पुष्पराज अधिकारी मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको छैटौँ नगरसभा बुधबार सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम एवं बजेट समीक्षा सहितको संशोधन बजेट प्रस्तुत गरिएको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सभाध्यक्षतामा भएको नगरसभामा उपमेयर मिना कुमारी लामाले चालु आर्थिक वर्षमा भएको कार्य समीक्षा एवं नीति कार्यक्रम तथा संशोधन सहितको बजेट प्रस्तुत गर्नुभएको थियो । चालु वर्षका लागि उपमहानगरपालिकाले विनियोजन गरेको एक अर्ब ८१ करोड १८ लाखको बजेट वृद्धि भई दुई अर्ब ४७ करोड ३२ लाख ३५ हजार पुगेको उपमेयर लामाले बताउनुभयो । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट भन्दा हेटौँडा उपमहानगपालिकाको बजेट ६६ करोडले बढेको छ ।
उपमहानगरको आन्तरिक र बाह्य आम्दानी बढेकाले बजेट बढेको नगरसभामा जानकारी दिइएको हो । उपमहानगरको पुर्वाधार विकासमा चालु आर्थिक वर्षमा ७६ करोड २७ लाख ७ हजारको ५ सय ५८ वटा योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार बराबरको ३ सय २५ वटा योजना सम्झौता पछि कार्यान्वयनमा गएको छ । उपमहानगरले खेलमैदान निर्माणमा २, विद्यालय पूर्वाधार तर्फ ३, खानेपानी योजना १ वटा, मन्दिर पुर्वाधार तर्फ १, पर्यटन पूर्वाधारतर्फ १, तटबन्धनतर्फ १ र सुरक्षा पूर्वाधार (सीसी क्यामेरा जडान) तर्फ एउटा सम्झौतापछि कार्यान्वयनमा गएको जनाएको छ । बिनियोजित योजनामध्ये कूल ४ करोड २३ लाख ७९ हजार बराबरको जम्मा ७३ वटा योजनाको काम सम्पन्न भइसकेको जनाएको छ ।
बागमती प्रदेश सरकारका लागि प्रदेशस्तरीय भौतिक पूर्वाधारहरु निर्माणका लागि नगरक्षेत्रका २० स्थानका जग्गा क्षेत्र उपलव्ध गराउने निर्णय गरिएको उपमेयर मिना लामाले बताइन् । नगरसभामा हेटौँडा १० राप्ती तटमा रहेको दाहसंस्कार स्थललाई व्यवस्थित र वातावरणमैत्री मेशिन जडान गर्ने, युवा तथा बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि हेटौँडा ८ को चन्द्रोदय माविको चउरमा प्रदेश सरकारसँगको सहकार्यमा प्याराफिट सहितको खेलकुद प्रशिक्षण केन्द्रको निर्माण गर्ने काम अघि बढेको बताइन् ।
हेटौँडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समय सापेक्ष सुविधायुक्त सभागृह सहितको शहीद बासुदेव बहुउदेश्यीय व्यावसायिक कम्पलेक्स र भ्यूटावर निर्माणको लागि बिस्तृत परियोजना तयार पारिएको उपमेयर लामाले जानकारी दिइन् । उपमहानगरले ६३ किलो मिटर लम्बाईकोे चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्दै हेटौँडा १५ र १६ मा २ करोड ४३ लाख ७५ हजार विनियोजन गरी कामको प्रकृया अघि बढाएको जनाएको छ ।
साथै वडा नम्बर १७ र १८ को सडक खण्ड निर्माणका लागि प्रदेश सरकारसंगको साझेदारीमा समपूरक अनुदान अन्तर्गत १ करोड ९९ लाख ९८ हजार बजेट विनियोजन गरी बोलपत्र आब्हान गरेको छ । शहरी क्षेत्रको सडकको स्तरोन्नती गरी यातायात आवागमनलाई व्यवस्थित गर्न प्रदेश सरकारसँगको साझेदारीमा १ करोड ७९ लाख ५२ हजार बजेट विनियोजन गरी काम अघि बढाइएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।