भूमिका रहने गरेको छ ।
अन्नपूर्ण पोष्ट् दैनिक मा नेकपामा कार्यदल विवाद शीर्षकमा प्रमुख समाचार बनाइएको छ । समाचार अनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनले चाहेअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको छ। गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू राष्ट्रिय सभामा मनोनित हुने अडान राख्दै आउनुभएको समाचारमा लेखिएको छ ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । स्थायी समिति सदस्य सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठनको विषय गोप्य राख्ने र गोप्य रुपमै त्यसले काम गर्ने तय भएको पत्रिकाले लेखेको छ ।
कारोबार दैनिक मा कोरोनाका कारण कोरिया जाने नेपाली रोकिएको सन्दर्भलाई महत्वपूर्ण स्थान दिएर सम्प्रेषण गरिएको छ । समाचार अनुसार कोरियामा कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपालबाट जाने श्रमिकलाई तत्कालका लागि प्रवेशमा रोक लगाइएको छ । कोरिया सरकारको अनुरोधमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान उडान तालिका प्राप्त गरेका २ सय नेपालीलाई कोरिया प्रवेशमा रोक लगाइएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले कोरिया सरकारको अनुरोधमा उडान तालिका तयार भएका नेपालीलाई रोकिएको बताएका छन् । यद्दपी नेपाल सरकारले हवाई टिकट नभएका कारण रोकिएको जनाएको समाचारमा उल्लेख छ ।कारोबारले उत्पादन बढेसँगै सिमेन्ट आयात घट्दै गएको र सेयर बजारमा उच्च सुधारसँगै जोखिम बढ्न थालेको दुई अलग /अलग विषयका समाचारलाई पनि प्रथम पृष्ठमै समेटेको छ ।