सिरहा । सिरहामा परेको पानीका कारण इँटा उद्योगमा करोडौँ मूल्यको क्षति पुगेको छ ।
जिल्लाका विभिन्न ठाउँमा रहेका ५३ भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा करिव ६ करोड भन्दा बढी मूल्यको क्षति भएको व्यवसायीले बताएका छन् ।
नेपाल इँटा भट्टा महासंघका जिल्ला कोषाध्यक्ष रामसगुन यादवको सगुन इटा उद्योगमा मात्र करिव ५ लाख इँटा पानीले गलेको बताए । उनले आफ्नो उद्योगमा मात्र करिव १५ लाख मूल्य बराबरको इँटा बिग्रिएको बताउँदै सवैतिर यस्तै अवस्था रहेको बताए ।
गोलबजार नपा–६ स्थित गणपति इँटा उद्योगका सञ्चालक कृष्णा सिंहको ३ वटा उद्योगमा मात्र करिव एक करोड मूल्य बरावरको क्षती भएको बताए । उनले आफ्नो तीनवटा उद्योगमा तयारी अवस्थामा रहेको करिव ३० लाखभन्दा बढी इँटा पानीले भिजेर गलेको बताए ।
धनगढीमाई नपाका पद्मा इँटा उद्योगमा पनि करिव ८ लाख इँटा पानीले भिजेर कामै नलाग्ने भएको सञ्चालक चन्द्र कुमार राईले बताए । उनले पानीले उद्योगमा ठूलो नोक्सानी भएको दुखेसो गरे ।
पानीले भिजेर नमस्ते इँटा उद्योग लक्ष्मीपुर पतारीमा ५ लाखभन्दा बढी मूल्यको इटा गलेको बताइँएको छ । मौसम फेरवदल भईरहेकाले इँटा पहिला नै संरक्षित गरी राखेकाले धेरै क्षति हुन नभएको उद्योगी रामकुमार साहले बताइए ।
एउटा काँचो इँटा तयार पार्दासम्म ३ रुपैयाँ खर्च हुने गरेको नेपाल इँटाभट्टा महासंघका केन्द्रीय सदस्य विक्रम साहले जानकारी दिए । साहले भने, ‘माटो, पानी, लेवर समेत गर्दा एउटा काचो इँटा तयार पार्न ३ रुपैयाँ खर्च हुने गरेको छ, अहिले पानीले भिजाएर कामै नलाग्ने बनेपछि आफूहरु ठूलो मर्कामा परेका छौं ।’
उनले राज्यले व्यवसायीसँग करमात्र लिने गरेको गुनासो गर्दै हाम्रो उत्पादनको पनि संरक्षण गर्नुपर्ने माँग गरे । उनले हामीले लगानी गरेको यतिको रकम खेर गईरहेको छ, यसले कतिपय व्यवसायीहरुको व्यवसायनै चौपट हुने अवस्थामा पुगेको भन्दै इँटा व्यवसायीको पनि राज्यले सुरक्षामा राज्यको ध्यान जानुपर्ने बताए ।
पानीले इँटा बनाउने ठाउँ समेत डुबेकाले कामदारहरु पनि घरजान तम्तयार भएको साहले बताए । उनले भने, ‘जमेको पानी सुक्न साता दिनजति लाग्छ, यस्तो बेलामा मजदुरलाई राखेर मजदुरी पनि दिन नसकिने र मजदुर गएपछि फर्किने टुङ्गोसमेत नभएपछि व्यवसायीलाई झन् तनाव थपिएको छ ।’
मौसमले साथ दिँदा सिरहा लगाएत तराइका इँटा उद्योगले बैशाख मसान्तसम्म इँटा बनाउने गर्छ ।