काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बलराम बाँसकोटाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने गरी सचिवालयमा बनेको सहमति सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । ‘पुच्छरले टाउको हल्लाउने नभई, टाउकोले पुच्छर हल्लाउने’ बताउनुहुँदै बाँसकोटाले सरकारले नेकपा सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नेमा कुनै द्विविधा नरहेको बताउनुभएको हो ।
बिहीबार रेडियो जनताको कार्यक्रम समय सम्वादमा राष्ट्रिय सभाका सांसदसमेत रहनुभएका बाँस्कोटाले एउटा गतिशील पार्टीमा विभिन्न एजेण्डाहरु उठ्ने, बहस, छलफल तथा विवादहरु समेत हुने कुरा सामान्य रहेको बताउनुभयो ।
संविधान संशोधनको सन्दर्भमा उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत नभएर सैद्दान्तिक विषय उठाएको बाँस्कोटाको भनाई छ । भारतलगायतका धेरै देशहरुमा संघीय संसद र राष्ट्रिय सभाको हैसियत र सम्मान संवैधानिक रुपमा बराबर भएको र दुवै निर्वाचित संस्था भएकाले राष्ट्रिय सभालाई संघीय संसदभन्दा कमजोर संस्था होइन भन्ने पुष्टि गर्न संविधानमा बराबर ‘स्टाटस’ बनाइनुपर्नेमा गौतमको जोड रहने गरेको बाँसकोटाले उल्लेख गर्नुभयो ।
नेकपाभित्र वामदेव गौतमलाई नेताहरुले किन तानातान गरिरहेका छन् ? भन्ने प्रश्नमा नेता बाँसकोटाले भन्नुभयो, ‘कमरेड वामदेव एक गतिशील, गणतन्त्रवादी र जनयुद्दको अन्त्यदेखि पार्टी एक बनाउनेसम्म महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहनुभएको क्रियाशील नेता भएकाले पार्टीको आवश्यकतामा जहिले परिरहने गर्नुहुन्छ ।’ ‘सरकार सञ्चालनको अनुभव र पार्टीमासमेत संगठकको रुपमा स्थापित भएकाले नेताहरुलाई पनि उहाँको आवश्यकता परिरहने गरेको हामीले देखेका छौं’ उहाँले भन्नुभयो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, प्रवत्ता नारायणकाजी श्रेष्ठ तथा महासचिव विष्णु पौडेललगायतका सचिवालयका नेताहरुले नै गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको सर्वसम्मत निर्णय भइसकेको बताएकाले अब निर्णय परिवर्तन नहुने पक्कापक्की भएको बाँसकोटाले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओली आफ्नो निश्चित घेराबाट बाहिर निस्किएर सरकार तथा पार्टीलाई पारदर्शी ढंगबाट सञ्चालन गर्ने मनसायमा रहेपनि केही व्यक्तिहरुले बेला/बेला प्रधानमन्त्रीलाई बेठिक 'डाइरेक्सन' गर्ने गरेको उहाँको भनाई छ ।
रेडियाे संवाद यहाँ सुन्न सकिन्छ :https://www.facebook.com/radiojanata89.1/videos/2654656311422496/?t=4