काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश रेग्मीको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित घरमा सोमबार मध्यरातमा ‘ड्याङ्ग’ आवाज आयो । आवाजसँगै घर जोडले थर्कियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी रेग्मी संयोगवस त्यसबेला घरमै हुनुहुन्थ्यो । उहाँको परिवार खाना खाएर सुत्ने तरखरमा थियो । ठूलो आवाजसहित घर जोडले हल्लिएपछि रेग्मी परिवारले भूकम्प आएछ कि ? भन्ने ठाने । माथिल्लो तलामा रहेका परिवारका सबै जना तल ओर्लिए । भूकम्प होइन रहेछ । तीब्र गतिमा हुइँकिएको बा १३ च २३३९ नम्बर गाडी सडकबाट उडेर घरमा बजारिएको रहेछ । ठूलो आवाजसहित घर हल्लिएको त्यही कारणले रहेछ ।
‘ठूलो आवाजसहित घर हल्लियो, भूकम्प गयो भनेर सबै आत्तिए’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘आत्तिँदै तल झर्यौं । गाडी उडेर घरमा जोतिएको रहेछ । अलमलिँदै गाडीमा हेरेँ, २ जना रहेछन् । ड्राइभर भाग्न खोज्यो समातें । प्रहरी कार्यालयमा खबर गरेँ । ड्राइभरलाई समातेर प्रहरीमा कार्यालयमा राखेका छौ ।’
पेप्सीकोलाको सेतो घर भन्ने ठाउँमा सडकको किनारमा छ, डिएसपी रेग्मीको निवास । घरको पश्चिममा फराकिलो सडक छ । सडकको पश्चिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । रेग्मीको घर सडक छेउमै भएता पनि कम्पाउण्ड ठूलै छ । सडकमा गुडेको गाडी हतपत घरसम्म पुग्न सक्ने अवस्था छैन् । सडकमा गुडिरहेको गाडी कम्पाउण्ड फोरेर घरको भित्तामा जोतिन पुगेको छ । सडकमा गुडेको गाडी किन र कसरी घरमा जोतिन पुग्यो ? अनुसन्धानको विषय बनेको छ । ‘गाडी गुडाएर घरमा खसाल्नुको कारण के हो ? उहाँले भन्नुभयो, ‘ कि त मार्ने उदेश्यले यस्तो गरेको हनुपर्छ या त ड्राइभरले चलाउन नजानेर हो । यसमा हदैसम्मको कारबाही हुनुपर्छ ।’
गाडी घरमा जोतिए पनि त्यसबाट मानवीय क्षति भने भएको छैन । कम्पाउण्ड पुरै भत्काएको छ । घरको भित्तामा समेत क्षति पुर्याएको छ । गाडीको अगाडीको भाग कच्याक्ककुचुक्क भएको छ । ‘रातको समय र घरबाहिर कोही नभएको अवस्थामा परेर धन्न कसैलाई केही भएन’ रेम्मीले भन्नुभयो, ‘घर बाहिर मान्छे भएको बेला परेको भए, सखापै पार्ने रहेछ ।’
डिएसपी रेग्मीले सवारी धनी र चालकबारे छानविन भइरहेको जानकारी दिनुभयो । ‘गाडी ठेकेदारको हो भन्ने सुनेको छु’ उहाँले भन्नुभयो, समाजका हरेक क्षेत्रमा दलालको बिगबिगी छ । यो गाडी पनि दलालकै परेछ । दलालीकै परकाष्ठा हो यो ।’